site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनपीएलका आयोजकप्रति दर्शक रुष्ट

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलले नेपाली दर्शकमा रहेको क्रिकेट मोह फेरि एकपटक उजागर गरेको छ । साथै, दर्शकको सहज प्रवेशका निम्ति थप मिहिनेत गर्नुपर्ने पाठ आयोजकलाई पढाएको छ ।

दर्शकको प्रवेश व्यवस्थित हुन नसक्दा मैदानबाहिर भीडभाड मात्र होइन, नाराबाजी, ढुंगामुढा र लाठीचार्ज समेत भयो । केही दर्शक घाइते भए । घाइते हुनेमा सुशील अकुलिया, अजय तामाङ, शिशिर गौतम, शंकर आचार्य, दानबहादुर राउत, केशव मेगी र प्रेम खड्गी रहेका छन् । घाइतेलाई प्रहरीले तत्काल अस्पताल पुर्‍याएको थियो ।

क्रिकेटप्रेमी दर्शक आयोजकप्रति रुष्ट भएका छन् । उनीहरूले व्यवस्थापनको पाटो अत्यन्त फितलो देखिएको र अनाहकमा दर्शकलाई दुःख दिएको भन्दै आयोजकप्रति रोष प्रकट गरेका हुन् ।

मैदानको दक्षिणतर्फ रहेको मुख्य प्रवेशद्वारमा टिकट र पास लिएका दर्शकले समेत प्रवेश गर्न निकै संघर्ष गर्नुपर्‍यो । दर्शकहरू एक लाइन नहुँदा सुरक्षाकर्मीले प्रवेश दिएनन् र झन्डै झडप हुने अवस्था सिर्जना भएको थियो ।

त्यहाँ अत्यधिक भीड भएपछि दक्षिणपूर्वी प्रवेशद्वारमा पुगेका दर्शकले त्यहाँ पनि प्रवेश नपाएपछि टिकटको पैसा फिर्ता माग्दै नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले हल्का लाठीचार्ज गरेको थियो भने दर्शकले ढुंगामुढा गरेका थिए ।

यसबारे सोध्दा नेपाल क्रिकेट एसोसिएसन (क्यान)का प्रवक्ता छुम्बी लामाले प्रवेशलाई व्यवस्थित गराइएको भए पनि मूल प्रवेशद्वारबाट एकैपटक दर्शक पस्न खोज्दा समस्या सिर्जना भएको बताए । यस्तै, रंगशाला परिसरबाहिरबाट खेल हेर्न खोज्ने दर्शकका कारण केही ठाउँमा समस्या भएको उनको भनाइ छ ।

“भीडभाडका कारण कतिपय टिकट लिएका दर्शकले पनि प्रवेश नपाउनुभएको गुनासो आएको छ, हामीले यसबारे अनलाइन भुक्तानी प्रणाली (खल्ती)सँग कुरा गरेका छौँ । त्यस्ता दर्शकको टिकट स्क्यान गरेर प्रवेश भए/नभएको यकिन गर्ने, प्रवेश गर्न नपाएको देखि फिर्ता गर्ने वा अर्को दिनको टिकट उपलब्ध गराउने भन्नेबारे निर्णय गर्नेछौँ,” उनले भने । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  २०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro