काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)का लागि अलराउन्डर लुक मार्टिन बेनकेन्स्टाइनलाई भित्र्याएको छ । चितवन राइनोजले दोस्रो विदेशी खेलाडीका रूपमा १९ वर्षीय अलराउन्डर मार्टिनलाई अनुबन्धन गरेको हो ।
मार्टिनले यसै वर्ष जनवरीमा दक्षिण अफ्रिकामा भएको यू–१९ विश्व कपमा इंग्ल्यान्डको उपकप्तानको जिम्मेवारी सम्हालेका थिए । मार्टिनले ट्वान्टी–२० मा ११ खेल खेल्दा १३६ रन बनाएका छन् । उनको नाममा चार विकेटसमेत छ ।
अनुबन्धपछि मार्टिनले चितवन राइनोजबाट एनपीएल खेल्न आफू आतुर रहेको बताएका छन् । चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानले मार्टिनको आगमनले चितवनमा ऊर्जा थपिएको बताएका छन् ।
चितवनले यसअघि पहिलो विदेशी खेलाडीका रूपमा दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मर्चेन्ट डी ल्याङलाई अनुबन्ध गरेको थियो ।
चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन् । मुख्य प्रशिक्षकको जिम्मेवारी भने उमेश पटवाललाई दिइएको छ ।
नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा हुन लागेको पहिलो संस्करणको एनपीएल १५ मंसिरदेखि ६ पुससम्म हुँदै छ ।