site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछाने पक्राउ परेपछि 'हाई अलर्ट'मा पोखरा !
शुक्रबार साँझ वनस्थलीस्थित पार्टी कार्यालयमा सञ्चारकर्मी र समर्थकलाई सम्बोधन गर्दै रास्वपाका सभापति रवि लामिछाने । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
SkywellSkywell

पोखरा । शुक्रबार विपक्षी दलहरूको संयुक्त बैठकमा नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी हुने विषयले प्रवेश पाएको थियो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले लामिछाने एक–दुई दिनमै पक्राउ पर्ने सूचना पाएको बताएका थिए ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने गोर्खा मिडिया नेटवर्कको सञ्चालक हुँदा जोडिएका थिए । सूर्यदर्शनसहित विभिन्न सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोड रकम खर्च गर्दा लामिछानेको हस्ताक्षर भेटिएको थियो । संसदीय छानबिन समितिले नै लामिछानेलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

समितिको प्रतिवेदन बाहिरिनासाथ त्यसको पक्ष–विपक्षमा पनि माहोल निकै तातेको थियो । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अमेरिका र प्रहरी महानिरीक्षक पनि देशबाहिर भएका कारण तत्काल लामिछाने पक्राउ पर्ने सम्भावना टर्‍यो । लामिछाने पक्राउ नपरे पनि असोज ६ गते प्रहरीले तत्कालीन समयमा उनका व्यावसायिक साझेदार छविलाल जोशीलाई पक्राउ गरेको थियो ।

KFC Island Ad
NIC Asia

समितिको प्रतिवेदन अनुसार सहकारीमा छवि र रविको भूमिका समान थियो । त्यसकारण पनि लामिछाने ढिलोचाँडो पक्राउ हुने नै थिए ।

दसैँ बिदा सकिएलगत्तै शुक्रबार कास्की प्रहरीले जिल्ला अदालत कास्कीबाट लामिछानेविरुद्ध अनुसन्धानको लागि पक्राउ पुर्जी लियो । लामिछानेलाई पक्राउ पुर्जी र उनका साझेदार छविविरुद्ध पनि अनुसन्धानका लागि म्याद थप गर्नका लागि प्रहरी अदालत पुगेको थियो ।

घटस्थापनादेखि कोगाज्रत पूर्णिमासम्म अदालत बन्द हुने भएका कारण शुक्रबार नै प्रहरीले सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ पुर्जीदेखि म्याद थप एकैदिन गर्न पुगेको थियो । तर, जिल्ला अदालत कास्की भने झन्डै न्यायाधीश शून्य बन्न पुगेको थियो ।

जिल्ला अदालत कास्कीमा सातजना न्यायाधीश छन् । तीमध्ये ६ जना न्यायाधीश बिदामा छन् । न्यायाधीश कृष्णजंग शाह पनि बिदा बस्न चाहेका थिए । तर, अदालत नै न्यायाधीश शून्य हुने भएपछि उनी हतारहतार आज नै नेपालगञ्जबाट १०ः४५ को फ्लाइटमा पोखरा आएका हुन् ।

विमान ढिलो उडान हुँदा उनी साढे ३ बजेमात्रै अदालत प्रवेश गरेका थिए । त्यतिबेलासम्म कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया र डीएसपी (प्रहरी नायब उपरीक्षक) वसन्तकुमार शर्मा लामिछानेलाई पक्राउ गर्नुपर्ने कारणसहितको मुद्दाको फाइल बोकेर न्यायाधीशको च्याम्बरमा छिरेका थिए ।

करिब डेढ घण्टाको छलफलपछि शाहको इजलासले पक्राउ पुर्जी र म्याद थप गर्ने निर्णय गरेको हो ।
आफूविरुद्ध पक्राउ पुर्जी जारी लामिछाने स्वयंले सामाजिक सञ्जालमा आफू 'ठग नभएको' जिकिर दोहोर्‍याए ।

लामिछानेलाई शुक्रबार नै प्रहरीले पक्राउ गरेको पोखरातर्फ ल्याएको छ । लामिछानेको कास्कीसँगको सम्बन्ध त्यति राम्रो छैन । उनी सहकारी ठगी प्रकरणमा जोडिएको पनि पोखराबाट नै हो ।

आफू गृहमन्त्री हुँदा सहकारी ठगीमा संलग्नलाई समात्न नसकेको, आफैँमाथि छानबिन चलिरहेका बेला अनुसन्धानलाई रोकेको आशंकासहित पोखराका सहकारी पीडित उनीदेखि असन्तुष्ट छन् ।

गत वर्ष ७ पुसमा पोखराको अमरसिंह चोकमा भाषण गर्ने क्रममा उनीमाथि खोया प्रहार भएको थियो । त्यसपछि नै उनको नाम सहकारी ठगी प्रकरणमा जोडिएको हो ।

त्यतिबेला खोया प्रहार गर्ने युवा सहकारीसँग नजोडिएको खुले पनि लामिछानेमाथि भने त्यसपछि निरन्तर सहकारी जोडिएका विषय सार्वजनिक भए ।

पोखराकै सूर्यदर्शनदेखि बुटवलको सुप्रिमलगायत विभिन्न सहकारीमा लामिछानेको नाम जोडिन थाल्यो । उनी प्रबन्ध निर्देशक हुँदा गोरखा मिडियामा सूर्यदर्शन सहकारीबाट करोडौँ रकम गएको खुलेको छ ।

पोखरा महानगरपालिकाको प्रतिवेदन अनुसार, लामिछानेको नाममा पनि सहकारीबाट एक करोड रुपैयाँ गएको छ । महानगरको प्रतिवेदनले उनको नाममा रकम गएको देखाएपछि पोखरामा लामिछानेको झन् चर्को आलोचना हुन थालेको हो ।

अठार हजारभन्दा धेरै बचतकर्ताको एक अर्ब ११ करोड रकम सूर्यदर्शन सहकारीले अपचलन गरेको प्रतिवेदनमा उल्लेख छ ।

पीडितहरूले गृहमन्त्री हुँदा लामिछानेलाई भेटेर नै बचत रकम फिर्ता गराइदिन पटकपटक आग्रह गरेका थिए । तर, लामिछानेले कास्कीका एसपीलाई काठमाडौंमा बोलाएर आफ्नो पक्षमा बोल्न लगाएको आरोप उनीमाथि छ ।

जबकि, गत माघ २२ गते पीडितहरूले लामिछानेविरुद्ध पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा पूरक उजुरी दर्ता गरेका थिए । यस्तो अवस्थामा निष्पक्ष छानबिन गर्नुको सट्टा अनुसन्धान गर्ने निकायलाई नै आफू सहकारीमा संलग्न नरहेको भनेर बोल्न लगाएको पीडितहरूको आरोप छ ।

लामिछानेमाथि गत वर्ष ७ पुसमा खोया प्रहार हुँदा नै पीडितहरूले आन्दोलनको तयारी गरेका थिए । कार्यक्रमको अघिल्लो दिन ६ पुसमै पोखरा आएका लामिछानेले आफूविरुद्ध आन्दोलन हुने सूचना पाएका थिए । त्यसपछि उनले सहकारीपीडितलाई पार्टीका प्रदेश समिति कार्यालयमा डाके । राति २ घण्टासम्म उनले पीडितका प्रश्न सुने, ज्ञापनपत्र बुझे ।

उनले समस्या समाधान गर्न आफू तयार रहेको प्रतिबद्धता जनाए । यस भेटको दुई महिनापछि फागुनमा लामिछाने गृहमन्त्री बने । तर, जीबी राईलाई नेपाल झिकाउने काममा असफल भए । त्यसपछि सहकारीपीडित लामिछानेप्रति झनै आक्रामक बने ।

अन्तिमपटक उनी पोखरा आउँदा 'सहकारी ठग'को उपमा सुन्नुपर्‍यो । सहकारीको रकम ठगेर राष्ट्रिय पार्टी बनाएको आरोप उनीमाथि लाग्यो । यतिसम्म कि रास्वपाका सदस्य र सहकारीपीडितहरू आमनेसामने नै हुन पुगे ।

उनै सहकारी पीडितहरूले दिएको पूरक उजुरी तथा संसदीय छानबिन समितिको प्रतिवेदनपछि अन्ततः लामिछानेलाई पक्राउ गरेर पोखरा नै ल्याइँदै छ ।

यसअगाडि पनि सहकारी पीडित र रास्वपाका सदस्यहरूको प्रदर्शन तनावपूर्ण हुने संकेत देखिइसकेको छ । झन् अहिले पक्राउ नै गरेर पोखरा ल्याउने भनेपछि कास्कीका सुरक्षा निकाय 'हाई अलर्ट'मा बसेका छन् ।

गत भदौ २५ गते जिल्ला प्रशासन कार्यालय अगाडि नै रास्वपा समर्थक र सहकारी पीडितबीच तनावग्रस्त अवस्था देखिएको थियो । त्यतिबेला रवि पोखरा मात्र आएका थिए, उनीविरुद्ध कुनै पुर्जी जारी भएको थिएन । रविले कार्यक्रमलाई सम्बोधन गरेको स्थलबाहिर पनि चर्को नाराबाजी भएको थियो । प्रहरीको स्कर्टिङमा गेट लगाएर कार्यक्रम गर्नुपरेको अवस्था थियो । त्यसलाई सुरक्षा संयन्त्रले नजिकबाट नियालेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आवश्यक सुरक्षा प्रबन्ध गरिएको बताए । आवश्यकता अनुसार नै सम्भावित 'रेड जोन' तोकिएको र त्यहाँ सोही अनुरूपको सुरक्षा प्रबन्ध गरिएको उनको भनाइ छ ।

रविलाई शुक्रबार राति नै पोखरा ल्याइँदै छ । शनिबार सार्वजनिक बिदा भएको हुँदा उनलाई कास्की प्रहरीकै हिरासतमा राखिने छ । शनिबार जिल्ला प्रहरी कार्यालय कास्कीको भवन गैह्रापाटन बाहिर सुरक्षा व्यवस्था कडा हुने छ ।

सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिले शान्तरूपमा नै बस्ने तर रविको पक्षमा नाराबाजी भए काउन्टर नाराबाजी गरिने जनाएको छ ।

आइतबारमात्रै उनलाई अदालतमा लगिने छ । सहकारी पीडितहरूले यस अगाडि पनि सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरूविरुद्ध नाराबाजी गर्दै आएका थिए । जिल्ला अदालतको बाहिर, जिल्ला प्रशासन कार्यालय सहिदचोकलाई पनि सुरक्षा निकायले संवेदनशील क्षेत्रमा राखेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro