काठमाडौं । नेपाल राष्टबैंकको एक अध्ययनले साइबर ठगीमा सामाजिक सञ्जाल र बैंक तथा वित्तीय संस्थाको गलत प्रयोग भएको देखाएको छ । गिफ्ट तथा पार्सलको लोभ देखाएर र अर्काे व्यक्ति बनेर बढीजसो साइबर ठगी हुने गरेको राष्ट्रबैंकको अध्ययन देखाएको छ ।
आइतबार सार्वजनिक रणनीतिक विश्लेषण प्रतिवेदन, २०२४ ले यस्तो काममा संलग्न धेरैजसो विद्यार्थी भएको देखिएको छ । यसै वर्ष सन् २०२४ को पहिलो पाँच महिनाको साइबर ठगीको तथ्यांकको अध्ययन गर्दा यस्तो देखिएको राष्ट्रबैंकले जनाएको छ । विभिन्न बैंकमा खुलेका शंकास्पद खातामा तीन महिनाभित्र शंकास्पद कारोबार भएको देखिएको छ ।
ठगी गरेको रकम देशका विभिन्न ठाउँ वा भारतबाट बैंककोएटीएमबाट निकालिने गरेको पाइएको छ । यस्तै, सो रकम वालेटमा पठाएर पनि निकालिने गरेको पाइएको छ ।
ठगहरूले विभिन्न बैंक तथा वालेटमा एउटै कागजातले खाता खोलेको र केवाईसीका आधारमा कारोबार गर्न नसक्ने देखिए पनि दिनमा कयौँपटक कारोबार गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । एक रुपैयाँसम्म ठगीका घटना आएको र सो रकम सामान्य नम्बरबाट खोलिएका वालेटमा जम्मा भएको देखिएको छ ।
राष्ट्र बैंकको रिपोर्टको विश्लेषणले वित्तीय संस्थाको ग्राहक विवरण, पहिचान र निगरानीको कमजोरीका कारण ठगी सहज बनेको देखाएको छ ।
यसलाई रोक्न एवं न्यूनीकरणका लागि बैंक तथा वित्तीय संस्थाले ग्राहक जोड्दा केवाईसीमा बायोमेट्रिक फिचर थप्नुपर्ने र मोबाइल, इन्टरनेट वा वालेटको अकाउन्टमा पहुँच पुर्याउँदा प्रयोग गरिएको नम्बर उसकै नाममा दर्ता भए/नभएको पुष्टि गर्नुपर्ने सुझाव राष्ट्र बैंकको छ । कारोबारको सीमा, अवधि एवं मल्टिफेक्टर प्रमाणीकरण लागु गर्नुपर्ने राष्ट्र बैंकको सुझाव छ ।
राष्टबैंकको आर्थिक अनुसन्धान विभागले ठगी सम्बन्धी शंकास्पद कारोबार तथा रिपोर्ट बढ्दै गएको बताएको छ । सन् २०२३ मा यस्ता ६ हजार ८२० रिपोर्ट भएकामा सन् २०२४ को मेसम्म तीन हजार ८९१ अनलाइन ठगीका शंकास्पद घटना दर्ता भएको राष्टबैंककोतथ्यांक छ ।
सबैभन्दा धेरै यस्ता ठगी सम्बन्धी घटना वाणिज्य बैंकबाट एकहजार २६२ बाट आएको बताइएको छ । यस्तै, विकास बैंकबाट २१७, रेमिट्यान्स कम्पनीबाट ४७, पेमेन्ट सेवा प्रदायबाट १७, वित्त कम्पनीबाट १७ र अन्यबाट ९ घटना आएका छन् ।
धेरै साइबर ठगीमा युवा र विद्यार्थी
सन् २०२४ को पाँच महिनामा ६४ प्रतिशत साइबरबाट भएका ठगी र ३६ प्रतिशत अन्य ठगीका घटना आएको राष्ट्र बैंकले जनाएको छ ।
यस्ता ठगीमा संलग्न हुनेमा झन्डै आधा अर्थात् ४९ प्रतिशत १९ देखि २४ वर्ष उमेर समूहका व्यक्ति छन् । २५ देखि ३० वर्षका २१ प्रतिशत, ३१ देखि ३६ वर्षका १६ र ३६ वर्षमाथिका १४ प्रतिशत शंकास्पद साइबर ठगीमा छन् । साइबर ठगीमा संलग्नमध्ये १९ देखि ३० वर्ष उमेर समूहका ७० प्रतिशत छन् ।
ठगीमा संलग्न १३८ वटा केवाईसीका आधारमा हेर्दा सबैभन्दा धेरै विद्यार्थी देखिएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये ४४ विद्यार्थी, २७ पेसाकर्मी, १६ किसान, १६ ससाना व्यवसायका मालिकलगायत छन् ।
ठगीमा जोडिएकामध्ये ४९ प्रतिशत खाता ९० दिनभित्र खुलेको देखिएको छ । यस्तै, एक वर्ष पुराना २३ प्रतिशत र बाँकी अन्य समयावधिका खाता छन् ।
यस्तो ठगी क्रमशः वाग्मती, मधेस, कोसी, लुम्बिनी र गण्डकीमा धेरै छ ।
गिफ्टको लोभ
२१ प्रतिशत ठगी गर्न गिफ्ट तथा पार्सलको लोभ देखाएर भएको राष्ट्र बैंककोतथ्यांक छ । यस्तै, सामाजिक सञ्जालमा अर्काे व्यक्ति बनेर वा अर्काको आईडीमा पहुँच पुर्याएर १५ प्रतिशत ठगी भएको छ । चिठ्ठा भनेर ७ प्रतिशत, वालेटमा पहुँच पुर्याएर ७ प्रतिशत, ओटीपी मागेर ९ प्रतिशत र अन्य तरिकाले १३ प्रतिशत ठगीका घटना भएका छन् ।