
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुर लाँकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा लडेको खुलेको छ ।
मंगलबार दिउँसो परिवारका केही सदस्य र आफन्तसहित उनी २ बजे नै रिसोर्ट पुगेको ललितपुर प्रहरी स्रोतले जानकारी दिए । स्रोतले भन्यो,‘‘ माओबादी अध्यक्षसहित उनका आफन्तहरु ३ बजे नै रिसोर्ट पुगेका हुन् । तर, काम पर्यो भनेर राति १२ बजे नै फर्किएका थिए । कसरी लडे के भएको हो, त्यो त थाहा भएन ।’’
तर, उनी बाथरुममा लडेर घाइते भएपछि राति नै त्यहाँबाट फर्किएको खुलेको हो । उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार पछि घर फर्किइसकेका छन् । उनको टाउकोमा सामान्य चोट लागेको र उपचारपछि घरमै आराम गरिरहेका छन् ।
प्रचण्ड पुत्री गंगा दाहालले आफ्नो फेसबुक पेजमा गएराति बाथरुममा चिप्लिएर बुबाको निधारमा सामान्य बाहिरी चोट लागेकाले नजिकको मेडिसिटी अस्पताल लगेको उल्लेख गरेकी छिन् । तर, घरमा नै हो कि रिसोर्टमा भन्नेबारेमा भने कुनै उल्लेख गरेकी छैनन् ।
टेरेस ललितपुरको महंगो रिसोर्टमध्येको एक हो । यसअघि पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो जन्मदिन मनाउन पनि सोही रिसोर्ट पुगेका थिए ।