site stats
बाह्रखरी :: Baahrakhari
देश
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

बागलुङ ।  बागलुङको बुर्तिबाङमा शनिबार घर भत्काउने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ । ११ जना घाइते छन् ।

ढोरपाटन नगरपालिका–१, बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, पुनर्निर्माणका क्रममा एक्कासि घर भत्कँदा काम गरिरहेका घरधनी विकसहित अरू ११ मजदुर घाइते भएका थिए । विकको उपचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

उनका अनुसार, घाइते हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का २६ वर्षीय शंकर पन्थी, काठमाडौंको काठमाडौं महानगरपालिका–१० का २४ वर्षीय सुगान्त पौडेल, बागलुङको ढोरपाटन–४ का खडकप्रसाद विक, सोही ठाउँका २० वर्षीय इन्द्र रसाइली, ४० वर्षीया कोपिला छन्त्याल, ५० वर्षीय शुभ बुढामगर, ढोरपाटन–१ का ४० वर्षीया देवीसरा विक, सोही ठाउँकी ३० वर्षीया थमकुमारी विक, बागलुङकै तमानखोला गाउँपालिका–१ की ३८ वर्षीया खममाया घर्ती, ३५ वर्षीय टेकबहादुर विक र ५१ वर्षीया टेकमाया रसाइली छन् ।

घर भत्कँदा पुरिएका सबैको उद्धार गरिएको छ । उनीहरूलाई उक्त स्वास्थ्य केन्द्रमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्