काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटीविरुद्ध २–० को जित निकाल्दै लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा नौ अंकको अग्रता बनाएको छ ।
आइतबार राति घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन कोडी गाक्पो र मोहमद सालाहले गोल गरे ।
खेलको १२औँ मिनेटमा गाक्पोले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । ७८औँ मिनेटमा सालाहले प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । जितसँगै लिग लिडर लिभरपुलले १३ खेलबाट ३४ अंक जोडेको छ, जुन दोस्रो स्थानमा आसीन आर्सनलको भन्दा नौ अंक धेरै हो । समान खेल खेलेको आर्सनलले २५ अंक जोडेको छ ।
यता, जारी वर्ष लगातार सात खेलमा जितविहीन बनेको सिटी भने तालिकाको पाँचौ स्थानमा झरेको छ । सिटीले १३ खेलबाट २३ अंक जोडेको छ । सबैखाले प्रतियोगताका पछिल्लो सात खेलमध्ये पेप ग्वार्डिओलाको टोली ६ खेलमा हार र एक खेलमा बराबरीको नतिजा निकालेको छ ।