काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले जिल्ला–जिल्ला घुमाउँदै बयान लिइरहेको छ । कानुनतः अनुसन्धान निम्ति प्राप्त ९० दिन पूरै प्रहरी हिरासतमै रहने सम्भावना छ ।
उनलाई पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा कात्तिक २ गते पक्राउ गरिएको थियो ।
त्यसपछि कास्की, रुपन्देही, काठमाडौं र चितवन घुमाउँदै उनीसँग बयान लिने क्रम निरन्तर छ । काठमाडौंमा बयान लिएपछि मंगलबार बिहान चितवन लगिएको थियो । चितवनको साहारा सहकारी ठगी प्रकरणमा प्रहरीले दुई दिन बयान लिइयो । त्यसपछि उनलाई बिहीबार रातारात पुनःपोखरा फर्काइएको छ ।
चितवनको साहारा सहकारीबाट रकम लिएको सम्बन्धमा लामिछानेको संलग्नता सम्बन्धमा अनुसन्धान गरेको प्रहरीले जनाएको छ । तर, चितवनको साहारा सहकारीको रकम अपचलनबारे प्रहरीले ७० भन्दा बढी प्रश्न सोधेको प्रहरी अधिकारीहरू बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रले साहारा सहकारीबाट लामिछानेको व्यक्तिगत ऋण भने लिएको नखुलेको बताए । एसपी मिश्रले भने, ‘‘साहारा सहकारीमार्फत पनि गोर्खा मिडिया नेटवर्कअन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा रकम गएको देखिन्छ । त्यहीबारे हामीले बयान लिएका हौँ ।”
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट भने लामिछाने एक्लैले र ग्यालेक्सी टेलिभिजनका सञ्चालन गितेन्द्रबाबु राई (जीबी) सँग संयुक्त रुपमा सवारी साधन ऋण लिएको भेटिएको थियो । उक्त ऋणमध्ये केही रकम चेकमार्फत फिर्ता गरेको कागजातबाट खुलेको छ । त्यस्तै पोखराको सूर्यदर्शन सहकारी र रुपन्देहीको सुप्रिम सहकारीमार्फत समेत रविको नामबाट रकम आएको खुलेको थियो ।
सूर्यदर्शन र सुप्रिमबाट ग्यालेक्सी टेलिभिजनबाहेक रविको नाममा करिब तीन करोड रुपैयाँ आएको देखिएको थियो । सुप्रिमबाट एक करोड ९६ लाख र सूर्यदर्शनबाट एक करोड रुपैयाँ आएको खुलेको हो । तर, रविले उक्त रकम आफूले सहकारीबाट नलिएको दाबी गर्दै आएका छन् ।
पक्राउ पर्नुअघि सुप्रिम र सुर्यदर्शनबाट रविको नाममा आएको रकम लिने रवि आफू नभएको सर्वजनिक रुपमै बताएका थिए । बिहीबार पोखरा फर्काइएका लामिछानेलाई फेरि अर्को जिल्ला पर्सा लैजाने तयारी प्रहरीको छ ।
पर्सा प्रहरीले बुधबार मात्रै रविसहितका आरोपीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । पर्सा प्रहरीको पत्राचारपछि कास्की प्रहरीले उनलाई पर्सा पठाउने छ । लामिछानेलाई थुनामा राखी अनुसन्धान गर्न कास्की अदालतले प्रहरीलाई पछिल्लो समय मंसिर ९ मा १५ दिनको म्याद दिएको थियो ।
त्यही म्यादमा लामिछानेलाई अघिल्लो साता काठमाडौं र मंगलबार चितवन पुर्याएर बयान लिएको हो । कार्तिक २ गते शुक्रबार पक्राउ परेका लामिछानेलाई कास्की प्रहरीले पहिलो पटक कात्तिक ४ मा ६ दिन, दोस्रो पटक कार्तिक ८ मा सात दिन, तेस्रो पटक तिहार बिदासमेत जोडेर कात्तिक २० मा १० दिन म्याद पाएको थियो ।
अब उनको म्याद २४ मंसिरमा सकिँदै छ । तर, कास्की प्रहरीले पुनः म्याद थप गराउँदै पर्सा पठाउने तयारी गरेको छ । अदालतले लामिछानेलाई थुनामा राखी अनुसन्धान गर्न प्रहरीेलाई पाँच पटक म्याद थप मिलिसकेको छ ।
आरोपितविरुद्धको अनुसन्धान न्यायाधीशलाई ‘मनासिब लागेमा’ म्याद थप गर्दै जान सक्ने कानुनी व्यवस्था छ ।
चौथोपटक कात्तिक २५ मा १३ दिन र मंसिर ९ मा पाँचौ पटक थप १५ दिन म्याद पाएको थियो । अझै उनलाई छैटौँ पटक म्याद थप गर्ने तयारी प्रहरीको छ । प्रहरीले रवि लामिछानेसहित हिरासतमै रहेका पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनालविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा अनुसन्धान गरिरहेको छ ।
प्रहरीलाई संगठित अपराधमा कसुरमा ६० दिन र सम्पत्ति शुद्धीकरण कसूरमा अधिकतम ९० लिन थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ ।
हाल संगठित अपराधको अनुसन्धान समय सीमा सकिएर सम्पत्ति शुद्धीकरण कसूरमा प्रहरीले अनुसन्धान गरिरहेको हो ।
प्रहरीले पूर्वडीआईजी जोशीलाई पक्राउ गरेको मितिबाट सम्पत्ति शुद्धीकरणको अनुसन्धानलाई आधार मानेको छ । जोशी गत असोज ६ गते पक्राउ परेका थिए । पुस ६ गतेभित्र रवि लामिछानेसहितका आरोपीविरुद्ध मुद्दा अदालतमा दर्ता गराइसक्नुपर्ने कानुनी व्यवस्था छ ।
अब रविसहितका आरोपीलाई प्रहरीले थप १५ थुनामा राखी अनुसन्धान गर्न सक्छ, अदालतबाट म्याद थपिएमा । त्यसपछि अदालतमा मुद्दा दायर गरिसक्नुपर्छ ।
अभियुक्तहरूविरुद्ध मुद्दा दायर भएपछि धरौटीमा छाड्ने या पुर्पक्ष निम्ति थुनामा पठाउने भन्ने अदालतको आदेशमा भर पर्नेछ ।
किन घुमाइँदै छ रविलाई पाँचवटा जिल्ला ?
ओखलढुंगाका गितेन्द्रबाबु राई (जीबी) ले संचालनमा ल्याएका पाँचवटा सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कअन्र्तगतको ग्यालेक्सी टेलिभिजनमा प्रयोग ६५ करोड रुपैयाँ अपचलन भएको खुलेको थियो ।
ग्यालेक्सी टीभीका अध्यक्ष जीबी राई थिए भने लामिछाने प्रबन्ध निर्देशक तथा सेयर सदस्य थिए । पूर्वडीआईजी जोशीसमेत ग्यालेक्सीका पूर्वसञ्चालक हुन् ।
संसदीय छानबिन समितिको रिपोर्टले पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, चितवनको साहारा, काठमाडौंका स्वर्णलक्षी र पर्साको सानो पाइला सहकारीबाट बचतकर्ताको रकम ग्यालेक्सी टेलिभिजनमा गएको खुलाएको हो ।
त्यही आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, ग्यालेक्सीमा पाँचवटै सहकारीको रकम गएको देखिएपछि उनीहरूलाई पाँचवटै सहकारी भएका जिल्लामा बयान लिन लगिएको हो ।
रास्वपाले भने सरकारले आफ्ना सभापतिमाथि राजतीतिक प्रतिशोध साध्दै सहकारीको रकम अपचलन, संगठित र सम्पत्ति शुद्धीकरण अपराधमा अनुसन्धान गरेको जिकिर गर्दै आएको छ । लामिछानेलाई बयान लिन जिल्ला–जिल्ला पुर्याइँदा गर्दा उसले कार्यकर्ताहरू बटुली प्रदर्शनसमेत गर्दै आएको छ ।
प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्की हरेक जिल्लाको आ–आफ्नै कानुनी क्षेत्राधिकार भएका कारण लामिछानेलाई जुन–जुन जिल्लामा सहकारी अपचलनको आरोप लागेको छ, त्यहीँ त्यहीँ लगिएको जानकारी दिए ।
“हरेक जिल्लामा वारदात भएको ठाउँमा त्यही जिल्लामार्फत मुद्दा पनि जाने हो । अब जुन जिल्लाबाट रविविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । त्यहाँको जिल्ला अदालतमा मुद्दा पनि दर्ता हुन्छ,” डीआईजी कार्कीले भने ।
तर लामिछानेका कानुन व्यवसायी सुशील पन्तले भने रातारात दुःख दिने नियतका साथ रविलाई चितवनबाट पोखरा लगिएको भन्दै यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्न रास्वपालाई सुझाव दिएका छन् ।
उनले बाह्रखरीसँगको कुराकानीमा भने, “राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकार निकायसम्म जान सकिन्छ भन्ने सल्लाह दिएको हुँ । यो अभिलेखमा रहने कुरा हो,” उनले भने, “हामी लोकतन्त्रमा विश्वास गर्छौँ । यो विषय राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकार निकायसम्म जानकारी गराउनुस् भनेर सुझावमात्रै दिएको हुँ । गर्ने कि नगर्ने भन्ने उहाँको पार्टीको कुरा हो ।”