काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पछिल्लो समय आफुविरुद्ध अनर्गल प्रचार भएको बताउँदै आफूमाथि छानबिनको माग गरेका छन् ।
उनले राज्यका निकायलाई आफूले छानबिनमा सहयोग पुर्याउने उल्लेख गर्दै अनर्गल प्रचार बन्द गर्न अनुरोध गरेका छन् ।
एक विज्ञप्ति जारी गर्दै उनले मंगलबार भनेका छन्, “म कृष्णप्रसाद भट्टाराईजस्ता सदाचारी नेताको अनुयायी हुँ । म निष्ठापूर्वक कहीँ कतै नचुकिकन भ्रष्टाचारविरुद्द इमान्दारीपूर्वक निरन्तर लड्दै आएको हुँ । जुन विकृतिका विरुद्ध मैले मेरो राजनीतिक जीवनभर लड्दै आएको छु त्यही विषय मेरो टाउकोमा थोपरेर मेरो राजनीतिक जीवन समाप्त पार्न खोजिएको हो कि भन्ने आशंका मैले गरेको छु । मैले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यका निकायले जहिले पनि छानबिन गर्न सक्नेछन् । म नेपाल सरकारको कुनै पनि अनुसन्धान गर्ने निकायलाई अनुसन्धानमा सहयोग गर्न तयार छु ।”
उनले आफू सादगी जीवन बिताउने, निष्ठाको राजनीति र सुशासनको पक्षमा जीवनभर लडिरहेको उल्लेख गर्दै सार्वजनिक कार्यक्रम र मिडियाहरुमा ठग हो, दोषी हो भनी कपोलकल्पित प्रचार गर्नु निन्दनीय भएको बताएका छन् ।
उनले पूर्व श्रीमतीले गरेको गल्तीको सजाय आफूले भोग्न नमिल्ने बताउँदै ज्योती गुरुङ जहाँ भए पनि ल्याएर छानिबनको दायरामा ल्याउनु राज्यको काम भएको बताएका छन् ।
“भ्रष्टाचार, कुशासन र बेथितिका विरुद्ध शरीरमा एक थोपा रगत रहेसम्म म सधैँ लडिरहने छु,” उनले विज्ञप्तिमा भनेका छन्, “मेरो पूर्व श्रीमती ज्योति गुरुङ जहाँ भए पनि झिकाइ अनुसन्धान गरियोस् र सहकारीको अपचलन गरेको पैसा पीडितलाई फिर्ता गरियोस् ।”
यस्तो छ उनले जारी गरेको वक्तव्य