काठमाडौं । अनलाइन मार्केटप्लेस हाम्रो बजारले फोनलोनसँगको सहकार्यमा ‘बाइ नाउ, पे लेटर’ फिचर सार्वजनिक गरेको छ ।
हाम्रोबीएनपीएल नाम दिइएको यस फिचरअन्तर्गत ग्राहकले डाउनपेमेन्टबिना नै किस्ताबन्दी सुविधामा सामान खरिद गर्न पाउने भएका छन् ।
कम्पनीका अनुसार कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका फोनलोन प्रयोगकर्ताहरूले हाम्रो बजारबाट मासिक किस्ताबन्दीको सुविधामा सामान किन्न सक्ने भएका हुन् । सुविधा आ–आफ्नो मोबाइल बैंकिङ एपबाटै सजिलै प्रयोग गर्नसक्ने हाम्रो बजारले बताएको छ ।
ग्राहकहरूले ६ महिनासम्मको किस्ताबन्दी सुविधामा कुनै ब्याज तिर्नुपर्ने छैन । ९ देखि १२ महिनाको स्ट्यान्डर्ड इएमआई लिने प्रयोगकर्ताले भने डाउनपेमेन्टबिना नै सुविधा उपभोग गर्न सक्ने भएका हन् । हाम्रो बजारको हाम्रोबीएनपीएलमा २५० भन्दा बढी प्रोडक्ट रहेको कम्पनीले जनाएको छ ।
आफूलाई आवश्यक परेको वा मनपरेको प्रोडक्ट फोनलोन प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङबाटै क्यूआरकोड स्क्यान गरेर किस्ताबन्दीमा किन्न सक्छन् ।
फोनलोनका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले हाम्रोबीएनपीएल भुक्तानीको माध्यम मात्रै नभएर नेपाली उपभोक्ताका लागि ई–कमर्समा गेमचेन्जर फिचर भए के बताए । हाम्रो बजारसँगको सहकार्यमा सार्वजनिक सुविधाले ग्राहकहरूलाई फाइनान्सियल फ्लेक्जिबिलिटी प्रदान गर्ने उनले बताए ।