site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लुम्बिनीको पहिलो जितमा कप्तान रोहितको अलराउन्डर प्रदर्शन 

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अलराउन्डर प्रदर्शनप्रेरित लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित निकालेको छ । लुम्बिनीले मंगलबारको पहिलो खेलमा चितवन राइनोजलाई ३३ रनले हराएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा ओर्लिएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो । १६८ रनको लक्ष्यसहित मैदानमा उत्रिएको चितवनले २० ओभरमा आठ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।

प्रतियोगितामा लुम्बिनीको यो पहिलो जित हो । लुम्बिनीले यसअघिका चारमध्ये चारै खेलमा हारको सामना गरेको थियो ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा लुम्बिनी विराटनगर किंग्ससँग दुई विकेटले हारेको थियो । दोस्रो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्ससँग १० विकेटको फराकिलो पराजय व्यहोरेको थियो । लुम्बिनी तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ र चौथो खेलमा जनकपुर बोल्ट्ससँग एक रनले हारेको थियो ।

चितवनका लुक बेन्केन्स्टाइनले सर्वाधिक ३१ रन बनाए । उनले २९ बलमा तीन चौका र एक छक्का प्रहार गरे । कप्तान कुशल मल्लले २० रन थपे । उनले १७ बलमा एक चौका र एक छक्का प्रहार गरे ।

नर सार्कीले र रिजन ढकालले अविजित क्रमशः २२ र १५ रन बनाए । रवि बोपाराले १२ र ओपनर सन्तोष कार्कीले १० रन जोडे ।

चितवनलाई सस्तैमा रोक्न लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले चार विकेट लिए । चार ओभर बलिङ गरेका रोहितले १७ रन मात्र खर्चिए । आफ्नो स्पेलमा रोहितले चितवनका विपीन रावल, सोहेल तान्विर, रवि बोपारा र जान निकोल लोफ्टी इटोनको विकेट लिएका हुन् ।

रेमोन सिमोन्ड्सका नाममा दुई विकेट रह्यो । सिमोन्ड्सले सन्तोष कार्की र अमरसिंह रौटेलाको विकेट लिएका थिए । साद बिन जफर र अभिषेक गौतमले समान एक विकेट लिए । जफरले चितवनका कप्तान कुशल मल्ल र अभिषेकले लुक बेन्केन्स्टाइनको विकेट लिएका हुन् ।

त्यसअघि, लुम्बिनीका कप्तान रोहितले ८० रन बनाएका थिए । उनले ५७ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । जारी प्रतियोगितामा रोहितको यो दोस्रो अर्धशतक हो । रोहितले यसअघि पोखरा एभेन्जर्सविरुद्ध पहिलो अर्धशतक प्रहार गरेका थिए ।

साद बिन जफरले ५२ रन थपे । उनले ३५ बलमा चार चौका र एक छक्का प्रहार गरे । ४९–४ को स्थितिबाट यी दुईले पाँचौँ विकेटका निम्ति ७१ बलमा ११४ शतकीय रनको साझेदारी गर्दै चितवनको इनिङ सम्हालेका थिए ।

लुम्बिनीले त्यसअघि ओपनर अर्जुन साउदलाई १५ र टम मुरेसलाई १० रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । अर्का ओपनर आशुतोष घिरैयाले एक रन थप्दा उन्मुक्त चन्द ‘डक’ भए ।

चितवनका रिजन ढकालले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले २९ रन खर्चिए । रिजनले लुम्बिनीका ओपनर आशुतोष, उन्मुक्त र रोहितको विकेट लिए ।

कप्तान कुशल मल्ल र रन्जीत कुमारले समान एक विकेट लिए । कुशलले टम मुरेस र रन्जीतले अर्जुन साउदको विकट लिएका हुन् ।

चितवनले यसअघि प्रतियोगिताको आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको जित निकालेको चितवन तेस्रो खेलमा भने कर्णाली याक्ससँग ६ विकेटले पराजित भएको थियो । चौथो खेलमा चितवनले प्रतियोगिताको उपाधि दाबेदारका रूपमा हेरिएको सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro