
काठमाडौं । भारतले पाकिस्तान नियन्त्रित कश्मीरलगायत पाकिस्तानका विभिन्न क्षेत्रमा सैन्य हमला गरे लगत्तै देशका विभिन्न राज्यहरूमा नागरिकका लागि सुरक्षा अभ्यास सुरु गरिरहेको बीबीसीले जनाएको छ ।
भारतको केन्द्रीय गृह मन्त्रालयले यो हप्ताको सुरुमा देशभरिका २४४ जिल्लाहरूमा नागरिक सुरक्षा प्रणालीको आंकलन र सुधार गर्ने उद्देश्यले यस्तो अभ्यास गर्ने आदेश जारी गरेको थियो ।
मन्त्रालयले यसको उद्देश्य भारतको हवाइ हमला चेतावनी प्रणाली, नियन्त्रण कक्ष, निकासी योजना, अचानक ब्ल्याक आउटलगायतका सम्भावित आपत्कालीन अवस्थामा नागरिक सुरक्षा सेवाहरूको प्रभावकारिता परीक्षण गर्नु रहेको बताएको छ ।
सो आदेशमा बताइएअनुसार यो अभ्यासले नागरिक र विद्यार्थीहरूलाई शत्रुतापूर्ण आक्रमणको अवस्थामा आफूलाई बचाउन सहयोग गर्ने लक्ष्य राखेको छ । तर सो आदेशमा पाकिस्तान वा गत महिना भारत नियन्त्रित कश्मीरमा भएको आतंककारी हमलाको उल्लेख गरिएको छैन ।
मंगलवार समाचार संस्था एएनआईले सार्वजानिक गरेको भिडियोमा विभिन्न राज्यहरूमा स्वयंसेवक र अधिकारीहरूले रिहर्सल गर्दै गरेको देखाएको थियो ।