काठमाडौं । बीवाईडीले नेपालमा एट्टो–३, २०२४ संस्करणका लागि विशेष मिडिया टेस्ट ड्राइभ आयोजना गरेको छ । 'बीवाईडी ड्राइभ टू डिस्कभर' नाम दिइएको कार्यक्रममार्फत कम्पनीले मिडिया प्रतिनिधिहरूलाई नेपालका विभिन्न भूभागमा ड्राइभ गर्दै नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभीको क्षमता अनुभव गराएको हो ।
बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्कले गत शुक्रबार मिडिया टेस्ट ड्राइभको आयोजना गरेको हो । काठमाडौंको नक्सालस्थित बीवाईडी सोरुममा आयोजना गरिएको यस कार्यक्रममा मिडिया प्रतिनिधि र अटोमोबाइलप्रेमीहरूको सहभागिता थियो ।
सहभागीहरूले बीवाईडी एट्टो–३, २०२४ को पर्फर्मेन्स, आरामदायी यात्रा र नयाँ प्रविधिलाई प्रत्यक्ष अनुभव गरेको कम्पनीले बताएको छ ।
कार्यक्रममा अटोमोबाइल मिडियाका प्रतिष्ठित व्यक्तित्वहरूले काठमाडौंका व्यस्त सडकदेखि शिवपुरी भिलेज रिसोर्टको सुन्दर तथा शान्त ठाउँसम्मको यात्रा गरेका थिए ।
बीवाईडी ड्राइभ टू डिस्कभरको रुट, गाडीको बहुउपयोगी क्षमताहरू देखाउन तय गरिएको थियो । रुटमा सहरका सडक, उकालो, र अफ–रोड बाटाहरू समावेश थिए । बीवाईडी सोरुमबाट सुरु भएको यात्रा भाटभटेनी, गैरीधारा, उत्तरढोका, लाजिम्पाट, महाराजगन्ज, हात्तीगौँडा, टोखा रोड, र शिवपुरी हाइवे हुँदै सुन्दर शिवपुरी संरक्षण क्षेत्रबाट शिवपुरी भिलेज रिसोर्टसम्म पुगेको थियो ।
सहरको बाटो, उकालो, र दुर्गम भूभागको मिश्रणले मिडिया प्रतिनिधिलाई बीवाईडी एट्टो–३ को अत्याधुनिक ड्राइभिङ फिचरहरू र मजबुत निर्माणको परीक्षण गर्न मौका दिएको कम्पनीको भनाइ छ ।
बीवाईडी एट्टो–३ को मुख्य विशेषता दिगो र नयाँ प्रविधिमा आधारित इन्जिनियरिङ भएको कम्पनीको भनाइ छ । यस एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री प्रविधि तथा आधुनिक र आकर्षक देखिने ड्रागन फेस ३.० बाहिरी डिजाइन छ ।
गाडीभित्र ड्राइभर र यात्रुको अनुभवलाई अझ राम्रो बनाउन आरामदायी र स्टाइलिस इन्टेरियर प्रदान गरिएको कम्पनीको भनाइ छ । यस मोडेलले नेपालको ईभी प्रविधिमा नयाँ मानक भई देशको विभिन्न सडक अवस्था र साहसिक भावना पूरा गर्न सक्षम भएको साइमेक्स इन्कको दाबी छ ।
बीवाईडी एट्टो–३, २०२४ ले बीवाईडीको नवीनताप्रतिको प्रतिबद्धता मात्र नभएर नेपालका ग्राहकहरूका लागि ईभी अनुभव सुधार गर्ने प्रतिबद्धता झल्काएको साइमेक्स इन्कका नेसनल सेल्स हेड अशुतोष गौतमको भनाइ छ ।
“बीवाईडी एट्टो–३ को उत्कृष्ट सुरक्षा, प्रदर्शन र वातावरणमैत्री दक्षताले यसलाई ईभी बजारको अगुवा र हरित नेपालको हाम्रो दृष्टिको महत्त्वपूर्ण हिस्सा बनाएको छ,” उनले भने ।
साइमेक्स इन्कले हाल देशभर ४३ भन्दा बढी फास्ट चार्जिङ नेटवर्क स्थापना गरेको छ । चाँडै नै देशभर १०० भन्दा बढी चार्जिङ स्टेसन पुर्याउने कम्पनीको भनाइ छ ।