site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हर्ष चम्किँदा रोमाञ्चक खेलमा लुम्बिनीविरुद्ध जनकपुर एक रनले विजयी

काठमाडौं । हर्ष थाकेरको उत्कृष्ट बलिङप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध एक रनको रोमाञ्चक जित निकालेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले प्रस्तुत गरेको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।

प्रतियोगितामा जनकपुरको यो लगातार चौथो जित हो । जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सविरुद्ध समान आठ विकेटको जित निकालेको थियो । जनकपुरले तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो ।

लुम्बिनीलाई अन्तिम ओभरमा जितका निम्ति नौ रन आवश्यक थियो । जनकपुरका कप्तान अनिल साहले अन्तिम ओभर बलिङको जिम्मेवारी थाकेरलाई सुम्पिए ।

Dabur Nepal
NIC Asia

थाकेरले पहिलो बलमै लुम्बिनीका साद बिन जफरलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराए । दोस्रो बलमा दुर्गेश गुप्ताले चौका प्रहार गरेपछि लुम्बिनीलाई जितका निम्ति चार बलमा पाँच रन आवश्यक थियो । तेस्रो बल थाकेरले डट फ्याँके । चौथो बलमा दुर्गेशले एक रन लिए । पाँचौँ बलमा सन्दीप जोराले दुई रन लिए ।

यसपछि लुम्बिनीलाई अन्तिम बलमा जितका निम्ति दुई रन आवश्यक थियो । अन्तिम बलमा जोराले लामो प्रहार गरे पनि किशोर महतोले क्याच गरेपछि जनकपुरले एक रनको रोमाञ्चक जित निकालेको हो । थाकेरले अन्तिम ओभरमा सात रन खर्चिएर दुई विकेट लिए ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ३५ रन बनाए । उनले ३८ बलमा तीन चौका प्रहार गरे । रोहितलाई १६औँ ओभरको चौथो बलमा थाकेरले जिम्मी निसमबाट क्याच गराएका थिए । रोहित पभेलियन फर्कंदा लुम्बिनीलाई २६ बलमा जितका निम्ति ३२ रन आवश्यक थियो ।

१८औँ ओभरमा थाकेरले दुई विकेट लिँदै पुनः जनकपुरलाई खेलमा फर्काए । उनले उक्त ओभरको पहिलो बलमा टम मुरेसलाई ललित राजवंशीबाट क्याच गराए । सोही ओभरको तेस्रो बलमा थाकेरले लुम्बिनीका विवेक यादवलाई जिम्मी निसमबाट क्याच गराए ।

लुम्बिनीको खातामा मुरेसले ३१ रन थपे । उनले २३ बलमा दुई चौका र एक छक्का प्रहार गरे । विवेक ‘डक’ भए ।

ओपनर अर्जुन साउदले २३ बलमा दुई चौकासहित २० रन जोडे । साउदलाई १०औँ ओभरमा शेर मल्लले बोल्ड गर्दै पभेलियन फर्काएका थिए । सन्दीप जोराले आठ बलमा एक चौका र एक छक्कासहित १६ रन बनाए । दुर्गेश गुप्ता पाँच रनमा अविजित रहे ।

लुम्बिनीविरुद्ध बलिङमा चम्किएका थाकेरले पाँच विकेट लिए । चार ओभर बलिङ गरेका उनले २३ रन खर्चिए । थाकेरले लुम्बिनीका कप्तान रोहितसहित टम मुरेस, विवेक यादव, साद बिन जफर र सन्दीप जोरालाई पभेलियन फर्काएका हुन् । यस्तै, शेर मल्ल, किशोर महतो र ललित राजवंशीले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३६ रन बनाएको थियो । जनकपुरका ओपनर अनिल साहले सर्वाधिक ४५ रन बनाए । यसक्रममा उनले ३९ बलमा एक चौका र चार छक्का प्रहार गरे । अनिलले पहिलो विकेटका निम्ति अर्का ओपनर आसिफ शेखसँग ५.३ ओभरमा ४८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । आसिफले १० बलमा दुई चौका र एक छक्कासहित १६ रन बनाए ।

४८–१ बाट अनिलले तेस्रो विकेटका निम्ति लहिरु मिलान्थासँग ४७ रनको साझेदारी गर्दै जनकपुरलाई ९५ रनको स्कोरसम्म पुर्‍याएका थिए । मिलान्थाले २३ बलमा दुई चौकासहित २४ रन थपे । अविजित रहेका शुभ कंसाकारले २४ बलमा दुई छक्कासहित २२ रन बनाए । जनकपुरका अरू ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

उत्कृष्ट सुरुआतका बाबजुद मध्यक्रमका ब्याटर सस्तैमा आउट हुँदा जनकपुर विशाल योगफलसम्म पुग्न सकेन । जनकपुरले ११.२ ओभरसम्म ९५ रन बनाउँदा एक विकेट मात्र गुमाएको थियो ।

सोही ओभरको तेस्रो बलमा कप्तान अनिललाई गुमाएपछि भने जनकपुरले लगातार अरू तीन विकेट गुमायो । लुम्बिनीका जोराले विवेक यादवबाट अनिललाई क्याच गराएका थिए ।

यसपछि १३औँ ओभर बलिङका निम्ति आएका अभिषेक गौतमले एकै ओभरमा तीन विकेट लिँदै जनकपुरको मध्यक्रम धराशायी बनाए । अभिषेकले १३औँ ओभरको दोस्रो बलमा लहिरु मिलान्थालाई अर्जुन साउदबाट स्टम्पिङ गरे । सोही ओभरको चौथो बलमा अभिषेकले हर्ष थाकेरलाई दुर्गेश गुप्ताबाट क्याच गराए । सोही ओभरको अन्तिम बलमा पनि अभिषेकले जिम्मी निसमलाई विकेटकिपर जिम्मी निसमबाट क्याच गराए ।

जनकपुरले १६औँ ओभरमा पुनः दुई विकेट गुमायो । लुम्बिनीका कप्तान रोहितले उक्त ओभरको दोस्रो ओभरमा मोहमद मोहसिन र चौथो बलमा शेर मल्ललाई एलबीडब्ल्यूको धरापमा पारे ।

जनकपुरलाई मध्यम योगफलमा रोक्न लुम्बिनीका अभिषेक गौतमले तीन विकेट लिए । चार ओभर बलिङ गरेका अभिषेकले २० रन खर्चिए । साद बिन जफर र कप्तान रोहितकुमार पौडेलले समान दुई विकेट लिए । सन्दीप जोराको नाममा एक विकेट रह्यो ।

लगातार चौथो जित निकालेको जनकपुर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आठ अंक जोडेको जनकपुरले प्रतियोगिताको प्ले अफ पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

प्रतियोगितामा लुम्बिनीको भने यो लगातार चौथो हार हो । यो हारसँगै प्ले अफमा पुग्ने लुम्बिनीको सम्भावना कमजोर बनेको छ । लुम्बिनी यसअघि विराटनगर किंग्ससँग दुई विकेटले, पोखरा एभेन्जर्ससँग १० विकेटले र सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro