काठमाडौं । सन् १९६५ मा भारत र पाकिस्तानबीच २२ दिनसम्म चलेको युद्ध निर्णायक भएन । युद्धमा भारतको पल्ला भारी थियो । तर, पाकिस्तानसँग कति हतियारको कमी भइसक्यो भन्ने गुप्त जानकारी भारतसँग थिएन ।
उक्त सेप्टेम्बर २२ मा युद्धविराम घोषणा हुने दिनसम्म पाकिस्तासँग भएका लगभग सबै गोलीगट्ठा समाप्त भइसकेका थिए । पाकिस्तानसँग हतियार आपूर्तिको कुनै सम्भावना थिएन । किनभने, अमेरिकाले पाकिस्तानलाई हतियार दिन प्रतिबन्ध लगाइसकेको थियो ।
‘रअ’का पूर्वप्रमुख संकरन नायरले आफ्नो किताब ‘इनसाइड आईबी एन्ड रअ : द रोलिङ स्टोन द्याट ग्यादर्ड मास’मा लेखेअनुसार, भारतका तत्कालीन सेनाध्यक्ष जनरल जेएन चौधरीले रक्षामन्त्री यशवन्त राव चव्हाणलाई भारतीय सेनाले पाकिस्तानमाथि निर्णायक जित हासिल गर्न नसक्नुको कारणमा पाकिस्तानी सेनाबारे खुफिया जानकारीको अभाव भएको रिपोर्ट बुझाएका थिए । त्यतिन्जेलसम्म यस्तो जानकारी जुटाउने काम आईबी (इन्टेलिजेन्स ब्युरो)का काम नलाग्ने जाससुको थियो ।
आईबीको आलोचनाको नतिजा के भयो भने, भारतले नयाँ गुप्तचर संस्था रिसर्च एन्ड एनालिलिस विङ (रअ) स्थापना गर्ने निर्णय गर्यो । ‘रअ’लाई देशबाहिरका गोप्य जानकारी संकलन गर्ने जिम्मा दिइयो ।
रिलेटिभ एन्ड एसोसिएट्स वेलफेयर एसोसिएसन
सन् १९६८ सेप्टेम्बर २१ मा ‘रअ’को स्थापना गरियो । रामेश्वरनाथ काव यसका पहिलो प्रमुख भए । संकरन नायरलाई दोस्रो नम्बरमा राखियो । यसबाहेक २५० जनालाई ‘आईबी’बाट ‘रअ’मा सरुवा गरियो ।
सन् १९७१ पछि रामनाथ कावले कलेज र विश्वविद्यालयबाट ‘रअ’ एजेन्ट छान्ने अभ्यास सुरु गरे । यो अभ्यासको नतिजा के भयो भने, ‘रअ’मा काम गर्ने कर्मचारीका नातेदार, साथीभाइले मात्र जागिर पाउन थाले । त्यसपछि ‘रअ’लाई गिज्याउँदै ‘रिलेटिभ एन्ड एसोसिएट्स वेलफेयर एसोसिएसन’ भन्न थालियो । तर, १९७३ पछि यो अभ्यास बन्द गरियो ।
त्यसपछि कडा प्रतिस्पर्धा र परीक्षा लिन थालियो । नितिन गोखले आफ्नो किताब ‘आरएन काव, जेन्टलम्यान स्पाइमास्टर’मा लेखेका छन्, “पहिलो टेस्ट मनोवैज्ञानिक टेस्ट थियो । उमेदवारलाई बिहान ३ बजे एक स्थानमा आउन भनिन्थ्यो, त्यहाँ पुगेपछि उनीहरूको अब्जेक्टिभ टेस्ट लिने गरिन्थ्यो । यो टेस्ट पास गर्नेहरूलाई अन्तर्वार्ताका निम्ति बोलाइयो र अन्तर्वार्ता संयुक्त सचिवले लिन्थे ।”
सन् १९७३ मा ‘रअ’मा छानिएका र अतिरिक्त सचिव पदबाट रिटायर भएका जयदेव रानाडे भन्छन्, “मेरो पहिलो चरणको अन्तर्वार्ता ‘रअ’का वरिष्ठ अधिकारी एनएन संन्तुक र संकरन नायरले लिए । यो अन्तर्वार्ताबाट छानिएपछि हामीले फेरि ६ सदस्यीय छनोट समिति सामना गर्नुपर्यो । यो समितिमा विदेश सचिव, ‘रअ’ प्रमुख आरएन काव र एक मनोवैज्ञानिक सामेल थिए ।” अन्तर्वार्ताको दुई महिनापछि उनलाई ‘रअ’मा छानिएको सूचना दिइयो ।
‘रअ’को विशेष सचिव पदबाट रिटायर भएका राणा बैनर्जी भन्छन्, “त्यसपछि १९८५ देखि १९९० सम्म रअमा यसरी केही अरू मानिस भर्ती गरियो । पछि अज्ञात कारणले गर्दा यसरी भर्ना गर्ने अभ्यास रोकियो । अचेल ९५ प्रतिशतभन्दा बढी मान्छे भारतीय प्रहरीबाट आउँछन् । आार्थिक इन्टेलिजेन्सको काम हेर्नका निम्ति भन्सार र आयकर सेवाबाट केही मानिसलाई भर्ती गरिन्छ ।”
प्रहरीबाट ‘रअ’मा ल्याउँदासम्म मान्छेको उमेर कम्तीमा ३० वर्ष पुगिसकेको हुन्छ । ‘रअ’का पूर्वप्रमुख विक्रम सूदले आफ्नो किताब ‘द अनइन्डिङ गेम’मा लेखेका छन्, “३० वर्ष वा त्यसभन्दा बढी उमेरका व्यक्तिले आफूलाई नयाँ पेसामा समायोजन गर्न मुस्किल हुन्छ ।”
उनले आफ्नो किताबमा लेखेका छन्, “गुप्तचर एजेन्सीमा प्रहरीबाट मान्छे भर्ती गर्नु अब सफल साबित रहेन । गुप्तचरी पेसामा भाषाको कौशल र जानकारी धुत्न सक्ने कलाले निकै अर्थ राख्छ । यस्तो कामका निम्ति प्रहरीलाई प्रशिक्षित गराइँदैन । गुप्तचर आर्थिक, साइबर, वैज्ञानिक र सामरिक क्षेत्रमा माहिर हुनुपर्छ, यस्ता विषयको तालिम आईपीएस अधिकारलाई दिइँदैन ।”
कस्तो तालिम दिइन्छ ‘रअ’का जासुसलाई ?
‘रअ’मा छानिएका व्यक्तिलाई गोप्य जानकारी हासिल गर्ने आधारभूत तालिम दिइन्छ । उनीहरूलाई कुनै एक विदेशी भाषामा निपुण बनाइन्छ । आधारभूत तालिमपछि उनीहरूलाई ‘फिल्ड इन्टेलिजेन्स ब्युरो’को साथमा राखिन्छ । फिल्ड इन्टेलिजेन्स ब्युरोमा उनीहरूलाई अत्यन्तै चिसोमा कसरी काम गर्ने भनेर सिकाइन्छ । कसरी घुसपैठ गर्ने, पक्राउ पर्नबाट कसरी जोगिने, पक्राउ परिहालेमा आफूलाई सोधिएका प्रश्नको जवाफ कसरी दिने र नयाँ–नयाँ व्यक्तिसँग कसरी सम्पर्क स्थापित गर्ने भनेर सिकाइन्छ ।
‘फिल्ड’मा जानुभन्दा अघि उनीहरूलाई आत्मरक्षाका निम्ति इजरायली मार्सल आर्टको तालिम दिइन्छ ।
राणा बैनर्जी भन्छन्, “विदेश जानुअगाडि उनीहरूलाई यस्ता चिज सिकाइन्छन्, जुन पछि काम आउन सक्छन् । जस्तो, एक जमानामा ‘डेड लेटर बक्स’को कुरा हुन्थ्यो । तपाईं कुनै रुखको फेदमा कागज राख्नुहुन्छ, त्यहाँबाट अर्को मान्छेले त्यो कागज लैजान्छ । कागज राख्ने र लिएर जाने बेला त्यहाँ चिह्न लगाउनुपर्छ, कोड भाषा पनि सिकाइन्छ ।”
दूतावासमा ‘अन्डरकभर’ तैनाथ
विश्वका सबै देशले आफ्ना दूतावासलाई जासुसको गोप्य अफिसका रूपमा प्रयोग गर्छन् । ‘रअ’का एजेन्ट पनि प्रायजसो विदेशमा रहेका भारतीय दूतावासमा तैनाथ गरिन्छन् । धेरैजसो उनीहरू नक्कली नाममा त्यहाँ रहेका हुन्छन् ।
खोज पत्रकार यतीश यादवले आफ्नो किताब ‘रअ अ हिस्ट्र अफ इन्डियाज कोभर्ट अपरेसन्स’मा लेखेका छन्, “खासमा उनीहरूको असली नाम सिभिल सेवाको लिस्टमा हुन्छ । एकपटक रअमा काम गरिरहेका विक्रम सिंहलाई विशाल पण्डित बनेर मस्को जानु परेको थियो । उनको परिवारका सदस्यले पनि आफ्नो नाम बदल्नुपर्यो । विदेशमा तैनाथका दौरान उनको बच्चा जन्मियो र बच्चाको थर पनि नक्कली राखियो । पछि त्यो थर आजीवन बच्चाको नामसँग जोडिन पुग्यो ।”
‘रअ’का प्रमुख रहिसकेका अमरजीत सिंह दुलत एक रोचक किस्सा सुनाउँछन्, “हाशिम कुरैशी नाम गरेको हाम्रो एक कश्मिरी साथी छ । हाशिम कुरैशी तिनै हुन्, जसले पहिलोपटक भारतको विमान अपहरण गरेका थिए । त्यो मान्छे देशबाहिर कतै भेटियो, भेटमा हामीले हात मिलायौँ र मैले मेरो नाम दुलत हो भनेँ । अनि, उसले भन्यो– त्यो त ठिक छ, मलाई तपाईं आफ्नो सही नाम भन्नुहोस् । मैले हाँस्दै भनेँ– कहाँबाट ल्याऊँ असली नाम ? मेरो असली नाम यही हो । पछि उसले मलाई भन्यो– तिमी नै हौ, जसले आफ्नो सही नाम सुनायो ।”
पहिचान खुल्ने र देश निकाला हुने डर
यी सबका बाबजुद पहिचान खुल्ने डर सधैँ हुन्छ । पेसेवर जासुसको परिचय निकै छिटो थाहा हुन्छ । राणा बैनर्जी भन्छन्, “भारत र पाकिस्तानबीच एक कूटनीतिक प्रोटकल बनेको छ । त्यो प्रोटोकलानुसार एक देशले अर्को देशमा पठाउने गुप्तचर एजेन्सीका मान्छेको नाम पहिले नै पठाउने गरिन्छ । यसरी हामी एकार्कासँग नराम्रो व्यवहार गर्ने छैनौँ भन्ने तय गरिन्छ । यदि, कसैले तोकिएको सीमाभन्दा बाहिर काम गर्छ भने उसलाई फिर्ता बोलाउने गरिन्छ ।”
‘रअ’ र ‘आईएसआई’को तुलना
आईएसआई पाकिस्तानको गुप्तचर एजेन्सी हो । त्यसैले यसको तुलना ‘रअ’सँग हुनु स्वाभाविक हो । ‘रअ’का प्रमुख रहिसकेका विक्रम सुदले आफ्नो किताब ‘द अनइन्डिङ गेम’मा लेखेका छन्, “दुवै एजेन्सीको तुलना गर्दा रअलाई मान्छे पक्राउ गर्ने अधिकार छैन । यसले आधा रातमा ढोका ढकढक्याउँदैन । र, देशभित्र जासुसी गर्दैन । आईएसआईले यी सबै काम गर्छ । रअ देशका प्रधानमन्त्रीप्रति उत्तरदायी छ भने आईएसआई सेनाध्यक्षलाई रिपोर्ट गर्छ ।”
‘आईएसआई’को इतिहास ‘रअ’भन्दा निकै पुरानो हो । यसको स्थापना सन् १९४८ मा ब्रिटिस सेनामा काम गरिरहेका एक अस्ट्रेलियन अफिसर मेजर जनरल वाल्टर जोजेफले गरेका थिए ।
‘रअ’का प्रमुख रहिसकेका एएस दुलत भन्छन्, “आईएसआईको चिफ रहिसकेका असद दुर्रानी भन्ने गर्थे– तपाईंका रअवालाहरू हाम्राभन्दा धेरै चलाख छन् । हामीकहाँ जो आउँछन् ती अधिकांश फौजी हुन्छन्, हल्ला धेरै गर्छन् । मेरो आकलन के हो भने, हामी आईएसभन्दा कम छैनौँ । मलाई पाकिस्तानमा पनि रअ उत्कृष्ट कि आईएस भनेर प्रश्न सोधिएको थियो । जवाफमा मैले भनेको थिएँ– यदि, दुर्रानी साहेबलाई हामी (रअ) उत्कृष्ट लाग्छ भने म पनि मान्छु । त्यसपछि मैले के पनि भनेँ– आईएसआई निकै ठूलो एजेन्सी हो । यदि, म यति ठूलो एजेन्सीको चिफ हुन्थेँ भने, यो सुनेपछि मान्छेहरू गलल हाँसे ।”
‘रअ’ अधिकारीको निगरानी
‘रअ’ र ‘आईएसआई’बीच होडबाजी भएका किस्सा निकै चचित छन् । राणा बैनर्जी सम्झिन्छन्, “म १९८४ देखि १९८८ सम्म पाकिस्तानमा पोस्टेड थिएँ । हाम्रो साथमा हरसमय आईएसआईका मान्छे हुन्थे । उनीहरू हाम्रो घरको ठिक अगाडि बस्थे । बिहान साढे ७ देखि साँझ ८ बजेसम्म उनीहरूको सिफ्ट हुन्थ्यो ।”
बैनर्जी सम्झिन्छन्, “हामीलाई के तालिम हुन्थ्यो भने, तपाईंमाथि निगरानी गर्ने मान्छेको ग्याप्स हेर्नुपर्छ, अनि त्यहीअनुसार आफ्नो काम गर्नुपर्छ । एकचोटि उनीहरू मेरो पिछा गरिरहेका थिए, मैले पनि डाइभर्सन रुट लिएर आफ्नो गाडी रोके । मेरो गाडी नदेखेपछि उनीहरूले आफ्नो गाडी मेरो घरतिर मोेडे । म घरमा थिइनँ, अनि फर्कने बेला उनीहरूले मलाई आफ्नो गाडीबाट आउँदै गरेको देखे । मैले पनि उनीहरूलाई चिढ्याउन भनेर आफ्नो हात हल्लाएँ । यो देखेर उनीहरू निकै लज्जित भए ।”
‘रअ’का प्रमुख रहिसकेका संकरन नायरले आफ्नो आत्मकता ‘इनसाइड आईबी एन्ड रअ ः द रोलिङ स्टोन द्याट ग्यादर्ड मास’मा लेखेका छन्, “१९६० र ७० को दशकमा खान अब्दुल गफ्फारका छोरा वली खाँ लन्डनमा निर्वासित जीवन बिताउँदै थिए । उनी पाकिस्तानका नयाँ प्रधानमन्त्री बनेका भुट्टोका चर्को विरोधी थिए । उनी राजनीतिक र नैतिक समर्थनका निम्ति इन्दिरा गान्धीलाई एक सन्देश पठाउन चाहन्थे । मलाई उनलाई भेट्नू भनेर भनियो ।”
नायरले लेखेका छन्, “यो भेटघाट कुनै अर्को देशमा हुनुपर्ने थियो, किनकि लन्डनमा पनि पाकिस्तानी दूतावास उनीमाथि निगरानी गरिरहेको थियो । म पहिले लन्डन गएँ । त्यहाँबाट डेनमार्कको राजधानी कोपनहेगन गएँ । कोपनहेगनमा नास्ता गरिरहेका बेला मैले मेरो पछाडि टेबलमा केही मान्छेले उर्दु बोलेको सुनेँ । मलाई शंका भयो, यी मान्छे आईएसआईका एजेन्ट हुन् भनेर । मेरो शंका त्यतिखेर विश्वासमा बदलियो, जब उनीहरू प्यासेजमा मलाई र वली खाँको खोजी गर्न थाले ।” त्यसपछि नायरले तुरुन्तै भेटघाटको स्थान परितर्वन गरे । भारत फर्केर नायरले वली खाँको सन्देश प्रधानमन्त्री इन्दिरा गान्धीलाई सुनाए ।
कुराकानी ‘ट्याप’ गर्ने प्रयास
पाकिस्तानमा ‘रअ’का जासुसको फोन हरदम ‘ट्याप’ हुन्छ । जासुसका परिवारको फोन कुराकानी पनि सुन्ने गरिन्छ ।
राणा बैनर्जी अर्को किस्सा सुनाउँछन्, “इस्लामाबादमा हाम्रो एक वेटर थियो । उसको एक कमजोरी के थियो भने, ऊ रक्सी सर्भ गर्नुअगाडि आफैँ एक प्याक लगाउँथ्यो ।”
यही कारण बैनर्जीले ऊमाथि कडा नजर राखेका थिए । उनले लेखेका छन्, “एकचोटि मैले उसलाई अचम्मको पोजिसनमा उभिएको देखेँ । ऊ आफ्नो खुट्टाले केही चिज टेबलमुनि छिराउँदै थियो । सानो सलाईको बट्टाजत्रो हियरिङ डिभाइस राख्दै थियो । अनि, मैले त्यो डिभाइस बन्द गरेर अलग्गै राखे । त्यहाँ केही भएको छैन जस्तो गरेर पार्टी चलिरह्यो । पछिल्ला दिन हाम्रा राजदूतले पाकिस्तानको विदेश मन्त्रालयमा यसको गुनासो गरे ।”
विश्वका कुनै पनि जासुसको जसरी ‘रअ’का जासुसको छातीमा समेत कुनै तक्मा लागेको छैन । निकै कम मानिसलाई थाहा छ, कारगिल युद्धका दौरान पाकिस्तानबाट आएका घुसपैठ गर्नेहरूविरुद्ध सीमामा रहेका ८० जनाले पहिलो सफल युद्ध लडेका थिए । यीमध्ये केही मानिस फिर्ता भएनन्, जसको नाम कहिल्यै सार्वजनिक गरिएन ।
यतीश यादवले आफ्नो किताब ‘रअ हिस्ट्री अफ कोभर्ड अपरेसन्स’मा लेखेका छन्, “कारगिलको लडाइँपछि रअका ती मान्छे चुपचाप उभिरहे, जसले आफ्ना साथीभाइ यो लडाइँमा गुमाएका थिए । ‘रहमान’ कोड नाम दिइएका एक जासुसले रअका उच्च अधिकारीसँग लडाइँमा मारिएका आफ्ना साथीको बलिदान र योगदान सार्वजनिक गर्न भने । यो कुरा तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार र प्रधानमन्त्रीका मुख्यसचिव ब्रजेश मिश्रासम्म पुग्यो, उनी यो कुरा सुनेर रिसाए ।”
त्यसपछि यो कुरा प्रधानमन्त्री अटल बिहारी वाजपेयीसम्म पुग्यो । प्रधानमन्त्री निवासको एक बन्द कोठामा कारगिल युद्धमा मारिएका ती १८ ‘रअ’ अफिसरका नाम र उनीहरूले युद्धमा गरेको चमत्कारको चर्चा गरियो । ‘रअ’को इतिहासमा पहिलोपटक ती योद्धालाई खास पदक दिइयो ।
वाजपेयीले ‘रअ’का उच्च अधिकारीसँग हात मिलाएर ती गुमनाम वीरको बलिदानका निम्ति आभार प्रकट गरे । तर, यो समारोहको कतै रेकर्ड राखिएन । न यो समारोहका बारेमा हालसम्म कुनै समाचार सार्वजनिक भयो ।
(बीबीसी हिन्दीका निम्ति रेहान फजलले लेखेको सामग्रीको भावानुवाद)