site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रवि लामिछानेको स्वास्थ्य जाँच गरी अदालतमा प्रतिलिपि पेस गर्न आदेश
फाइल तस्बिर ।

पोखरा । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्य जाँच गरी त्यसको रिपोर्ट पेस गर्न आदेश दिएको छ । सहकारी ठगी, किर्ते, संगठित अपराध, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

चितवनमा बयान सकाएर गएको बुधबार राति लामिछानेलाई पोखरा ल्याइएको थियो । त्यति बेला लामिछानेमा उच्च रक्तचाप रहेको तर चितवन प्रहरीले औषधि समेत खान नदिएको र अमानवीय कार्य गरेको भन्दै उनीनिकट व्यक्ति र रास्वपा नेता–कार्यकर्ताले विरोध जनाइरहेका छन् ।

चितवनबाट बिहीबार बिहान पोखरा ल्याइपुर्‍याएपछि लामिछानेको स्वास्थ्य जाँच गरिएको थियो ।

मानवअधिकार आयोग गण्डकीको टोलीले शनिबार (हिजो) लामिछानेलाई भेटेको थियो । त्यसक्रममा लामिछानेले चितवनमा आफ्नो स्वास्थ्य जाँच गराउन भने पनि प्रहरीले नमानेको बताएका जनाइएको छ । पोखरामा स्वास्थ्य जाँच गर्दा आफ्नो रक्तचाप १८०/९० देखिएको उनले बताएका टोलीको भनाइ छ । मानवअधिकार आयोगको टोलीले प्रहरीको यो कार्य अमानवीय रहेको जनाएको छ ।

अदालतले पनि लामिछानेको स्वास्थ्य जाँचका विषयमा बोलेको हो । आइतबार म्याद थपका निम्ति लामिछानेलाई अदालत लगिएको थियो । अदालतले अनुसन्धानका लागि फेरि चार दिन म्याद थपेको छ । सँगै अदालतका न्यायधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेको आवश्यक जाँच र उपचार गराउन आदेश दिएको छ । अदालतमा त्यसको प्रतिलिपि बुझाउन समेत आदेश दिइएको छ ।

“प्रतिवादीहरू रवि लामिछाने र छविलाल जोशीको उच्च रक्तचापको समस्या रहेको भन्ने देखिएको हुँदा चिकित्सकबाट जाँच तथा आवश्यक उपचार गराई उपचारसँग सम्बन्धित कागजातको प्रतिलिपि यस अदालतमा पेस गर्नू र अनुसन्धानका क्रममा हिरासतमा राख्नका लागि म्याद थप गरिएका व्यक्तिहरूको मानवअधिकारको उल्लंघन हुने कुनै कार्य नगर्नू/नगराउनू भनी जिल्ला प्रहरी कार्यालय कास्कीलाई लेखी पठाउनू,” आदेशमा भनिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro