काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राजनीतिमा सक्रिय हुने आकांक्षा व्यक्त गरेका छन् । उनले नेकपा (माओवादी केन्द्र)मा जिम्मेवारी दिन माग पनि गरेका छन् ।
पुन माओवादीको सोमबार बसेको पदाधिकारी बैठकमा केहीबेर सहभागी थिए । पूर्वउपराष्ट्रपतिको रूपमा आफूले सेवा सुविधा नलिएको भन्दै जिम्मेवारी दिन आग्रह गरेका छन् ।
“उहाँले सक्रिय भएर काम गर्ने इच्छा राख्नुभएको छ । पार्टीले कुन जिम्मेवारी दिने भन्ने निर्णय गरिसकेको छैन,” उपमहासचिव हरिबोल गजुरेलले भने ।
उनी २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । उपराष्ट्रपति चयन भएपछि माओवादीको जिम्मेवारीबाट अलग भएका थिए । उनी ०७९ चैतमा बिदा भएका थिए । पुन अहिले माओवादीको सक्रिय राजनीतिमा फर्कने तयारी गरेका हुन् ।