काठमाडौं । फ्लोरा एक्स्पो–२०८१ मा ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा ‘तिहारको महोत्सव फूलको उत्सव’ नारासहित काठमाडौंको भृकुटीमण्डपमा पाँच दिनसम्म चलेको एक्स्पोमा ४० हजार बढीले अवलोकन गरेको एक्स्पोकी संयोजक तथा संघकी उपाध्यक्ष लक्ष्मी महर्जनले जानकारी दिइन् ।
फूल तथा नर्सरी र नर्सरीजन्य उत्पादनको परनिर्भरतालाई कम गरी स्वदेशी उत्पादन प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको तिहारलक्षित एक्स्पो सफल भएको संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए ।
“व्यवसायी र उपभोक्ताको दूरी घटाउने र नर्सरी व्यवसायीले उत्पादन गरेका कृषि तथा वन जडीबुटी, नर्सरी, फलफूल औजार उपकरण सबै एकैथलोमा भएकाले अवलोकनकर्ताको उत्साहजनक सहभागिता रह्यो,” उनले भने ।
एक्सपोमा विभिन्न प्रजातिका फुल्ने तथा नफुल्ने आलंकारिक फूल, बिरुवालगायत कृषि तथा वन जडीबुटी, औजार उपकरण, मल सबै गरी ६५ वटा व्यावसायिक स्टल राखिएका थिए ।