काठमाडौं । भारतको मणिपुरको जिरिबाम जिल्लामा सोमबार भएको भिडन्तमा सुरक्षाकर्मीले ११ कुकी विद्रोहीलाई मारेका छन् । घटना सोमबार दिउँसो साढे २ बजे बोरोबेकेराको जाकुराडोर करोङ क्षेत्रमा भएको हो ।
प्रहरी चौकी र केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) चौकीमा आक्रमण गरेपछि जवाफी कारबाहीका क्रममा उनीहरू मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस क्रममा दुई सीआरपीएफ जवान पनि घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ । यो क्षेत्र आसामको सीमासँग जोडिएको छ ।
मणिपुर हिंसाबाट विस्थापित भएकाहरूका लागि प्रहरी चौकी नजिकै एउटा राहत शिविर छ । उनीहरू कुकी विद्रोहीको निशानामा छन् । शिविरमा यसअघि पनि आक्रमण भएको थियो ।
तनाव बढेपछि यस क्षेत्रमा सुरक्षा बढाइएको छ । यस्तै, अर्को आदेश नभएसम्म कर्फ्यू लगाइएको छ ।
अधिकारीहरूका अनुसार कुकी विद्रोहीहरूले सैनिकजस्तै पोसाक लगाएका थिए । उनीहरूसँग आधुनिक हतियार र गोलाबारुद रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमबाट ।