‘मुगलान’ उपन्यास सम्झनेबित्तिक्कै पूर्वी पहाडको दृश्य मेरो दिमागमा घुम्न थाल्छ । म आफू पनि त्यतैको भएर होला, त्यो कथा आफ्नै लाग्छ । अझ मुगलानका लेखक जोडिन पुग्छन् दिमागमा गोविन्दराज भट्टराई । यो नामसँगै मेरो मनमस्तिष्कमा एउटा योग्य शिक्षण कला भएको गुरुको विम्ब उभिन्छ ।
म सम्झन्छु, २०३४ सालको कुरा । हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा दशमा पढ्दै थिएँ । अर्धवार्षिक परीक्षा सकिएर मीनपचासको छुट्टी भएको थियो । हामी किसानका छोराछोरी मीनपचासको छुट्टीमा खेती किसानी काम गर्न घरमा जानुपर्थ्यो । म पनि खेती गर्न विराटनगरपूर्वमा अवस्थित रन्जनी गाउँमा गएको थिएँ । खेती सक्दा नसक्दै मीनपचासको छुट्टी सकियो । मलगायत सबै विद्यार्थी साथीभाइ स्कुल फर्कियौँ ।
हरिबाबु भट्टराई र शेरसिंह सुब्बा अंग्रेजी शिक्षक थिए । हरिबाबु भट्टराई न्याय सेवा पास गरेर सरकारी जागिरमा गए । उनका ठाउँमा तोपगाछीबाट विदुर खतिवडा सरुवा लिएर आए ।
मीनपचासको छुट्टी सकेर स्कुल फर्किनासाथ थाहा भयो, शेरसिंह सुब्बा माईपूर्व कुनै स्कुलमा सरुवा भएर गएछन् । यसले प्रवेशिका तहका हामी विद्यार्थीलाई सकसमा पार्यो । ‘नहुनु मामा भन्दा..’ भनेजस्ता थिए शेरसिङ सुब्बा । टेस्ट परीक्षा आउनै लागेको थियो । त्यसताका प्रायः विद्यार्थीहरू टेस्ट वा प्रवेशिका परीक्षामा अंग्रेजी, गणित वा विज्ञानमध्ये कुनै एक वा बढी विषयमा असफल हुन्थे ।
अर्काे सेक्सनका साथीभाइ नियमित पढाइमा थिए । हाम्रो सेक्सनमा कहिले दाजु तुलसीप्रसाद खरेल त कहिले हेडसर छविलाल शर्मा सिटौलाले अंग्रेजी पढाउन थाल्छन् । नियमित एकजना शिक्षकको सट्टा बेलाबखत भिन्नै शिक्षकले पढाउँदाको अप्ठेरोले हाम्रो सेक्सनका विद्यार्थीहरूलाई सकसमा नै पारेको हुन्छ ।
यसैबीच, एक दिन प्रधानाध्यापक छविलाल शर्मा सिटौलासितै दुब्लोपातलो तर हँसिलो अनुहारको, ओठमाथि बाक्ला जुँगा पालेको एकजना सुन्दर मानिस पनि कक्षाकोठामा छिर्छन् । धेरै विद्यार्थीको मुखबाट एकैचोटि ओहो, कमल हसन... शब्द खुस्किन्छ !
उप्रान्त कक्षाको माहोल अर्कै बन्छ । त्यसताका कमल हसन हिन्दी सिनेमाको नायकमा निकै जमेका हुन्छन् । प्रधानाध्यापक छविलाल शर्मा सिटौलाका साथ कक्षामा प्रवेश हुने कमल हसनजस्ता व्यक्ति नै अंग्रेजी शिक्षक गोविन्दराज भट्टराई रहेछन् । उनै गोविन्दराजले हामीलाई करिब तीन महिना अंग्रेजी पढाए ।
नयाँ शिक्षाको प्रवेशिका परीक्षा दिने हामी तेस्रो (ब्याजी) वर्षका परीक्षार्थी थियौँ । विशेषतः अमेरिकन एडमा चलेको नयाँ शिक्षामा अंग्रेजी विषय नयाँ ढाँचाले सिकाइ गर्ने मात्र होइन, उच्चारण पनि नयाँ ढाचाले नै गर्नुपर्ने हुन्थ्यो । त्यसका निम्ति शिक्षकले तालिम लिएको हुनुपर्थ्यो । यसरी नयाँ शिक्षा प्रणालीअनुरूप अंग्रेजी तालिम लिएका हरिबाबु भट्टराईले जागिर छोडेको अवस्था र शेरसिङ सुब्बा पनि सरुवा भई गएका कारण गोविन्दराज भट्टराईको उपस्थितिले निकै आशा जगायो ।
गोविन्दराज भट्टराई शिक्षकका रूपमा मलाई यस्तो लाग्थ्यो, विषयको गहिरो ज्ञान भएको । विषयवस्तुमा केन्द्रित रहने, विभिन्न प्रकारले बुझाउने । थोरै बोलेर धेरै बुझाउने क्षमता थियो उनमा । विद्यार्थीलाई आकर्षण गर्न उनको उच्चारण विधि सहयोगी बन्थ्यो । यो उच्चारण विधि उनले स्कुल पढ्दैताका आदर्श विद्या मन्दिर हाई स्कुल घैलाडुवामा बेलायती शिक्षकबाट र बीएड अध्ययन गर्दा कीर्तिपुर क्याम्पसबाट प्राप्त गरेको सीप रहेछ ।
मलाई लाग्छ, गोविन्दराज भट्टराई अंग्रेजी शिक्षकका रूपमा विद्यार्थीबीच खुब रुचाइएका शिक्षक थिए । दमकमा त्यतिखेर विद्यार्थीमण्डलको हालीमुहाली थियो । त्यस्तो माहोलमा पनि गोविन्दराज भट्टराई रुचाइए । यो रुचाइनुमा कसैको आशीर्वाद थिएन, उनकै योग्यता थियो ।
अझ गोविन्द सरले त उपन्यास पनि लेखेका छन् रे भन्ने गाइँगुइँ हल्ला चल्यो । उपन्यासको नाम ‘मुगलान’ रे ! अरू कुनै शिक्षकले पनि त्यसताका उपन्यास, कथा, निबन्ध लेखेर प्रकाशन गरेको थाहा नपाएका हामी विद्यार्थीको नजरमा उनी ह्वात्तै माथि पुगे ।
मैले पनि प्रवेशिका परीक्षापछि रन्जनी खेतीमा बस्दा रंगेलीको युवा पुस्तकालयबाट ‘मुगलान’ उपन्यास ल्याएर पढ्न पाएँ ।
आज समय धेरै बितिसकेको छ । गोविन्दराज भट्टराई लामो समयसम्म त्रिभुवन विश्वविद्यालयमा शिक्षण पेसामा रहे । डाक्टर र प्राध्यापक उपाधि पाए । यतिखेर निवृत्त भएर साहित्य साधनामा छन् । विभिन्न विधामा गरेर उनका ७० भन्दा बढी पुस्तक प्रकाशित छन् । आज गोविन्दराज भट्टराईको नाम आउनासाथ साहित्यको एउटा सिंगो धुरी उभिएको बोध हुन्छ ।
म यो उपन्यासबारे पुनः जिज्ञासु छु । उपन्यासको छैटौँ संस्करण निस्किसकेको छ । अझ यसको अंग्रेजी अनुवाद विश्वविद्यालयमा एमएडको पाठ्यपुस्तकमा समावेश गरिएको रहेछ । यो अंग्रेजीबाहेक आसामी र बंगाली भाषामा पनि अनुवाद भएछ । लेखनाथ शर्मा पाठकले अंग्रेजीमा, छत्रमान सुब्बाले आसामीमा र मुक्ति बरालले बंगाली भाषामा अनुवाद गरेका रहेछन् ।
गोविन्दराज भट्टराईका धेरै पुस्तकहरूको चाङबाट आज फेरि ‘मुगलान’ उपन्यास उठाउन मन लाग्छ र ‘मुगलान’ पढ्न थाल्छु म ।
भट्टराईको ‘मुगलान’ पढ्दा लाग्छ, त्यस क्षण मेरै पहाडका आफैँले चिनेका माथ्ला घरका वा तल्ला घरका, वल्ला घरका वा पल्ला घरका जहरे, मिकलन्दे, भोटे वा मोटेको नाम फेरेर ठूले र सुतारकान्छो नाम राखिएको जस्तो । वारिपारिका बुद्धिमाने, अमरेहरूका कथाव्यथा बोकेर शेखर कार्की हिँडेको बोध हुन्छ ।
उपन्यासको कथावस्तु र यसका पात्रहरूको भूमिका यति जीवन्त लाग्छ, मानौँ गाउँसमाजका आर्थिक विपन्न परिवार वा व्यक्तिले आर्थिक जीवन सहज बनाउन लाहुर जाने गरेका कतिपय सन्दर्भ सम्झाएको होस् ।
म सानो छँदाको कुरा, हरेक वर्ष हिउँदमा युवा छाती र उँचाइ नाप गराउन गल्लावालाकहाँ लाम लाग्थे । कोही भर्तीमा लाग्थे, कोही यसै फर्किन्थे । भर्ती गएका कोही ढाकरमा ठूलठूला बाकस भरियालाई बोकाएर ठूलो ब्याग बोकेर बेग्लै पहिरनमा च्युँडोमा छड्के टोपी डोरीले अड्याएर कालो चस्मा लगाएर बेग्लै पारामा गाउँमा आउँदा लाहुरे आएको सन्देश पाँच गाउँ टाढा फैलिन्थ्यो । लाहुरे हेर्नेहरूको भीड लाग्थ्यो । घरको दैलामाथि झुन्ड्याइएका सुन्दर आकर्षक तस्बिरले नै पनि लाहुरेको हैसियत बोलेको हुन्थ्यो ।
लाहुरे आएपछि बाबुले खाएको ऋृण चुक्ता हुन्थ्यो । तल्लो खेत वा माथ्लो बारीमध्ये एउटा थपिन्थ्यो । गाउँटोल, समाजमा लाहुरेका कारण परिवारको इज्जत र हैसियत ह्वात्तै माथि पुग्थ्यो । हो, यही प्राप्तिका लागि लाहुर जान्थे रे युवाहरू !
लाहुर गएका युवामध्ये कोही यसरी फर्कन्थे, घरपरिवारमा रमाइलो खुसी जम्थ्यो । रवाफ हुन्थ्यो । कोहीले लडाइँमा सहादत प्राप्त गर्थे । सहादत हुनेका घरमा रोइलो चल्थ्यो । तर पनि पेन्सन र अरू सुविधाले विस्तारै दुःख बिर्सन्थे । कोहीकोही बाटो बिराएर मानव तस्करहरूको चंगुलमा फस्थे क्यार ! उनीहरू कता छन् ? थाहा पत्तो हुँदैन थियो ।
घरपरिवारका सदस्य आँसुले आँखा भिजाउँथे, विस्तारै आँसु निख्रिन्थे क्यार ! आँखा सुकाउँथे, बिर्सन्थे हराएका युवालाई । हो, यस्तै लाहुर जाने नामको बाटो र प्रक्रिया बिराएका युवाहरूको सजीव कथा हो, ‘मुगलान’ भन्ने लाग्छ मलाई ।
मुग्लान भन्नेबितिकै एउटा विम्ब आँखाअगाडि नाच्न आइपुग्छ ।
मुगलान शब्दको अर्थका विषयमा डा. चन्द्रशेखर दुवे, इम्फाल यसै उपन्यासको विषयमा लेख्छन्, ‘सन् १७५० सम्म बंगाल, बिहार र उत्तर प्रदेशको समस्त भूभाग मुगल सम्राज्य अथवा नबाबहरूको अधिपत्यमा भएकोले मुगलानको नाममा प्रसिद्धि थियो । यसैकारण नेपालको दक्षिणी सिमास्थित भारतीय प्रदेश आज पनि मुगलानको नाउँमा जानिन्छ ।’
परिभाषाअन्तर्गत मुगलान जे जसरी जानिएकोे भए पनि नेपालका पूर्वी पहाडभित्र मुगलान भनेको आफ्नो जानपहिचानबाहिर अथवा घरगाउँठाउँभन्दा अलि पर अर्काको देशमा वा भनूँ विरानो देशलाई बुझिने गर्छ ।
मुख्यतः मुगलान जानु भनेको अर्काे अर्थमा लाहुर पनि हो । आर्थिक उपार्जन गरेर भइरहेको दारुण आर्थिक जीवनस्तरलाई टेवा दिने वा अलि मजबुत बनाउने उद्देश्यले घरको सरसल्लाहमा वा आफ्नो मनखुसी घरपरिवार छोडेर विदेशिने काम नै मुगलान जाने भन्ने बुझिन्छ ।
मुगलान उपन्यासका मूल पात्रमध्ये ठूले र सुतार कान्छो एउटै गाउँ नेपालको पूर्वीउत्तर च्याङथापुबाट अरू गाउँलेसँग घरगोठमा भएको घिउ बोकेर दार्जेलिङ लाग्छन् । उद्देश्य घिउ बेचेर आवश्यक घरायसी सामान नुनतेलको जोहो गर्ने हुन्छ । बचेखुचेको पैसा नगदै लिएर फर्कने अभीष्ट जोडिएको हुन्छ ।
यो कथाका पात्रझैँ मेरा हजुरबुवा गोविन्द खरेलले पनि फावाखोला, ओसेबाट थुप्रै घिउका टिन बोकाएर बिजनबारी र दार्जेलिङ लाने गरेका थिए रे ! बिक्री–वितरणबाट प्राप्त नगदले घरायसी सामान ल्याउने गरेको हुन्थ्यो रे ! बाँकी नगद ल्याएर गाउँमा हुने आर्थिक अभावको गर्जाे टार्ने गरेको कुरा मेरी हजुरआमाले सुनाउनुहुन्थ्यो । त्यही व्यवसायका कारण हजुरबुवाको उपनाम घिवाला हुन गएको रे ! आज पनि त्यस क्षेत्रका मानिसले हामीलाई घिवालाका नाति, पनाति, नातिनी, पनातिनी भनेर चिन्छन् ।
तत् समाजको यो एउटा नियमित कार्य नै हुन्छ । त्यही कार्यअन्तर्गत यस उपन्यासका पात्र ठूले र सुतार कान्छोलगायत अन्य गाउँले च्याङथापुबाट घिउको टिन बोकेर दार्जेलिङ पुग्छन् । बिक्री गर्छन् । आवश्यक नुन र मट्टीतेललगायत सामान किन्छन् । बचेको नगद लिएर घर फर्कन्छन् । त्यस समूहबाट दुईजना युवा छुट्छन्, हराउँछन् । पर्खेर साध्य नभएपछि अरूहरू घर फर्कन्छन् ।
ती दुई अथवा ठूले र धामी बाबैको छोरो सुतार कान्छो सँगै आएका गाउँले जमातलाई छोडेर ट्रकमा चडेर हुइँकिन्छन् । यिनीहरूको दिमागमा ‘लाहुर’ भन्ने शब्द र अर्थको सुन्दर विम्बले आकर्षण गरेको हुन्छ । उनीहरूले पहिलोपटक रेल देख्छन् । अचम्म मान्छन्, रोमाञ्चित हुन्छन् ।
मनमनै कल्पे हुन्, लाहुर भनेको लाहुर हो ! हाम्रो गोठ र घरजस्तो मात्र कहाँ हो र ! यही मनोगत रोमान्सले उनीहरूलाई सिलिगुरी पुर्याउँछ । घिउ बेचेका ३ कोरी (६०) रुपैयाँमध्ये एक कोरी अर्थात् २० रुपैयाँ प्रतिव्यक्ति ट्रकवालाले छिन्छ । लुटिनेक्रमको पहिलो सुरुआत यहीँबाट हुन्छ ।
दार्जिलिङबाट सिलिगुरी जानलाई त्यो पनि ट्रकमा यति धेरै पैसा लाग्ने कुरै हुन्न । आफू नजान्नु र आफ्नो जान्ने मानिस कोही नहुनु, विरानो देशमा जसले जे भन्छ त्यही मान्नु अज्ञानीको विवशता बन्छ । उनीहरूले जिउको २० रुपैयाँका दरले पैसा बुझाउँछन्, ट्रकमा चढेबापत ।
मनमा लाहुर के हो ? मुगलान के हो ? को कुनै परिभाषिक जानकारी नहुनाले नै मानिस मानव तस्करको फेला पर्ने गर्छन् । यहाँ पनि ठूले र सुतार कान्छाको अवस्थाले तिनलाई मानव दलालले नजानिँदो रूपमा घेराबन्दी गर्दछन् । उनीहरूको गोजीमा भएको रकम पकेटमारले चट बनाइदिन्छ । अब उनीहरू बेखर्ची बन्न पुग्छन् । खर्च नभएपछि मानिस अप्ठेरोमा पर्छ । अभर परेको मानिसको मनमा कतैबाट निकासको कुनै सानो उज्यालो किरण प्राप्त होला कि भन्ने कल्पना हुनु स्वाभाविक हुन्छ । ठूले र सुतार कान्छाको अभावले बोलिरहेको परिवेश आफ्नै नेपाली भाषी रिक्साचालकले नियालिरहेको हुन्छ । त्यही रिक्साचालकको भरोसा गर्दा यी दुई सुधा प्राणी अर्काे दलाल रनुका हातमा पर्छन् ।
यो परिघटना पढ्दा मलाई सम्झना हुन्छ विगतको । हामी पहाडमा थियौँ । हाम्रा घरमा बाख्राभेडा प्रशस्त हुन्थे । खरिदेहरू आएर हरेक खसीबोकाको मोल लगाउँथे । हजुरआमाले मोल तोक्नुहुन्थ्यो । खरिदे र हजुरआमाको निकै बेर दरदाममा रस्साकस्सी चल्थ्यो । अन्त्यमा एउटा रेटमा मिलन हुन्थ्यो ।
ती खरिदेहरूले बोकाखसी किनेजस्तो, हाम्री हजुरआमाले बेचेजस्तो ‘मुगलान’ उपन्यासका पात्र ठूले र सुतार कान्छो अन्जानमै खसीबोकाजस्तो भएर रनु खरिदेकहाँ बिक्री हुन पुग्छन् ।
प्लेटफारमको कुनादेखि केही परै उभिएर रिक्सावालाले त्यो मानिसलाई भन्यो, “बीस रुपयाँ गोटा ।”
तर्छेजस्तो गर्दै त्यो मानिसले रिक्सावालालाई भन्यो, “तँलाई बीस ?”
रिक्सावालाले केही नरम भएर उत्तर दियो, “दुई दिन भयो मैले नै नयाँबजारबाट ल्याएर राखेको ।”
“...त्यो त मेरो दाहिने हातको खेल भयो, पन्द्र त गल्दिनँ ।”
“भैगो दुवैको गरी जम्मा बीस दिन्छु, लिएर जा ।” (पृष्ठ १९)
अन्तिम मोलपछि सुतार कान्छो र ठूले खरिदे रनुको हातमा बेचिन्छन्, हाम्रो घरमा बाख्राको खोर वा टाट्नाबाट खसीबोका बेचिएझैँ । फरक यति हो, खसीबोका घरमा जन्माएर हुर्काउँदाको लागत लागेको हुन्छ । यहाँ सडकमा निःशुल्क भेटिन्छन् !
खरिदेहरूले गाउँबाट खसीबोका किनेर एक ठाउँमा भेला गरेझैँ रनुले राइनी दिदीकोमा भेला गर्छ ठूले, सुतार कान्छोलगायत १६ जना अबोधलाई । राइनी र रनुको संवादले मानव दलालीको अवस्था अझ प्रस्ट पार्छ ।
“... आज एकजना बाटामा हिँड्दै गरेको भेट्टाएर ल्याएकी छु,” राइनीले रनुलाई जवाफ दिन्छिन् । रनु बोल्छ, “ए दस रुपैयाँ कमाइछ्यौ ।” (पृष्ठ २२)
जिउँदा मानिस बाटामा भेटेको भरमा लाहुर वा भर्ती लगाइदिने बहानामा दलालहरू बिनापरिश्रम मोटाउँछन् भन्ने यो उदाहरण पर्याप्त हुन्छ, अरू चाहिँदैन ।
म फेरि सम्झन्छु, बोकाखसी किन्ने खरिदेहरूले भेला गरेका बोका र खसी अलिकति नाफा खाएर अलि ठूलो खरिदेलाई बेच्छन् भन्नुहुन्थ्यो हजुरआमा । यहाँ पनि रनुले ठेकेदारलाई चालिसको दरले बेच्छ ठूले, सुतार कान्छो, जोरपाटी फिदिम बस्ने शेखर कार्कीलगायत जम्मा १६ जवानलाई ।
यिनीहरूका मनमा छाएको कति सुन्दर आकांक्षा छ । लाहुर लागेपछिको कस्तो सुन्दर कल्पना छ । शेखर कार्कीका यी भनाइले पुष्टि गर्छ ।
“....ठ्याक्क ढल्के टोप, भ्याङ्ले सुराल र जुरापमाथि बुड जुत्ता कसेर अघिअघि आफू हिँड्ने पछिपछि तीनचारजना भरियालाई बाक्सा बोकाएर घर फिर्न पाए पो आएको पनि सार । हैन त ?” (पृष्ठ २५)
आफू बेचिएको थाहा नपाएका यी सोझा युवाहरूको यो अवस्था देख्दा लाग्छ, काट्न लगेका बोकाखसीलाई मिठो घाँस खुवाएर रत्याएजस्तो । अचानोछेउमा पुर्याएर पर्संदासम्म त्यो बोको वा खसी घाँस चपाइनै रहेको हुन्छ । अघाउने चेष्टामै ऊ तल्लीन हुन्छ । एकरत्ती डर मानेको हुँदैन । यस्तै अवस्था बोध हुन्छ यिनीहरूको ।
मिठो घाँस खुवाएर काट्न तयार गरिएको खसीको अवस्थाबाट आफू गुज्रिरहेको थाहा पाएको भए सायद बाँच्ने आकांक्षाले विद्रोह ओकल्न सक्थ्यो होला । तर, त्यसो हुँदैन । त्यो कसैले सपनामा पनि शंका गर्दैनन् र त मिठो कल्पनामा मुगलान जाँदै छन् एक डफ्फा युवाहरू ।
महेशराज खरेल ।
ठेकेदारले आफ्नो जिम्मामा लिइसकेपछि भन्छ, “अब त्यो बाटोमा अडिएको पहेँलो मोटरमा गएर बस्तै गर ।”
खुसी हुँदै हुरुरुरु केटाहरू अघि बढे । आनन्दले फुलेको त्यो जमातमा सबैको अगुवा कार्की थियो । (पृष्ठ ३२)
उनीहरू ट्रकबाट रमाइलो हेर्दै गफ गर्दै जीवनको मनोरम सुन्दर कल्पनामा रम्दै थाहै नपाई अनकन्टार भड्खालातर्फ जाकिन्छन् । उनीहरू वानर हाट हुँदै फुन्चेलिङमा पुग्छन् । त्यहाँ अधकल्चो बास बसेपछि भोलिपल्ट ठेकोदारले ड्राइभरलाई यस डफ्फामा रहेका केटाहरूको नाम उल्लेख गरिएको कागज दिँदै जमिनदारलाई बुझाउने आदेश दिन्छ ।
मोक्तानले कुरा बुझेछ कि क्या हो ! फुन्चेलिङबाट राति नै भागेछ । अरूले पनि बुझेको भए सायद त्यसै गर्ने थिए होलान् ।
ड्राइभरले ठेकेदारबाट प्राप्त कागज र १५ जवान कामदार लगेर जमिनदारलाई बुझाउँछ । त्यो ठाउँ पुग्न त्रिवेणी तीनतिर छुटेको बाटो हुँदै ‘हा, पारो’ थिम्पु कटेर जाँदा डाँडाको पल्लोपट्टिबाट दूर...दूर... गर्ने आवाज बेलाबेला आइरहेको हुन्छ । उनीहरूको भावी जीवन अब यही दूर...दूर... आवाजसितै मिसिएर कसैले थाहा नपाउने गरी सिद्धिने क्रममा अगाडि बढ्छ ।
त्यस दिनदेखि लाहुर हिँडेका ठूले र सुतार कान्छोलगायत पन्द्रजना युवा निस्कन नसक्ने गर्तमा भासिन्छन् । बन्धक बन्छन् । तथापि, एउटा आशा – जे भए पनि सौदेखि दुई सौसम्म काम हेरी महिनाबारी तलब दिने भनेको छ भनेर काममा जोड लगाउँछन् । शरीरले थेगिन्जेल पसिना बगाउँछन् ।
डाँडाको चिसो, हिउँको सिरेटो, थोत्रा तम्बुभित्रको बास । ओछ्याउने राम्रो केही छैन । थोत्रा बोराको भर छ । आधा पेट खान्की खानु छ । आधा पेट नै खाएर भए पनि आशारूपी भरोसा बोकेका छन् उनीहरूले । मन गलेर आए पनि विकल्प छैन । तै, मिहेनत गरौँ हेरौँमा पुगेको मनस्थिति छ ।
उपन्यास पढ्दा पाठकको मन अत्तालिन्छ । कतै थोरै ठाउँ छ कि सकुशल जीवन बिसाउने सानो चौतारो भनेर मनका आँखा चारतिर पुग्छन् । कतै ठाउँ छैन, भयंकर गहिरा गर्तहरू, पहाडका अनकन्टार अप्ठ्याराहरू मात्र आँखासामु दृष्टिगोचर हुन्छन् । जमिनदारलगायत दलालहरूप्रति रिसले आगो बल्छ पाठकको दिमागमा ।
मानिस सकिन्जेल मात्र अर्काको आदेश मान्छ । नसकेपछि कि मर्छ कि विद्रोह गर्छ । इतिहासका विभिन्न अप्ठ्यारा गल्छेँडाहरूमा यस्ता विविध परिघटना घटेका छन् । दासयुगका विभिन्न विद्रोह यसका उदाहरण हुन् । धेरै विद्रोह दबाउन शासक वर्ग सफल भए पनि ‘स्पार्टकस’को विद्रोह दबाउन शासक वर्ग असफल हुन्छ । स्पार्टकसले आफू बाँच्न विद्रोह गरेका थिएनन्, अरूलाई बचाउने अभियान थियो त्यो उनको । यसैकारण दासयुगको समग्र चरणमा ‘स्पार्टकस’ विम्ब बनेर रहन्छन् ।
उपन्यास ‘मुगलान’भित्र पनि यो प्रकारको दमन, उत्पीडनविरुद्ध कुल्लीहरूले यदाकदा विद्रोह गरेको देखिन्छ ।
‘कतिहरू कतिपल्ट भागे लुके तर उम्कन सकेनन् । फेरि आउँथे, आफ्ना हतियार पक्रेर सोही बाटामा लाग्थे, ती जीवनको आशा मारिएका बिचराहरू ।’ (पृष्ठ ७२)
यस्तो परिवेशविरुद्ध पनि अब विद्रोहको विकल्प देख्दैन सुतार कान्छो । आँट भर्छ मनमा र भन्छ शेखर कार्कीलाई, “भाइ ! अब सकिएन । सकिँदैन अब बढ्ता बाँचेर रहन । दुइटा वर्षा खप्यौँ, दुइटा हिउँद खप्यौँ । यहाँ बसेर हाम्रो जुनी यसै बिताए पनि एक पैसा रहन्न, बाँच्न पनि सकिने छैन । जसै पनि मर्नै परेपछि एकपल्टलाई भागौँ ।”
शेखर कार्कीले भागेर पुनः समातिएकाले पाएको सजाय सम्झिँदै भन्छ, “त्यो गति भयो भने हामीले के गर्ने होला दाइ ?”
सुतार आँट भरिदिन्छ, “जसो होला एकपल्टलाई ज्यान फालौँ ।”
मानिसको मूल्यवान् वस्तु भनेकै ज्यान हो । ज्यान जोगाउन सकस भएपछि त्यै ज्यान माया मारिदिए त सकिगयो । जिते संसार हारे ज्यान यही हुन्छ हरेक विवश जीवनको अभियान । त्यही अभियानानुसारले भागेर विद्रोह जनाउँछन् सुतार र शेखर कार्की ।
“... उज्यालो हुनुभन्दा एक घण्टाअघि... कार्की र सुतार विस्तार विस्तार ओरालो लागे ।” (पृष्ठ ७३, ७४)
मान्छेको विद्रोह अँध्यारोबाट उज्यालोतिर हुन्छ । सकस र दकस जे व्यहोरे पनि पारिलो र न्यानोपनको कल्पनामा मानिसले आफ्ना पाइला उठाउँछ । यसरी पाइला चाल्दा जमिनदारको समूहले भेटे छाला काड्छ भन्ने त्रास मनमा बोकेर सास थामेर हिँड्नुपर्छ । ओेरालो भिरालो जमिन, खोलो खोल्सो, अनकन्टार अप्ठेरो पहाडको उकालो कटेपछि सास दबाएर हेर्दा अब त दूरबिन लगाएर हेरे पनि देख्न नसक्ने स्थानमा पुगेकाले सुरक्षित ठान्छन् आफैँलाई ।
भोलिपल्ट सोमबारको दिन ओल्लोपाटो कटेपछि दक्षिणी भुटानको भेक देखिने आशा छ उनीहरूको मनमा । भोक र प्यासले सताउँछ, खानेकुरा केही छैन । माना दोयक बोकेका मकैका काँचा चामलले पेटको तितो मेटाउनुपर्छ । डरलाग्दा उकाला, त्यस्तै जिउ नथामिने ओराला, नदी र खोल्सा तरेर फेरि उकाला अनि टाढाटाढासम्म फैलिएका डाँडापाखा, कतै जीवनको अवशेष भेटिँदैन । यी दुई जीवन आफ्नो लक्षमा अविश्रान्त हिँड्छन् ।
जंगलमा जंगली झ्यास, तिखा काँडा, गोरेटोविहीन पटेर घारी । लामालामा, तिखा काँडादार बेतका झाडी, अगाडि बड्दा ती काँडाको चुभनले शरीर रगताम्य हुन्छ । शरीरका मासुका चोक्टा थुतिन्छन् । बाटोको दिशा अनिश्चित छ, कता गइँदै छ कता पुगिँदै छ पत्तो छैन । समुद्रमा हराएको जहाजजस्तो छ अवस्था वा ‘कुहिराको काग’ बनेको छ गति !
पाठक यहाँनेर करुणाको आँसु पोख्छ । मनले कल्पना गर्छ, यिनले हठात् बाटो भेटून् । बाटो पछ्याउँदै कुनै मानवबस्ती वा गाउँ पुगून् । दयाले तिर्खाएको कोही महामानव भेटून् र जीवनबोधको करुणाले नुहाएर नयाँपनमा जिउन सकून् ।
तर, त्यस्तो हुँदैन । बाक्लो पटेर र झाडी अनि जंगलका कारण सूर्यका किरणहरू छिर्न नसकेर दिउँसै अँध्यारो बन्छ परिवेश । छिचोल्न कोसिस गरे पनि सकिन्न । रात पर्छ निस्पट्ट हुन्छ । यहाँनेर पाठक टक्क अडिन्छ । सास रोकिन्छ । मुटु ढुकढुक गर्छ । दुःखको यस क्षण मुक्तिको मार्ग नभेटेर अनकन्टार जंगलमा जंगली जनावरको सिकार बन्ने त्रासले पाठक रुन्छ, पिरोलिन्छ ।
अनि, लेखकप्रति आक्रोश जन्मिन्छ पाठकका मनमा । किन यति सारो क्रूर कथाको बाटो खनेका हुन् लेखकले ? करुणा द्रवित हुन त अरू नै कथा पनि त रच्न सकिन्छ नि !
लेखकको कठोर कलमप्रति विमति जाहेर गरे पनि फेरि लेखकको भनाइ पल्टाउँछु म । लेखकले भनेका हुन्छन्, “यसरी सुरु हुन्छ एउटा कथा । एउटा दुःखपीडा र रुनुको कथा, संघर्षको कथा अनि हारको कथा । त्यो दिन थियो २७ मार्च २०५४ । आजसम्ममा कथा ला...मो भएको छ । अनि, कथाका वेदनाहरू अव्यक्त भइदिएका छन् । मलाई मात्र थाहा छ त्यो दिनदेखि आजसम्म नलेखिएको कथा ।”
म लेखकका भनाइलाई यसरी बुझ्छु । यो कुनै कल्पना होइन । यो यथार्थ घटनामा आधारित उपन्यास हो । यस्तो बुझेपछि मेरो मन बदलिन्छ लेखकप्रति र म पढ्न थाल्छु अगाडि ।
पढ्दै जाँदा सुखद सास फेर्न नपाएर, नसकेर म द्रवित बन्छु । केही बेरपछि रोकिएको सास विस्तारै छोड्दै पुनः लामो सास तान्दै म कथालाई अगाडि बढाउँछु ।
“मालिंगाको फेदमा भालु सुतिरहेको कार्कीको दृष्टिमा पर्यो । उसको हंसले ठाउँ छोड्यो । ” (पृष्ठ ८०)
हंसले ठाउँ छोडेको मानिसको आँट गल्छ । सुतार कान्छो आँट भर्दै शेखर कार्कीलाई हिँडाउँछ । त्यो अनकन्टार पहाड, जंगललाई पार गरेर कतै मानिसको बसोबास छ कि भनी नियाल्ने क्रममा उनीहरू देख्छन् ।
“गहिरो गरी ध्यान दिएर हेर्दा अगाडिपट्टि टा...ढा टाढा निलो आकाशसँग जोडिएको सबभन्दा पल्लो छेउको डाँडामा कतै मानिसको गाउँ हो कि ? जस्तो पातलो शंका हुने ठाउँ देखियो...” (पृष्ठ ८०)
मानिसलाई बाँच्ने जिजीविषाले डोर्याउँछ । त्यो मानवबस्तीजस्तो ठाउँमा पुग्न भुङ्ग्र्रो तातो ज्वरो आएको कार्कीलाई लिएर हिँड्दा बेतका काँडाले शरीरका मासुका चोक्टा निकाल्छ । अल्ला र सिस्नाले त्यही घायल शरीरलाई डाम्छ, पोल्छ, डाबर र फोकैफोका बनाउँछ शरीरभरि । तैपनि, सकिनसकी अगाडि बढ्नुको विकल्प छैन ।
रात पर्छ, भोको पेट जंगलको बास हुन्छ । राति सुतेको ठाउँमा अजंगको चिजवस्तु देखिन्छ ।
“अकस्मात् अगाडिबाट आएको सर्ल्याङ सुर्लुङ आवाजले दुवैको मन झस्कायो । डरले स्तब्ध हुँदै सशंकित दृष्टि चारैतिर फ्याँके । सिधै तलतिरको पहेँलो घरी केरामा एउटा अभूतपूर्व जनावर टाँसिएको देखापर्यो । ... त्यसले राताराता आँखा फर्कायो । त्यस बेला कार्कीको कमजोर मुटुमा ढ्यांग्रो बज्न थाल्यो ।”
यहाँनेर पुग्दा म फेरि टक्क अडिन्छु । मेरा शरीरका रौँ ठाडा हुन्छन् । डर र त्रासले अब के हुन्छ भन्ने जन्मिन्छ । सुतार र कार्की त आफैँ भुक्तभोगी छन्, तिनलाई के भयो होला ? अनुमान गरे पुग्छ । मेरा आँखाबाट भेल छुट्छ, म सम्झन्छु–
‘दुःखीको घरमा मात्र बास हुने भए
हे ईश्वर दया राखी अझ दुःख दे ।’
यो बालकृष्ण समले ‘मुकुन्द इन्दिरा’मा जुन प्रसंगमा लेखेका छन् – मलाई लाग्छ, यसको भाव र सार साँचो अर्थमा यहाँ जोडिन्छ । योभन्दा बढी दुःखको क्षण कस्तो होला र ! मेरो मन भन्छ । तर पनि फेरि बाँच्न लेखेको रहेछ ।
यसरी हरेक पाइलामा मृत्यु कुल्चिएर सुतारको इच्छाशक्तिले डोर्याएर कार्की साथमा हिँड्छ । उसको डराएको, हंसले ठाउँ छोडेको, ज्वरोले गलेको, भोको, घायल शरीर लामो थेग्न सक्दैन ।
“...अनन्त यात्राको क्रम सुरु गर्नुपर्ने ठानी भित्तापट्टि सुतेको कार्कीलाई उसले बोलायो, उसले सुनेन । हातले तानी हल्लायो, हल्लिएन अनि बोराभित्रै हात लगेर छामी हेर्यो, तर अफसोस ! त्योअघि नै कार्की चिसिइसकेछ ।”
मानिस जस्तो अवस्थाको भए पनि साथ चाहिन्छ । मानिसले दिँदै आएको साथ परिस्थितिले छोडाइदिन्छ र एक्लो बन्छ मानिस । यो मानव जीवनको अवशेष नरहेको एकान्त ओढारमा कार्कीको जीवन लीला समाप्त हुन्छ ।
कल्पना गर्छु म, मानिस कति गर्छु भन्छ । उमेरमा पृथ्वी बोक्छु, आकाश छिचोल्छु, समुद्र निल्छु भनेर सुरिन्छ । यात्राको मोडमा थाहै नपाई शून्य बन्छ मानिस । सबै सपना सकिन्छन् मान्छे सकिएपछि, कार्कीका झैँ ।
सुतार एक्लो बन्छ । पीडाले रन्थनिन्छ पागलझैँ भएर चिच्याउँछ, “मेरो भाइ म पनि तिमीसँगै मर्छु नि !”
कार्कीको दुई वर्षको कमाइ ३०० रुपैयाँ उसकै हातमा हालेर आगो लगाउँछ सुतार । ऊ रुँदै भन्छ, “...त्यो पनि लिएरै जा मेरो दुःखी भाइ ।...तेरो हार भयो ।” (पृष्ठ ८६, ८७) यहाँनेर मानवीय करुणाको सिंगो अवतार जन्मिन्छ हरकोहीमा ।
कमाउन भनेर जीवन अर्पिन्छन् मानिस, त्यो कमाइको बाँकी अंश आगोले धुवाँ बनाएर उडाइदिन्छ ।
को पाठक द्रविभूत हुँदैन र, जिन्दगीको अधुरोअपुरो यात्रा बीचबाटोमा विसर्जन गर्नुपर्ने बाध्यता आएपछि ।
जे भए पनि कार्कीको साथ थियो, अब सुतार एक्लै भयो । तैपनि, हार्दैन सुतार । जिन्दगीलाई पूर्णविराम लगाउँदैन ऊ । हिजो देखिएको घुर्मैलो मानवबस्ती वा गोठतिर लम्कन्छ एक्लै ।
मलाई लाग्छ, मानिस एक्लै आएको हो एक्लै जान्छ । बीचको साथ–सहयोग त केवल संयोग हो । आखिर त्यो हरेक वियोगमा टुंगिन्छ । त्यही वियोग पिउँदै सुतार अगाडि बढ््छ ।
अन्त्यमा,
‘मुगलान’ उपन्यासको परिवेश र सन्दर्भ भनेको शोषण र शोषितको पीडादायी कथा हो । विश्वमा विभिन्न कालखण्डमा मानवश्रमको शोषण हुने गरेको छ । मानिसको अतिरिक्त श्रमशोषण गरेर मानिस नै धनी, सम्पन्न बनेका कैयौँ उदाहरण छन् । तर, ‘मुगलान’ श्रमशोषण मात्रको कथा होइन । यो त मानिसलाई बन्धक बनाएर नमरिन्जेल पिनाबाट तेल निकालेझैँ पेलिरहने कथा हो । यसको कुनै समय र सीमा छैन । उन्मुक्तिका सबै बाटा बन्द गरिएका छन् ।
आज पनि पछौटे समाजका कारण विकासका खास चरणहरू पार गरेको हुँदैन । यसकारण पनि समाज उन्नत बन्न पाउँदैन । समुन्नत समाजले विकासका जरा हालेको हुन्छ । त्यहाँ प्रतिफल फलेको हुन्छ । त्यही फल पाउनेखाने आशामा पछौटे समाजका मानिस उन्नत समाजतिर आकर्षित हुन्छन् । जान्छन्, कमाउँछन् । केही सम्पत्ति बोकेर फर्कन्छन् पनि ।
अहिलेको समाज झन् फराकिलो बनेको छ । विश्व परिवेशमा खासखास उद्देश्यका निमित्त श्रमबजार खुला गरिएको छ । मानिस वैधानिक बाटोबाट जान नसकेर वा ज्ञान नभएर वा दलालहरूको चंगुलमा परेर हो, यस्ता कहरका समाचार आज पनि दिन दुईगुना रात चारगुना भएर आउँछन्, सुनिन्छन् ।
अझ नारी श्रमिकको पीडा सुनिनसक्नु छ । मानिसलाई मृत्युदण्ड दिएका वा कहर झेल्न नसकेर आफैँ आत्महत्या गरेका कैयाँै कहालीलाग्दा श्रमबजार आजको विश्वमा फैलिरहेको छ । परिभाषा जे भए पनि ठूले र सुतार अनि शेखर कार्कीलगायत अन्य कुल्लीहरू श्रम बेचेर कमाउने हेतु विदेशिएका हुन् । अन्जान ठाउँमा ज्ञान नहुँदा बेचिन पुग्छन् । टुहुरो सन्तान र राष्ट्रियता नभएको कमजोर नागरिकको जीवन संसारमा यसरी नै पिसिन्छ र सिद्धिन्छ ।
जुन समयको वर्णन उपन्यासको कथामा समेटिएको छ, त्यो अत्यन्त सान्दर्भिक र जीवन्त छ । यसका पात्रले व्यहोरेको दुःखले हरपाठकलाई रुवाइदिन्छ । दुःखी नेपालीको जीवन्त कथा बोकेको सजीव उपन्यास हो, ‘मुगलान’ । भाषिक दृष्टिले हेर्दा २१ वर्षे गोविन्दराज भट्टराईको लक्का जवानको भाषा र वाक्य बनोट भेटिन्छ यस उपन्यासमा । प्रा. डा. गोविन्दराज भट्टराईको प्रौढ तथा निखारिएको भाषा भेटिँदैन यहाँ ।