काठमाडौं । कुनै समय थियो, झोलामा चिठी बोकेर हुलाकीहरु गाउँगाउँ पुग्थे । विभिन्न कारणले घर छोडेर हिँडेका आफन्तको हालखबर बुझ्न घरमा बसेकाहरु हुलाकीको बाटो हेर्थे । तर, अब यो कुरा किंवदन्तीजस्तो भइसक्यो । हुलाकीले गाउँमा चिठीको पोको बोकेर आएको दृश्य अब नयाँ पुस्ताले देख्न नपाउने अवस्था आइसक्यो ।
लामो सयमसम्म खबर आदान–प्रदानको गतिलो माध्यम बनेको चिठीलाई अब प्रविधिले लगभग विस्थापित नै गरिसकेको छ । हुलाक घरहरु पनि खण्डहर बन्ने अवस्था आएको छ । टेलिफोन, मोबाइल, ई–मेल, भाइबर, म्यासेन्जर आदिले खबर आदानप्रदानलाई दु्रत बनाएको छ । देशभरका हुलाक र पत्र मञ्जुषा आंशिक रुपमा मात्र चलिरहेका छन् ।
गोश्वारा हुलाक कार्यालय सुन्धाराका निमित्त प्रमुख वेदप्रसाद भण्डारी भन्छन्, “व्यक्तिगत चिठी पठाउने काम एकदमै घटेको छ । हुलाक कार्यालयको काम अहिले सरकारी चिठीपत्र बोक्ने काममा सीमित भएको छ ।” सेवा प्रवाह चुस्तदुरुस्त हुन नसक्नु, पर्याप्त प्रचारप्रसार हुन नसक्नु र पुरानै ढंगको काम गराइका कारण हुलाक सेवाको प्रभाव घट्दै गएको उनी स्वीकार्छन् ।
भण्डारीका अनुसार अहिले हुलाकको सेवा गर्ने तौरतरिकामा थोरै परिवर्तन भने भएको छ । “चिठीपत्रको भोल्युम घटे पनि पोष्टकार्ड लेटर र गिफ्टको रुपमा पठाउने वा पाउने काम भने हुन्छ,” उनले भने । पछिल्लो समय एक्सप्रेस मेल सर्भिस (ईएमएस) अर्थात् दु्रत हुलाक सेवा सञ्चालनमा आएको छ । यसलाई सरकारले व्यावसायिक सेवा भनेको छ ।
“अहिले हामीले ३९ वटा देशमा यो सेवा उपलब्ध गराएका छौं । यसअन्तर्गत डकुमेन्ट तथा सामान हुलाक कार्यालयले छिटो, भरपर्दो र सस्तो दरमा आदानप्रदान गर्छ,” भण्डारीले भने । ईएमएसमा प्रतिप्याकेट आन्तरिक १० किलो र वैदेशिक २० किलोसम्म सामान पठाउन सकिने सुविधा छ । हुलाकको कुल आम्दानीको करिब एक चौथाई ईएमएसले ने ओगटेको छ । यसले वार्षिक चार करोड रुपैयाँ राजस्वमा योगदान पुर्याउँछ ।
हुलाकले चिठीपत्र र सामानमात्र आदानप्रदान गर्दैन, बचत बैंक पनि सञ्चालन गरिएको छ । लोकसेवा आयोगको राजश्व पनि हुलाकबाट बुझाउन सकिने व्यवस्था छ । हुलाक कार्यालयले संघसंस्थाको सामानसमेत डेलिभरी गर्ने गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका पाठ्य सामग्री, यातायात व्यवस्था विभागको लाइसेन्स आदि हुलाकमार्फत देशभर पठाउने गरिन्छ ।
गोश्वारा हुलाकका निमित्त प्रमुख भण्डारी भन्छन्, “पछिल्लो समय परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर राहदानी ठाउँ–ठाउँमा पुर्याइदिने गरिरहेका छौं । हुलाक सेवालाई कसरी समयाननुकूल परिवर्तन गरेर दिगो बनाउन सकिन्छ भनेर छलफल भइरहेको छ । हुलाक सेवालाई प्राधिकरण बनाएर लैजाने कि भन्ने अवधारणाबारे पनि छलफल गरिरहेका छौं । अमेरिकाजस्तो देशमा त हुलाक चलिरहेको छ भने नेपालमा हुलाक बन्द गर्नुपर्छ भन्ने धारणा गलत हो । हुलाक सेवामा विविधिकरण गरियो भने यसलाई दिगो बनाउन सकिन्छ ।”
अझै ३५ भन्दा बढी प्रकारका टिकट प्रकाशन
हुलाकले मूल्यको आधारमा १ रुपैयाँदेखि ५ सयसम्मको टिकट वार्षिक प्रकाशन गर्ने गरेको छ । हुलाकले एक वर्षमा ३५ वटा विभिन्न प्रकारका टिकट प्रकाशन गर्छ । विभिन्न व्यक्तित्व, प्रकृति, विश्वसम्पदामा सूचीकृत सम्पदाहरू, कलासंस्कृति, समाजमा अद्विितिय छाप छोडेका देशी र विदेशी व्यक्तित्वहरूका फोटो टिकटमा छापिन्छ । अन्तर्राष्ट्रिय टेण्डर गरेर हुलाकले टिकट छाप्ने गरेको छ ।
सेवाग्राहीले कार्यालय प्रयोजनका लागि अहिले पनि टिकट किन्नुपर्छ । प्रकाशित टिकटको ठूलो संख्या सरकारी कामकाजमा नै प्रयोग हुने गरेको छ ।
विश्वका १ सय ९२ वटा देश अहिले विश्व हुलाक संघका सदस्य छन् । त्यसमा नेपाल पनि एक हो । निमित्त प्रमुख भण्डारीका अनुसार विश्व हुलाक संघका सदस्यमध्ये करिब ८० प्रतिशत देशमा नेपालका हुलाक टिकटको सञ्जाल छ ।