site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दसैंसँगै उकालो लागिरहेको मूल्यसूची !

काठमाडौं । जब जब ठूला चाडपर्व आउँछ, तब हाम्रो बजार अकाशिन्छ, सरकारी निकाय तातिन्छन् । नाममात्रैका अनुगमन पनि चाडपर्वकै बेला हुन्छ र कारबाही पनि देखाउनका लागिमात्रै । 

सरकारी कर्मचारी पनि अनुगमनका नाममा व्यापारीबाट दसैं खर्च निकाल्न लागिपर्छन् भन्ने आरोप लाग्छ । प्रत्येक वर्ष यो साइकल चलिरहन्छ । 

असोज लागेपछि कारण केही नभए पनि मूल्य वृद्धि गर्ने अनि त्यसको नियन्त्रणका लागि सरकारले अनुगमन टोली खटाउने र कारबाही गरेको जस्तो गर्ने । सबैको कमाउने बेला नै चाडपर्व हुँदा आमउपभोक्ता भने मारमा पर्छन् ।

पेट्रोलियम पदार्थको मूल्य बढ्दा यसले हरेक क्षेत्रमा असर पार्छ र ती वस्तुको मूल्य पनि बढ्छ । मूल्य घटेमा भने त्यसले बजार मूल्य पनि घट्छ । नेपालको सन्दर्भमा भन्ने हो भने एकपटक कुनै कुराको मूल्य बढ्यो भने त्यसको मूल्य घट्ने सम्भावना निकै कम हुन्छ ।

नेपाल आयल निगमले गत भदौ ३० गते पेट्रोलियम पदार्थको मूल्य घटायो । डिजेल अधिकतम् मूल्य १४९ रुपैयाँमा झरेको छ । तर गाडी भाडा संयोजन नगरीकन सवारी व्यवसायीले पनि अधिकतम् मूल्य असुलेकै छन् ।

कपडा–व्यवसायीदेखि खुद्रा व्यवसायी हरेक क्षेत्रका व्यवसायीले चाडपर्वमै कमाउने हो भन्ने शैलीमा जसरी मूल्य बढाएका छन् । 

प्रत्येक वर्षझैँ चिनीको मूल्य बढेको छ । १५ दिन अघिसम्म ११० देखि ११५ रुपैयाँ पर्ने चिनीको मूल्य खुद्रा व्यापार संघले निकालेको मूल्य सूचीमा १२० पुगेको छ ।

सनफ्लावर तेल १५ दिनअघि प्रतिलिटर २१० थियो, असोज महिनाको पहिलो हप्ता २१५ रुपैयाँ पुगेको छ । काँचो तोरीको तेलमा १५ दिनमै प्रतिलिटर १० रुपैयाँ वृद्धि भएको छ । भटमास तेल प्रतिलिटर ५ रुपैयाँ बढेको छ । 

नेपाल खुद्रा व्यापार संघले प्रत्येक १५ दिनमा निकाल्ने मूल्य सूचीअनुसार बजारमा सामान पाइँदैन । बजारमा एकप्रकारको मूल्य निर्धारण गर्ने, तर त्यो मूल्यमा सामग्री बजारमा पाइँदैन । खाद्यान्न, तरकारी लत्ताकपडालगायतका हरेक सामानको मूल्य वृद्धिले चाडपर्व नै खल्लो हुने गरेको छ । 

आमउपभोक्ताको हित गर्ने भनी खुलेका संस्थाहरुको पनि भूमिका प्रभावकारी हुन सकेको छैन । अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाउने निर्णय गरे पनि त्यो औपचारिकतामा मात्रै सीमित छ ।

विभाग पनि खुलाबजारको सिद्धान्तविपरीत हिँडिरहेको आरोप छ । 

१५ दिनअघिसम्म प्रतिकिलो एक सय रुपैयाँ पर्ने चिनीको ‘होलसेल’ मूल्य नै १०७ पुगेको व्यापारीहरु बताउँछन् । यस्तै प्रतिलिटर दुई सय रुपैयाँ पर्ने तेल २२० देखि २३० सम्म पर्ने  गरेको छ ।  सरकारले चाडपर्वका अवसरमा केही छुट दिने भनी सहुलियत पसल समेत खोलेको छ । तर, सहुलियत पसल पनि सीमित स्थानमा मात्रै हुँदा यसले उपभोक्ताको ध्यान तान्न सकेको छैन ।

प्रत्येक वर्षको दसैँ र तिहार आउन लागेपछि मूल्य वृद्धि हुने गरेको नेपाल उद्योग वाणिज्य महासंघ व्यापार समितिका सदस्य चन्द्र थापा बताउँछन् । 

“दसैँ–तिहार आएसँगै व्यापारीहरुले अवसरका रुपमा लिँदै मूल्यवृद्धि गरेको देखिन्छ,” उनी भन्छन्, “विशेषगरी चाडबाडमा बढी प्रयोग हुने तेल र चिनीको मूल्य बढाएर बेचेका छन् । व्यापारीहरुले चाडपर्वलाई कमाउने अवसरको रुपमा लिएका छन् ।”

सरकारले बजार अनुमगन ३६५ दिन नै गर्नुपर्ने चाडपर्व लक्षित मात्रै गर्दा प्रभावकारी नभएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना बताउँछन् । 

“अनुगमन भनेको ३६५ दिन, २४ सै घण्टा हुनुपर्छ । दसैँ–तिहार–छठ भनेर मात्रै अनुगमन गर्ने होइन । अनुगमन भनेको सधैँ हुनुपर्छ,” उनले भने, “सरकारको यही कमजोरीको फाइदा उठाउँदै बजारमा अराजकता भएको छ । अखाद्य वस्तुहरुको बिक्री–वितरण भएको छ । बजार अनुमगन र गुणस्तर काम गर्ने निकायहरुले राम्रोसँग काम गर्नुपर्‍यो ।”

राज्यका सबै निकायले एकीकृत रुपमा वर्षेभरी बजार अनुगमन गर्नुपर्नेमा तिमल्सिनाले जोड दिए । 

“एकीकृत रुपमा बजार अनुगमन गर्नुपर्छ । अनुगमन ‘सिजनल’ हुनुहुँदैन । वर्षैभरि नै हुनुपर्छ,” उनले भने, “अनुगमनका लागि विशेष संयन्त्र बनाएर चुस्त, दुरुस्त पारदर्शी संयन्त्र बनाएर प्रभावकारी बनाउनुपर्छ । सरकारले त्यो गर्न नसक्दा मूल्यमा, गुणस्तर र नापतौलमा नेपाली उपभोक्ता ठगिरहेका छन् ।”

उपभोक्ता अधिकार अनुसन्धान मञ्चले मूल्य नियन्त्रण गर्न छुट्टै नियामक, समन्वयका लागि छुट्टै संयन्त्र बनाउन, स्थायी संयन्त्र बनाएर अनुगमन गरे प्रभावकारी हुने भनेर माग गर्दै आएको तिमल्सिना बताउँछन् । 

उता वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने वर्षभरि नै अनुगमन हुने बताउँछ । 

“हामीले वर्षभरि नै दिनमा तीन वटा टोली अनुगमनको लागि खटाएका हुन्छौं,” विभागका महानिर्देशक राजन पौडेल भन्छन्,“चाडपर्वमा अनुगमन भनेर मिडियामा आउने भएर मात्रै हो ।”

चाडपर्वमा उपभोक्ता नठगिऊन् भनी अनुगमन बढी प्रभावकारी बनाएको पौडेल बताउँछन् । 

Bazar-Mulya-1727237069.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro