
काठमाडौं । फरवार्ड देकी ल्हाजोमको पाँच गोलप्रेरित भुटानले साफ महिला च्याम्पियनिसप–२०२४ मा माल्दिभ्सविरुद्ध १३–० को जित निकालेको छ । जुन जारी सिजनकै फराकिलो जित हो ।
जितसँगै सात अंक जोडेको भुटानले समूह ‘बी’मा समूह विजेता बन्ने सम्भावना बलियो बनाएको छ । यही समूहको दोस्रो स्थानमा रहेको नेपालले दुई खेलबाट चार अंक जोडेको छ । नेपाललाई समूह विजेता बन्न आज कम्तीमा पाँच गोलको अन्तरमा जित आवश्यक छ ।
भुटानसँगको हारसँगै माल्दिभ्स भने जितविहीन प्रतियोगिताबाट बाहिरिएको छ । माल्दिभ्सले सन् २०१९ को संस्करणयता साफमा गोल गर्न सकेको छैन । माल्दिभ्स यसअघि पहिलो खेलमा श्रीलंकासँग १–० ले र दोस्रो खेलमा नेपालसँग ११–० ले पराजित भएको थियो ।
सेमिफाइनलमा स्थान पक्का गरेको भुटानले अब भारत वा बंगलादेशमध्ये एक टिमसँग खेल्ने छ । नेपाल र श्रीलंकाबीचको खेलपछि प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा हुने छ ।
नेपालले आजै दशरथ रंगशालामा श्रीलंकाविरुद्ध खेल्दै छ । समूह चरणको अन्तिम खेलको रूपमा रहेको प्रतिस्पर्धा अपराह्न ५ः३० बजेदेखि सुरु हुने छ ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी