site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एक रनको जितपछि जनकपुरका आसिफ शेख भन्छन्– हाम्रो लक्ष्य उपाधि हो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टोली जनकपुर बोल्ट्सका विकेटकिपर ब्याटर आसिफ शेखले टिमको लक्ष्य उपाधि जित्ने भएको हुँदा यसैमा अघि बढिरहेको बताएका छन् ।

जनकपुरले आइतबार भएको खेलमा लुम्बिनी लायन्सविरुद्ध एक रनको रोमाञ्चक जित निकालेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले पहिले ब्याटिङ गर्दै १३६ रनको योगफल खडा गरेको थियो । १३७ रनको लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३५ रनमात्र बनाएपछि जनकपुरले एक रनको साँघुरो जित निकालेको हो ।

जितपछि पत्रकारसँगको कुराकानीमा आसिफले टिमको माहोल राम्रो भएको हुँदा नतिजा पनि राम्रो आइरहेको प्रतिक्रिया दिए ।

“टिमको माहोल राम्रो छ । माहोल राम्रो बन्यो, सबै आफैँ सबै कुरा राम्रो हुँदै जान्छ । सबैजना सकारात्मक रहौँ भन्ने योजना नै हाम्रो हो । एकजुट भएर खेलिरहेका छौँ,” आसिफले भने, “टी–२० मा सहज कहिल्यै पनि हुन सकिँदैन । हाम्रो लक्ष्य उपाधि जित्ने हो । एकपटकमा एक खेललाई हेरिरहेका छौँ । फरक खेलमा फरक खेलाडीले राम्रो खेलिरहेका छन् । यसले टिमलाई सहयोग गरिरहेको छ ।”

आसिफले प्रतियोगितामा व्यक्तिगत प्रदर्शनबाट भने आफू सन्तुष्ट बन्न नसकेको बताए ।

“आफूबाट जति आशा गरेको थिएँ, त्यति भएको छैन । राम्रो सुरुआत भएपछि म त्यसलाई ठूलो स्कोरसम्म लैजान सक्छु । तर, पछिल्ला तीन खेलमा त्यस्तो हुन सकेको छैन । मेरो अहिले यसैमा प्रयास जारी छ,” उनले थपे ।

प्रतियोगितामा लगातार चार जित निकालेको जनकपुर आठ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जनकपुर प्रतियोगितामा अहिलेसम्म अपराजित एकमात्र टिमसमेत हो ।

यता, चार खेलमध्ये सबैमा हार बेहोरेको लुम्बिनी भने तालिकाको पुछारमा छ । लगातार चौथो हारले लुम्बिनीको प्लेअफ सम्भावना कमजोर बनेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  २०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro