site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनआरएनएलाई एकताबद्ध बनाउन पूर्वअध्यक्षहरूको सुझाव

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्वअध्यक्ष जीवा लामिछानेले नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठलाई वास्तविक एकताका साथ एनआरएनको अभियानलाई अघि बढाउन सुझाव दिएका छन् ।

महतो र लामिछाने सर्वोच्च अदालतको परमादेशपछि गठित उच्चस्तरीय समितिमा समेत थिए । उनीहरूले एकता महाधिवेशन भने बहिष्कार गरेका थिए । 

होटेल हायातमा भएको महाधिवेशनबाट महेशकुमार श्रेष्ठको नेतृत्वमा कार्यसमिति सर्वसम्मत चयन भएपछि महतोले सिंगो कार्यसमितिलाई आफ्नै निवासमा बोलाएका थिए । सो भेटमा लामिछाने पनि सँगै थिए । अर्का पूर्वअध्यक्ष भवन भट्टले भने एकता अधिवेशनलाई समर्थन गरेका थिए । 

भेटमा महतोले सबैले इगो त्यागेर एकताको वातावरण बनाउन अहिलेका (नवनिर्वाचित) साथीहरूले भूमिका निर्वाह गर्नुपर्ने बताए । सबै एनआरएनहरू एक ठाउँमा नआउँदासम्म प्राप्त उपलब्धि पनि संस्थागत नहुने र आगामी दिन झनै अप्ठ्यारो हुनेतर्फ उनले सचेत गराएको प्रवक्ता गंगाधर गौतमले जानकारी दिए ।

 ‘नेगेटिभिटी र इगो त्यागेर संस्थालाई व्यक्तिभन्दा माथि राख्न उहाँले आग्रह गर्नुभयो,’ प्रवक्ता गौतमले भने  ।

भेटका क्रममा अनलाइन भोटिङको आफूले सबैभन्दा पहिला विरोध गरेको स्मरण गराउँदै महतोले नेपालको हितका लागि पनि सबै काठमाडौंमा जम्मा भएर अधिवेशन गर्ने पक्षमा आफू रहेको बताए ।

विगतमा तीन अध्यक्ष हुँदा होटेल हिमालयको प्रसंग कोट्याउँदै सर्वसम्मत भएकाले आफू त्यहाँ सहभागी भएको र चुनावमा अहिलेसम्म आफूले कसैलाई भोट नहालेको उनले बताएका थिए । 

उनले अहिले पनि केही साथीहरू बाहिर रहेको  बताउँदै एकताको वातावरण बनाउनका लागि श्रेष्ठ नेतृत्वले त्यसमा बढी पहल गर्नुपर्नेमा जोड दिए । 

उनले आफू होटेल हायातमा नगएको बताउँदै उनले अरू साथीहरूले अक्टोबरमा गर्न लागेको अधिवेशनमा पनि सहभागी नहुने प्रस्ट पारे । ‘अहिले साथीहरू आउनुभयो, तपाईंहरुलाई शुभकामना दिन्छु, जुन दिन सबै साथीहरू एक भएर आउनुहुन्छ त्यसपछि मात्रै बधाई दिन्छु,’ महतोले भने ।  

एकताको वातावरण बनाउनका लागि एनआरएनसम्बन्धी अदालतमा विचाराधीन सबै मुद्दा फिर्ता लिएर सहमतिको वातावरण बनाउन उनले सबैलाई अपिल पनि गरे । 

अदालतको परमादेशपछि एनआरएन सचिवालयबाट तीनजना अध्यक्षको फोटो हटाइएको विषयमा बद्री केसीले गल्ती गरेको उनले टिप्पणी गरे ।

‘गल्ती सबैबाट भएको छ, अब एनआरएनएको विषय ‘इनफ इज इनफ’ । सबै एक ठाउँमा आउने वातावरण बनाउन पहल गरौँ,’ महतोको भनाइ थियो ।

सोही अवसरमा पूर्वअध्यक्ष जीवा लामिछानेले एनआरएनएको अहिलेको अवस्था आउनुमा आफूहरू पनि दोषी रहेको स्वीकार गर्दै अब सबैले इगो त्यागेर एकताको वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘अब पनि इगो त्यागिएन भने महाभारतमा यदुवंशीको विनाश भएको जस्तै एनआरएन पनि सकिन्छ ।’ साथै उनले तमाम समस्या समाधानको एउटै उपाय भनेको वार्ता र संवाद भएको उल्लेख गर्दै त्यसका लागि पहल थाल्न श्रेष्ठलाई आग्रह गरे ।

यस्तै, पूर्वअध्यक्ष भवन भट्टले सबै साथीहरू एक ठाउँमा आउने वातावरण बनाउन अपिल गरे ।एनआरएनए उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले अझैँ  एकताको वातावरण बनाउनु पर्नेमा जोड दिएका थिए  । अहिले धेरै कुराहरू सहज अवस्थामा रहेकाले संस्थाको साख बचाउन पनि सबै मिल्नुको विकल्प नभएको उनले बताए ।

उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले एनआरएनभित्रको उतारचढावमा आफूहरू सबैको भूमिका रहेको स्वीकार गर्दै अहिले विवाद कम भएको रूपमा व्याख्या गरे । साथै उनले विवाद निरूपण गरी अहिलेको समस्याबाट निकास दिन संस्थापक र पूर्व अध्यक्षहरूले दिने गरी भूमिका खेल्न आग्रह पनि गरे ।

नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठले पहिलो बैठकले नै एकताको आह्वान गरेको स्मरण गर्दै सबैलाई साथ लिएर हिँड्ने गरी आफूले तयारी गरिरहेको बताए । 

संस्थापक र पूर्वअध्यक्षहरूकै सुझावअनुसार आफ्नो कार्यसमितिले एकताको वातावरण बनाउने प्रतिबद्धता पनि श्रेष्ठले जनाए । कार्यक्रमको सहजीकरण महासचिव बीआर लामाले गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro