
काठमाडौं । बलिङमा विलियम बोसिस्टो र ब्याटिङमा गुल्सन झा चम्किएपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको सहज जित निकालेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा पोखराले दिएको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
प्रतियोगितामा पाँचौँ खेल खेलेको कर्णालीको यो तेस्रो जित हो । कर्णाली प्रतियोगिताको पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो ।
कर्णालीले तेस्रो खेलमा भने चितवन राइनोजविरुद्ध ६ विकेटको र चौथो खेलमा विराटनगर किंग्सविरुद्ध सात रनको जित निकालेको थियो ।
कर्णालीको जितमा गुल्सन झा ४९ रनमा अविजित रहे । अर्धशतक बनाउन एक रनले चुकेका गुल्सनले ३७ बलमा तीन चौका र चार प्रहार गरे । गुल्सनसँगै अविजित रहेका विलियम बोसिस्टोले दुई रन थपे ।
१४–२ को कठिन स्थितीबाट गुल्सनले चान्डविक वाल्टनसँग ६० रनको साझेदारी गर्दै कर्णालीलाई जित नजिक पुर्याएका थिए ।
चान्डविक वाल्टनले ४२ रन बनाए । ३४ बलको सामना गरेका वाल्टनले ६ चौका र एक छक्का प्रहार गरे । वाल्टनलाई १२औँ ओभरको अन्तिम बलमा लुम्बिनीका कप्तान कुशल भुर्तेलले बोल्ड गरेका थिए ।
कर्णालीका ओपनरद्वय देव खनाल र बाबर हायात भने सस्तैमा पभेलियन फर्किए । हायातले टोलीको खातामा सात रन थप्दा देव ‘डक’ भएका थिए ।
पोखराका कप्तान कुशल भुर्तेल, विपीन खत्री र सागर ढकालले समान एक लिए ।
पहिलो इनिङ : विलियम बोसिस्टोका घातक बलिङ
त्यसअघि कर्णालीका विलियम बोसिस्टोले घातक बलिङ गरेपछि पोखरा १६.३ ओभरमा १०३ रनमै समेटिएको थियो ।
कर्णालीका बोसिस्टोले पोखराका ६ ब्याटरलाई पभेलियनको दिशा देखाए । बोसिस्टोले पोखराका कप्तान कुशल भुर्तेल, म्याट क्रिट्च्ली, दिलीप नाथ, माइकल लियस्क, नारायण जोशी र रेमन रेफरको विकेट लिए । चार ओभर बलिङ गरेका बोसिस्टोले २८ रन खर्चिए ।
यसबाहेक, कर्णालीका कप्तान सोमपाल कामी, विपीन शर्मा र युनिश ठकुरीले समान एक विकेट लिए ।
कर्णालीविरुद्ध पोखराका आन्द्रियस गौसले २५ रन बनाए । यसअघि लुम्बिनी लायन्सविरुद्ध १०४ रनको शतकीय इनिङ खेलेका गौसले १२ बलमा चार चौका र एक छक्का प्रहार गरे । रेमन रेफरले २६ बलमा २० रन थपे ।
कप्तान कुशल भुर्तेल र विपीन खत्रीले समान १० रन जोडे । यसबाहेक, पोखराका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।
जितसँगै पाँच खेलबाट ६ अंक जोडेको कर्णाली तालिकाको चौथो स्थानमा छ । चार खेलबाट दुई अंक जोडेको पोखरा भने तालिकाको छैटौँ स्थानमा खस्किएको छ ।
प्रतियोगितामा पोखराको भने यो तेस्रो हार हो । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग सात विकेटले पराजित भएको थियो ।
तेस्रो खेलमा भने पोखराले लुम्बिनी लायन्सविरुद्ध १० विकेटको कीर्तिमानी जित निकालेको थियो । प्रतियोगितामा पोखराको यो जित विकेटको आधारमा कुनै पनि टिमले निकालेको सबैभन्दा ठूलो जितसमेत हो ।