काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाली सेनालाई अपमान र अप्ठेरो बनाउने काम नगर्ने बताएका छन् । मंगलबार रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् ।
नेपाली सेनालाई अप्ठेरोमा पार्न सडक आयोजना निर्माणको जिम्मेवारी दिइएको हो ? भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, “नेपाली सेनालाई अपमान र अप्ठेरो बनाउने भन्दा पनि झन् विश्वासिलो, भरलाग्दो र भरपर्दो भएको कारणले नेपाली सेनलाई काम दिइएको भन्ने लाग्छ ।”
कतिपय जिल्लाका सदरमुकाम नेपाली सेनाले सडक निर्माण गरेकै कारण सडकबाट जोडिएको उनले बताए ।
“ज्यादै कठिन विकास निर्माणको काममा नेपाली सेनाको सहयोग लिने गरेका छौँ,” उनले भने । यस्तो कामहरू मन्त्रिपरिषद्मा प्रस्ताव लगेर रक्षा मन्त्रालय हुँदै नेपाली सेनालाई हस्तान्तरण गरिने उनले स्पष्ट पारे ।
महकाली करिडोर अहिले पनि नेपाली सेनाको जिम्मामा रहेको जनाउँदै उनले प्रशस्त बजेट नभएको कारण निर्माण कार्य द्रुतरूपमा अघि बढ्न नसकेको उनले जनाए ।