site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्टालिनकी छोरीलाई अमेरिकाले यसरी उडायो भारतबाट !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सन् १९६७ को मार्चमा भारतका निम्ति अमेरिकी राजदूत चेस्टर बाउल्सका असिस्टेन्ट रिचर्ड सेलेस्टले आफ्नो घरमा केही मान्छेलाई खाना खान बोलाएका थिए । उनको घरमा पाहुना आउन मात्र के थालेका थिए फोन बज्यो ।

फोन गर्ने व्यक्ति थिए अमेरिकाका गुप्तचर एजेन्सी सीआईएको दिल्ली स्टेसनका प्रमुख डेव ब्ली । फोनमा डेवले भने, ‘सेलेस्ट, तुरुन्तै दूतावास आऊ ।’

सेलेस्टले आफ्नो घरमा पार्टी चलिरहेको सुनाए, पाहुनालाई छाडेर दूतावास आउन नसक्ने जवाफ दिए । तर, सीआईएका दिल्ली प्रमुखले जुनसुकै हालतमा पनि दूतावास आउन भने । उनले फोनमा भने, ‘जेसुकै होस्, तुरुन्तै दूतावास आऊ ।’

KFC Island Ad
Dabur Nepal
NIC Asia

सेलेस्टको घर दूतावासबाट नजिकै थियो । त्यसैले उनी पैदलै दूतावास पुगे ।

जसै उनले दूतावासको ढोकाको घण्टी बजाए, सुरक्षागार्डले ढोका खोलेर भने, ‘एकछिनअगाडि यहाँ एक महिला आएकी थिइन् । उनको नाम स्वेतलाना हो । उनी आफूलाई स्टालिनकी छोरी भन्छिन् ।’

Royal Enfield Island Ad

सीआईएका दिल्ली प्रमुख ब्लिसँग भेट्नेबित्तिकै सेलेस्टले प्रश्न गरे, ‘ती महिला साँच्चिकै स्टालिनकी छोरी हो ?’

ब्लिले जवाफ दिए, ‘हुनसक्छ । तर, हामीलाई यकिन छैन, किनभने यो हामीलाई लज्जित तुल्याउने सोभियतको चाल पनि हुनसक्छ ।’

पछि भारतका निम्ति अमेरिकी राजदूत बनेका रिचर्ड सेलेस्टले आफ्नो किताब ‘लाइफ इन अमेरिकन पोलिटिक्स एन्ड डिप्पलोमेटिक इयर्स इन इन्डिया’मा लेखेका छन्, ‘ती महिलाको भनाइमा विश्वास गर्न मुस्किल थियो । ती महिला स्टालिनकी छोरी हुँ मात्र भनिरहेकी थिइनन्, उनी भारतीय व्यक्ति ब्रजेश सिंहकी श्रीमती हुँ समेत भनिरहेकी थिइन् । ब्रजेश रुसको राजधानी मस्कोमा विदेशी भाषा प्रेसमा काम गर्थे ।’

ब्रजेश सिंह तत्कालीन विदेश राज्यमन्त्री दिनेश सिंहका काका थिए । दिनेश सिंह प्रधानमन्त्री इन्दिरा गान्धिका निकट मानिन्थे । ब्रजेको मृत्यु सन् १९६६ को नोभेम्बरमा भइसकेको थियो । सेलेस्ट लेख्छन्, ‘उनी आफ्नो पतिका अस्थि लिएर भारत आएकी थिइन् र ती अस्थि गंगामा बगाइसकेर  अमेरिकामा गएर राजनीतिक शरण लिन चाहन्थिन् ।’

stalins-daughter1-1728891629.jpg
आश्चर्यको कुरा के भने, स्टालिनकी छोरी १९६६ को नोभेम्बरमै भारत आइसकेकी थिइन् । उनी भारत आएको महिनौँ बितिसक्दा पनि कसैलाई थाहा थिएन । स्टालिनकी छोरी भारतका विदेश राज्यमन्त्री दिनेश सिंहको दिल्लीस्थित सरकारी आवासमा बसिरहेकी थिइन् । यसको खबर न सीआईएलाई थियो न भारतीय मिडियालाई ।

रुसी दूतावासलाई भने स्टालिनकी छोरी भारतमा आएको थाहा थियो । रुसका नेता ब्रेझनेभ स्टालिनकी छोरी जतिसक्दो छिटो रुस फर्किऊन् भन्ने चाहन्थे । यसैकाण भारतका निम्ति सोभियत राजदूत निकोलाई बेनेडिक्टोभ स्वेतलानालाई बारम्बार भारतमा बस्नु ठिक छैन भनिरहेका थिए ।

भारत पुगेको र भारतबाट अमेरिकामा शरण मागेको घटनाको सिलसिलेवार विवरण स्टालिनकी छोरी स्वेतलाना अलिलुयेवाले आफ्नो आत्मकथा ‘वन्ली वान इयर’मा लेखेकी छन् ।

उनले लेखेकी छन्, ‘म ट्याक्सीलाई फोन गरेर दूतावासको गेटमा पुगे । पाँच मिनेटपछि एक शिख ड्राइभर आफ्नो थोत्रो कार लिएर आइपुग्यो । उसले ट्याक्सीको ढोका खोल्यो । एकछिन भनेर म घभित्र गएँ, आफ्नो सुटकेस र कोट लिएर दौडिँदै आएर ट्याक्सीमा बसेँ । ट्याक्सीमा बसेपछि मैले ड्राइभरलाई अमेरिकी दूतावासको बाटो थाहा छ भनेर सोधेँ, उसले दूतावासनजिकै छ भन्यो ।”

यसपछि स्वेतलाना रुसी दूतावासको पछाडिको बाटो हुँदै अमेरिकी दूतावास पुगिन् । उनले लेखेकी छन्, ‘एक मिनेटमै म उज्यालोमा चम्किरहेको अमेरिकी दूतावासको ढोकाम पुगेँ । म दूतावासभित्र छिर्दा सानो कुर्सीअगाडि लामो कदको निलो आँखा भएको अमेरिकी सैनिक उभिएको थियो । उसले सुरुमा मलाई यहाँ कोही छैन भन्यो । तर, जसै उसले मेरो हातमा रातो रङको सोभियत पासपोर्ट देख्यो, उसले बुझिहाल्यो उच्च अधिकारीलई बोलाउनुपर्छ भनेर ।’

त्यतिखेर अमेरिकी राजदूत चेस्टर बोल्स ब्रोङकाइटिसबाट पीडित थिए । उनी आफ्नो घरमा आराम गरिरहेका थिए । सीआईएका स्टेसन चिफ डेव ब्ली र सेलेस्टले उनको घरमा गएर उनलाई सारा घटना सुनाए ।

स्टालिनकी छोरीलाई अमेरिका पुर्‍याउने सकस
सेलेस्टले आफ्नो किताबमा लेखेका छन्, ‘राजदूतले हामीसँग के विकल्प छन् भनेर सोधे । हामीले उनको अगाडि तीनवटा विकल्प राख्यौँ । पहिलो विकल्प कूटनीतिक तरिकाअनुसार हामीले भारत सरकारलाई सूचित गरेर हामीकहाँ आफूलाई स्टालिनकी छोरी बताउने सोभियत नागरिक आएकी छन्, उनले राजनीतिक शरणका लागि अनुरोध गरेकी छन् ।’

तर, सीआईएका दिल्ली प्रमुखले यसो गरेमा समस्या हुनसक्छ भने । तीन महिनाअगाडि एक रुसी पानीजहाज चालकले भारत पुगेर अमेरिकासँग शरण मागेका थिए । भारतबाट अमेरिका पठाउने अनुमति दिन भारतले तीन महिना लगाएको थियो । ‘जब कि त्यो जहाज चालकको कुनै राजनीतिक महत्त्व नै थिएन । यसपटक भारतले शरण माग्ने व्यक्ति स्टालिनकी छोरी हुन् भन्ने थाहा पायो भने यसको परिणाम के हुनसक्छ हामी अनुमान पनि गर्न सक्दैनौँ,’ ब्लीलले पहिलो विकल्प खारेज गरे ।

अर्को विकल्प थियो स्वेतलानालाई अमेरिकाले केही गर्न सक्दैन भनेर फिर्ता पठाउने । तर, यसो गर्न सहज थिएन । यसपछि ब्लीले तेस्रो विकल्प सुझाए, ‘स्वेतलानालाई अमेरिका जाने भिसा दिने, तर आधा बाटोसम्मको मात्र टिकट खरिद गरिदिने ।’

stalin-1728891661.jpg
त्यही रात १ बजे क्वान्टास एयरलाइन्सको विमान रोम जाँदै थियो । स्वेतलानालाई रोम पुर्‍याएर त्यहाँको अमेरिकी दूतावासको सेफ हाउसमा राख्ने सहमति भयो ।

अमेरिकी राजदूतले वासिङटनलाई स्वेतलानाको विषयमा गोप्य तरिकाले खबर पठाउन निर्देशन दिए । बेलुकाको करिब साढे ८ बजे वासिङटनमा अमेरिकी विदेशमन्त्री डनी रस्कलाई ‘फर योर आइज वन्ली’ भन्दै स्टालिनकी छोरी शरण माग्न आइपुगेको सन्देश पठाइयो ।

आधा घण्टापछि अमेरिकी विदेश मन्त्रालयले यसबारे अमेरिकाको निर्णय छिटै सुनाउँछौँ भनेर सन्देश फर्कायो । तर, त्यसपछि विदेशमन्त्री रस्कले यस विषयमा मौनता साधे ।

निकै बेर प्रतीक्षा गर्दा पनि विदेशमन्त्री रस्कका तर्फबाट कुनै सन्देश आएन । आधा रात बितेपछि सीआईएका दिल्ली स्टेसन चिफ स्वेतलानालाई आफ्नो कारमा राखेर पालम विमानस्थल पुगे ।

यतिन्जेलसम्म अमेरिकाले रुसी भाषा बोल्ने एक सीआईए एजेन्टलाई स्वेतलाना चढ्ने विमानमा पहिले नै चढाइसकेको थियो । विमान ‘टेक अफ’ नगर्दासम्म स्वेतलानालाई आफ्ना बारेमा केही नबताउन एजेन्टलाई निर्देशन दिइएको थियो ।

क्वान्टस विमानले करिब ४५ मिनेट ढिला गरेर टेक अफ गर्‍यो । यतिन्जेलसम्म स्वेतलाना विमानस्थलको लाउन्जमा बसेर पत्रिका पढ्दै थिइन् । यहीबीच ब्लीले सीआईए मुख्यालयमा सन्देश पठाएर स्टालिनकी छोरीका बारेमा केही गोप्य जानकारी भए दिन अनुरोध गरे ।

तर दुर्भाग्य, सीआईएसँग स्टालिनकी छोरी स्वेतलानाका बारेमा केही जानकारी थिएन । आठ वर्षअघि एक व्यक्तिले स्टालिनकी छोरी मस्कोमा विदेशी भाषा प्रेसमा काम गरिरहेका बुज्रुक भारतीय व्यक्तिको साथमा बस्छिन् भनेर पठाएको खबर मात्र थियो । त्यतिखेर सीआईए मुख्यालयले यो सूचना दिल्ली पठाउन उपयुक्त ठानेन् ।

दिल्लीमा तनाव
स्वेतलाना भारतबाट गायब भएको सूचनापछि दिल्लीस्थित सोभियत दूतावासमा हलचल मच्चियो । त्यहाँ रहेको सोभियत गुप्तचर एजेन्सी केजीबीका स्टेसन प्रमुखले सीआईएका दिल्ली प्रमुख डेव ब्लीलाई फोन गरेर हपार्दै सोधे, ‘तिमीहरूले स्टालिनकी छोरीलाई के गर्‍यौ ? उसको अपहरण गर्‍यौ ?’

जवाफमा ब्लीले भने, ‘हामीले कसैको अपहरण गरेका छैनौँ । ती महिलाले हाम्रो दूतावासमा आएर अमेरिकामा राजनीतिक शरण मागिन् ।’

यति सुनेपछि केजीबी प्रमुखले रिसाउँदै सोधे, ‘भनेपछि उनी अहिले अमेरिकामा छिन् ?’

यसको पछिल्लो दिन विश्वभर अमेरिका र सोभियत कूटनीतिज्ञबीच हुने सबै संवाद ठप्प गरिए । पहिले नै तय कार्यक्रमानुसार सोभियत कूटनीतिज्ञ व्येलेरी ओस्तेपेको घरमा भोज खान जानुपर्ने थियो सेलेस्ट । सेलेस्टले व्येलरीलाई फोन गरेर भने, ‘मलाई लागिरहेको छ, आजको रात्रिभोज सायद अब हुँदैन ।’

व्येलरीले सोधे, ‘तपाईं किन यस्तो सोचिरहनुभएको छ ?’
सेलेस्टले जवाफ फर्काए, ‘विश्वभर नै यस्तै हुँदै छ ।’
व्येलरीले भने, ‘नाइँ, हाम्रो कार्यक्रममा कुनै फेरबदल छैन ।’

यो संवादपछि सेलेस्टको मनमा चिसो पस्यो । उनले आफ्नो किताबमा लेखेका छन्, ‘कतै मलाई त्यहाँबाट फर्कन दिएनन् भने ! तर, मेरा राजदूत मलाई भोजमा जान भनिरहेका थिए ।’

राजदूतले नै भोजमा जान भनेपछि सेलेस्टले आफ्ना सुरक्षागार्डलाई म यति समयपछि फर्किनँ भने राजदूतलाई खबर गर्नू, राजदूतले भारत सरकारलाई खबर गर्छन् भने ।

भोजको दिन सेलेस्ट व्येलरीको घरमा पुग्दा उनी त्यहाँ थिएनन् । व्येलरीकी पत्नीले सेलेस्टको स्वागत गरिन् । स्वागतमा उनले भोड्का ल्याइन् । तर, सेलेस्टले भोड्का लिएनन् । उनले लेखेका छन्, ‘भोड्काको मातमा मेरो अपहरण गर्लान् कि भन्ने डरले मैले भोड्का खाइनँ ।’

८ बजे व्येलरी पुगे । खाना खाइसकेपछि व्येलरीले सेलेस्टलाई सोधे, ‘तपाईंहरूले स्वेतलाना स्टालिनको अपहरण किन गर्नुभयो ?’

जवाफमा सेलेस्टले स्वेतलानाको अपहरण नगरेको भन्दै सम्पूर्ण घटना विवरण सुनाए । स्वेतलाना युरोपमा रहेको सुनाए पनि उनले कुन देशमा छिन् भन्ने भनेनन् ।

यतिन्जेलसम्म रातका १२ बजिसकेको थियो । अमेरिकी दूतावासमा सुरक्षागार्डलाई सेलेस्टले दिएको समय सकिन लागेको थियो । सेलेस्टले दूतावसमा जरुरी सन्देश दिन जानुपर्ने बहाना बनाए ।

‘व्येलरीले मलाई आफ्नो गाडीमा बसाएर अमेरिकी दूतावासको ढोकामा पुर्‍याए । भित्र गएर मैले गार्डहरूलाई सबै कुरा ठिक रहेको आश्वस्त पारेर फेरि व्येलरीको साथमा उनको घर आएँ,’ सेलेस्टले आफ्नो किताबमा लेखेका छन् ।

stalin-doughter-1728891691.jpg
इन्दिरा गान्धीका दूतले गरेको बदमासी
सोभियत सरकारले स्वेतलानालाई अमेरिका पठाउने मामिलामा भारतलाई दोषी ठान्यो । स्टालिनकी छोरीजस्ती महत्त्वपूर्ण व्यक्तिको भारत सरकारले ख्याल नगरिदिएको गुनासो थियो सोभियतको ।

स्वेतलाना भारतबाट गएको दुई हप्तापछि प्रधानमन्त्री इन्दिरा गान्धीको दूतका रूपमा भारतीय विदेश सेवाका वरिष्ठ अधिकारी रिखी जयपाल उनलाई भेट्न भनेर स्वीट्जरल्यान्ड गए । यतिन्जेलसम्म स्वेतलानालाई अमेरिकाले रुसबाट स्वीट्जरल्यान्ड पुर्‍याइसकेको थियो । भारतबाट भगाउनमा कुनै भारतीयले मद्दत गर्‍यो कि गरेन भनेर स्वेतलानाकै मुखबाट पुष्टि गराउनु एक मात्र उद्देश्य थियो जयपालको ।

स्वेतलानाले आफ्नो आत्मकथामा लेखेकी छन्, ‘जयपाल आफ्नो साथमा मैले दिनेश सिंहलाई पठाएका पत्र पनि लिएर आएका थिए । मलाई अमेरिका पठाउनमा भारतीयले कुनै पनि प्रकारको सहयोग गरेनन् भन्ने कुरा सही हो । दिनेशले मलाई पठाएका पत्र पनि मैले जयपाललाई दिएँ । यी पत्रका आधारमा भारत मलाई भगाउनमा आफ्नो भूमिका नभएको प्रस्ट पार्न चाहन्थ्यो । त्यसैले मैले ती सबै पत्रमा हस्ताक्षर गरेँ ।’

स्वेतलानाले रुसमा रहेका आफ्ना सन्तानलाई पत्र लेख्ने भए त्यहाँ रहेका भारतीय राजदूतमार्फत पुर्‍याइदिने वाचा गरे जयपालले । ‘मैले आफ्ना बच्चाहरूलाई १५ वटा चिठी लेखेँ । ती चिठीमा मैले आफूले सोभियत संघ छाड्ने फैसला किन गरेँ भनेर लेखेकी थिएँ । मलाई अफसोस छ, इन्दिरा गान्धीका दूतले आफ्नो वाचा पूरा गरेनन् र ती पत्र मेरा बच्चासम्म पुगेनन्,’ स्वेतलानाले आफ्नो आत्मकथामा लेखेकी छन् ।

स्वेतलाना रोमबाट स्वीट्जरल्यान्ड पुगिन्, त्यहाँबाट अमेरिका । उनी अमेरिका पुग्दा न्युयोर्कको जोन एफ केनडी विमानस्थलमा दुनियाँभरका पत्रकारको भीड थियो । विमानस्थलको पत्रकार सम्मेलनामा स्वेतलानाले भनिन्, ‘सोभियत संघ छाड्ने फैसला गर्नु मेरा लागि निकै कठिन थियो । ४० वर्षदेखि बाँचिरहेको त्यो बेकार जिन्दगी जारी राख्न सक्दिनँ । म एक नयाँ जिन्दगी जिउन चाहन्छु । मलाई विश्वास छ, मेरा देशवासीले मेरो भावना बुझ्नेछन् ।’

स्वेतलाना १९८४ मा सोभियत संघ फर्किइन्, तर उनी त्यहाँ लामो समय बस्न सकिनन् । त्यसपछि उनी अमेरिका पुगिन् । अमेरिका पुगेर उनले गरिबी र गुमनाम जीवन बाँचिन् ।

उनले अमेरिकी वास्तुकार विलियम सिटर्ससँग विवाह गरिन् । तर, तीन वर्षपछि उनीहरूको सम्बन्धविच्छेद भयो । २०११ नोभेम्बर २२ मा ८५ वर्षको उमेरमा स्वेतलानाको निधन भयो ।

(बीबीसी हिन्दीको विवेचना शृखंलाका निम्ति रेहान फजलले तयार पारेको सामग्री)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro