site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दुई महिनामा सात अर्ब ५५ करोड रुपैयाँको विद्युत् निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो दुई महिनामा सात अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब दुई करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ ।

प्राधिकरणले साउनमा तीन अर्ब ९९ करोड ५६ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । भदौमा तीन अर्ब ५५ करोड पाँच लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।

साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट भारतर्फ निर्यात गरिएको थियो । भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरिएको छ । दुई महिनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट सात रुपैयाँ ३३ पैसा रहेको छ । साउनको प्रतियुनिट औसतदर आठ रुपैयाँ ११ पैसा थियो भने भदौमा ६ रुपैयाँ ६२ पैसा रहेको छ ।
भदौको तेस्रो साता (१६–२३ गते) मा सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ । सबैभन्दा कम भदौको दोस्रो हप्ता (९–१५ गते)मा ६९ करोड आठ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले चालु आवको दुई महिनामा चार अर्ब ७१ करोड ६३ लाख भारुको विद्युत् बिक्री भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्रहरू र प्रसारणलाइनमा क्षति पुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको बताए । "चालु आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यात लक्ष्य राखेका थियौँ, बाढीपहिरोले जलविद्युत् केन्द्र र प्रसारणलाइनमा क्षति पुर्याउँदा विद्युत् उत्पादन नै बन्द भई लक्ष्य प्रभावितहुने देखिएको छ," कार्यकारी निर्देशक घिसिङले भने ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र विहार राज्यमा बिक्री गरिरहेको छ ।

प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । बाढीबहिरोभन्दा पहिले दैनिक रूपमा नौ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको थियो । हाल दैनिक रूपमा डेढ सय मेगावाटको हाराहारीमा मात्र निर्यात भइरहेको छ । बाढीपहिरोका कारण सञ्चालमा रहेको सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित करिब ७५० मेगावाट विद्युत् उत्पादन बन्द छ ।

गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो । 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro