site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

भारतीय कश्मीरको पहलगाममा १५ दिन पहिले २६ जनाको ज्यान लिनेगरी गरिएको आतङ्ककारी हमलाको उत्तरमा भारतले गए राति पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरका केही भागमा ‘जबाफी कारबाही’ गरेको छ । पाकिस्तानी सेनालाई उद्धृत गर्दै समाचार संस्थाहरूले जनाएअनुसार ‘अपरेसन सिन्दुर’ नाम दिइएको भारतीय सैनिक कारबाहीमा मर्नेहरूको सङ्ख्या २६ पुगेको छ भने ४६ जना घाइते भएका छन् ।   

पहलगाम आतङ्कलगत्तै भारतले त्यसमा पाकिस्तानको हात रहेको र त्यसको समुचित जबाफ दिने बताएको थियो । पाकिस्तानले भने पहलगाम आतङ्कमा आफ्नो  संलग्नता अस्वीकार गर्दै घटनाको निष्पक्ष जाँचका लागि आग्रह गरेको थियो । भारतले भने पाकिस्तानी संलग्नता स्पष्ट देखिएको दाबी गरी आतङ्ककारीलाई पाठ सिकाउने प्रण सार्वजनिकरूपमै गरेको छ ।

सीमा जोडिएका छिमेकी भारत र पाकिस्तानबीच कश्मीरलगायतका विषयमा तीनपटक युद्ध भइसकेको छ । पहलगाम आतङ्कजस्ता घटना र त्यसको बदलामा भारतीय कारबाही पनि पटकपटक भइसकेको छ । दुवै राष्ट्र आणविक शक्तिसम्पन्न छन् । यसैले भारत र पाकिस्तानबीच युद्धको जोखिम बढ्दा नेपालमा चिन्ता बढ्नु स्वाभाविकै हो ।

भारतीय कारबाही र त्यसको पाकिस्तानी प्रतिरोध यत्तिकैमा सीमित होस् भन्ने कामना गर्नुबाहेक सम्भवतः अहिले अरू केही गर्न सकिँदैन । इजरायलले भारतको आतङ्कबाट प्रतिरक्षाको अधिकारको समर्थन गरेको छ भने युरोपियन युनियन, अमेरिका, चीन, रुसलगायतका मुलुकहरूले दुवै मुलुकलाई संयमित रहन आग्रह गरेका छन् । 

हुन पनि युद्धले दुवै मुलुकका जनताले क्षतिमात्रै सहनुपर्ने हो । यसैले भारत र पाकिस्तानका जनताको हितका लागि पनि दुवै देशका राजनीतिक एवं संनिक नेतृत्व संयमित हुनु आवश्यक छ ।

कारबाही र प्रतिकारबाहीको शृङ्खला चल्न थाल्यो भने त्यसबाट अकल्पनीय क्षति हुनसक्छ । अहिल्यै सिन्धु जल सम्झौता स्थगित हुँदा पाकिस्तानमा खडेरी र अनिकाल लाग्ने जोखिम देखिइसकेको छ ।   

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) यसो त नाममा मात्र बाँचेको देखिन्छ तैपनि नेपाललगायतका यसका अरू सदस्यले भारत र पाकिस्तानलाई सामूहिक तथाअलगअलग रूपमा शान्ति कायम राख्न आग्रह गर्नु उचित हुने देखिन्छ । अहिले यसको पहल नेपालले गर्नसक्छ र पर्छ पनि । छिमेकका युद्धको डँडेलो सल्क्यो भने त्यसको आगोले वरपर सबैलाई जो पोल्छ ।

नेपालको संसद्मा पनि भारत(पाकिस्तान युद्धको जोखिम र नेपालले त्यसको दुष्परिणाम न्यून गर्न बेलैमा सजग हुनुपर्ने विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । भारत युद्धमा होमिन लागेको समाचारले नेपाली जनजीवन पनि संत्रस्त देखिएको छ । यसै पनि भारतमा हुने कुनै पनि घटनाको नेपालमा प्रभाव त परी नै हाल्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro