site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘विवादै विवाद’ले घेरिएका रविको यस्तो छ राजनीतिक उतारचढाव 

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाह मेयर बनेपछि सञ्चारकर्ममा रहेका रवि लामिछानेलाई राजनीतिक हुटहुटी जाग्यो ।  जुनकुरा श्रीमती निकिता पौडेलले बाह्रखरीसँगको कुराकानीमा खुलाएकी थिइन् । 
सोही हुटहुटीका कारण लामिछानेले असार ०७, २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घोषणा गरे । 

असार १७ मा निर्वाचन आयोगमा दर्ता भयो ।  दर्ता भएको ५ महिनापछि भएको प्रतिनिधिसभाको निर्वाचनमा रास्वपा होमियो ।  राष्ट्रिय पार्टीसहित उदायो । रास्वपाले प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी २० सिट जित्यो । लामिछाने चितवन क्षेत्र नम्बर २ बाट ३४ हजार २११ मतान्तरले निर्वाचित भए ।

उनले ४९ हजार ३०० मत प्राप्त गर्दा प्रतिष्पर्धी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए ।  रास्वपाको जितले पुराना पार्टीलाई केही मात्रामा धक्का समेत पुगेको थियो । 

विवादै विवादको शृङ्खला 

राजनीतिमा नयाँ छवि बनाउने दाबी गरेका लामिछाने विवादरहित बन्न सकेनन् ।  राजनीतिक यात्राको प्रारम्भबाटै उनी विवादले घेरिए । निर्वाचनमा उमेदवार बनेपछि नै उनीविरुद्ध दोहोरो नागरिकता रहेको उजुरी परेको थियो ।
राजकुमार पाण्डेले लामिछानेले अमेरिकाको नागरिकता नत्यागेका कारण उमेदवारी खारेजी हुनुपर्ने माग गरेका थिए । 

उनको उजुरीपछि चितवनको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले स्पष्टीकरण सोधेका थिए ।  उनको स्पष्टीकरणको जवाफ अधिकृतको कार्यालयले निर्वाचन आयोगमा पठाएको थियो ।  तर, निर्वाचित भइसकेको भन्दै त्यो उजुरीबारे आयोगले निर्णय गरेन । र, उनी चितवन–२ बाट फराकिलो मतसहित निर्वाचित भए ।

सिधै गृहमन्त्री 

निर्वाचनपछि नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको सरकार बन्यो ।  माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ०७९ पुस १० गते प्रधानमन्त्री बने । 
लामिछाने प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानसहित गृहमन्त्री बने । 

उनको दलले ३ मन्त्रालयसहित एक राज्यमन्त्री पनि पाएको थियो । राजनीतिक छलाङ हानेका लामिछाने लामो समय पदमा रहन सकेनन् ।  

०७९ माघ १३ गते सर्वोच्च अदालतको आदेशबाट उनी पदमुक्त भएका बन्न पुगे ।  अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता प्राप्तिको प्रकृया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद खारेज गरेको थियो । 
उनले २०७० मा अमेरिकाको नागरिकता पाएका थिए । 

अमेरिकी पासपोर्टमै नेपाल आएर सञ्चारकर्ममा लागेका थिए । विवाद भएपछि उनले ०७५ जेठ ४ मा काठमाडौंस्थित अमेरिकी दूतावासमार्फत नागरिकता त्याग्ने प्रक्रिया सुरु गरेका थिए । 

तर, उनले पुरानै नेपाली नागरिकता चलाए ।  प्रक्रिया पूरा नगर्दा उनले पद गुमाउनु परेको थियो ।  पद गुमेको दुई दिनपछि उनी नागरिकता पुनःप्राप्तिको लागि जिल्ला प्रशासन पुगेका थिए ।  ०५० सालमा जारी भएको नागरिकता नम्बर राखेर उनले ०७९ माघ १५ गते नागरिकता पाएका थिए । 

उपनिर्वाचन जितेर फेरि गृहमन्त्री 

०८० वैशाख १२ गते रिक्त चितवन क्षेत्र नम्बर–२ मा उपनिर्वाचन भएको थियो ।  उपनिर्वाचनमा लामिछाने नै भारी मतका साथ निर्वाचित भए ।  उनले ५४ हजार १७६ मत प्राप्त गरेका थिए ।  उनका प्रतिष्पर्धी कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मात्रै पाएका थिए । 

उपनिर्वाचनको उमेदवारी परेपछि खारेजी माग गर्दै युवराज सफलसहित ४ जनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।  उनलाई स्पष्टीकरण सोधिए पनि निर्वाचित भइसकेको भन्दै आयोगले कारबाही गरेको थिएन ।

रविसहितका व्यक्तिलाई अनुसन्धान गनुपर्ने मागसहित पोखराको सूर्यदर्शन सहकारीका वचतकर्ता पीडितले माघमा पुरक जाहेरी दिएका थिए ।  तर, सहकारी ठगीको आरोप लाग्दालाग्दै उनी गृहमन्त्री बनेका थिए ।  उनी ०८० फागुन २३ गते गृहमन्त्रीमा दोहोरिएका थिए ।  दोस्रोपटक गृहमन्त्री बन्दा पनि लामिछाने विवादित बने । 

सहकारी ठगीमा उनीविरुद्ध उजुरी परेको थियो । गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक तथा प्रबन्ध निर्देशक रहेका लामछिानेलाई पदबाट राजीनामा दिन माग गरिएको थियो ।  तत्कालीन प्रतिपक्षी नेपाली कांग्रेसले सदन नै अवरोध गरेको थियो । कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने माग राखेको थियो । 

तत्कालीन प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओली समिति बनाउन नहुने अडानमा थिए । सदनबाट लामिछाने निर्दोष भएको घोषणा गर्नसमेत उनीहरु पछि परेका थिएनन् ।  प्रचण्डले कांग्रेसको अवरोधकाबीच मार्सल लगाएरै विश्वासको मतसमेत लिएका थिए । 

०८१ जेठ १५ गते अन्ततः दलहरुबीच छानबिन समिति बनाउने सहमति भएको थियो ।  नेकपा (एमाले)का सांसद सूर्य थापा सभापति रहेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति गठन भएको थियो । 

७ सदस्यीय समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुबबहादुर प्रधान सदस्य रहेका थिए । समितिले तीन महिना कार्यावधि पाएको थियो ।

सोहीबीचमा ०८१ असार १७ गते कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बन्यो ।  उनीहरुबीचको नयाँ गठबन्धनले प्रचण्डले असार २८ गते विश्वासको मत नपाउँदा सरकार ढलेको थियो ।  त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दा रास्वपा विश्वासको मतको विपक्षमा उभिएको थियो । 

सहकारी छानबिन समितिले भदौ ३१ गते प्रतिवेदन बुझायो ।  प्रतिवेदनमा सहकारीको रकम गोर्खा मिडियामा ल्याउनमा रविको संलग्नता नदेखिए पनि प्रबन्ध निर्देशक र सञ्चालक समितिको सदस्यका हैसियतले कारबाही गर्न सिफारिस गरेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro