
ललितपुर । वाग्मती गाउँपालिका उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । ललितपुरको च्यासल मैदानमा बुधबार महालक्ष्मी नगरपालिकासँग ५–१ गोल अन्तरले पराजित हुँदै वाग्मती गाउँपालिका प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ ।
वाग्मती प्रतियोगिताबाट बाहिरिए पनि पहिलो जितका साथ महालक्ष्मी नगरपालिकाले सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ । महालक्ष्मीको जितमा सिद्धान्त अधिकारीले दुई गोल गरे भने रामकृष्ण चौधरी, अमृत चन्द र सनम धितालले समान एक–एक गोल गरे । वाग्मतीका लागि दिलीप घलानले गोल फर्काए ।
खेलको ३६औँ मिनेटमा रामकृष्णको गोलमार्फत महालक्ष्मीले अग्रता लिएको थियो । ४६औँ मिनेटमा अमृतले टोलीको अग्रता दोब्बर बनाए । सनमले ६७औँ मिनेटमा गोल गर्दा महालक्ष्मीको अग्रता ३–० मा पुग्यो । सिद्धान्तले ७७औँ मिनेटमा पेनाल्टीमार्फत टोलीका लागि चौथो गोल गरे ।
दिलीपले ७९औँ मिनेटमा वाग्मतीका लागि गोल फर्काए । इन्जुरी समयमा सिद्धान्तले व्यक्तिगत दोस्रो गोल गर्दा महालक्ष्मी ५–१ ले अगाडि बढ्यो । इन्जुरी समयमै आयुश लामा पेनाल्टीमा चुक्दा वाग्मतीले गोल अन्तर कम गर्ने मौका गुमायो ।
पहिलो खेलमा आयोजक गोदावरी नगरपालिकासँग ६–१ ले पराजित भएको महालक्ष्मीले अब ललितपुर महानगरपालिकासँग खेल्न बाँकी छ ।
अघिल्लो खेलमा ललितपुर महानगरसँग ७–३ गोल अन्तरले पराजित वाग्मतीले अब समूह चरणको अन्तिम खेलमा गोदावरी नगरपालिकासँग प्रतिस्पर्धा गर्न बाँकी छ ।
समूह ‘ए’ मा गोदावरी, ललितपुर महानगर र महालक्ष्मीको समान तीन–तीन अंक छ । यद्यपि, गोल अन्तरका आधारमा एक खेल मात्र खेलेको गोदावरी शीर्ष स्थानमा छ । ललितपुर महानगरले पनि एक खेल मात्रै खेलेको छ ।
बिहीबार ३ वटा खेल हुनेछ । गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदान बिहीबार बिहान सवा ८ बजे काठमाडौं महानगरपालिका र मध्यपुर ठिमी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
यसैगरी दिउँसो सवा १२ बजे चन्द्रागिरि नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाबीच खेल हुनेछ । दिउँसो साढे ३ बजे गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।