काठमाडौं । रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले पर्सामा विरोध प्रदर्शन गरेका छन् । सरकारी वकिल कार्यालय पर्सामा लामिछानेको बयान भइरहँदा उनका समर्थकले मंगलबार पर्साको वीरगन्जमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले राजनीतिक प्रतिशोधविरुद्ध प्रदर्शन गरिएको बताएका छन् । प्रदर्शनमा सहभागीहरूले 'रवि लामिछानेलाई न्याय दे, जनता झुक्याउन पाइँदैन, राजनीति प्रतिशोध बन्द गर'लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए ।
पर्साको सानोपाइला सहकारीको रकम अपचलनका विषयमा बयानका लागि लामिछानेलाई सोमबार नै पर्सा पुर्याइएको थियो ।
सानोपाइला सहकारीको रकम अपचलन आरोपमा लामिछानेसहित १४ जनाविरुद्ध मंसिर १९ गते पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।