site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सेनाले निर्माण गरिरहेको पाँचवटा रणनीतिक सडकको प्रगति कति भयो ?

काठमाडौं । नेपाली सेनाले पछिल्लो समय पाँच वटा रणनीतिक महत्वका सडक निर्माण गरिरहेको छ । ती सडक हुन्– कर्णाली करिडोर, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग, कोशीको उत्तर–दक्षिण खाँदबारी–किमाथांका, दार्चुला–टिंकर र काठमाण्डौ/तराई–मधेस द्रूतमार्ग सडक । 

यी सबै सडक रणनीतिक उद्देश्यले महत्वपूर्ण मानिन्छन् । नेपाली सेनाका अनुसार, कर्णाली करिडोर सडक आयोजनाअन्तर्गत लालिबगर–दुल्लीकुन्ना, घाटपारीचौर–बद्रीगाउँ भुक्काखोला खण्डको काम भइरहेको छ ।

कुल २२.०५ किलमेमिटर लम्बाईको सडक आयोजनाको आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म ९.५ किलोमिटर नयाँ ट्रयाक खनेको थियो । आर्थिक वर्ष २०८०/८१ मा थप ४ किलोमिटर नयाँ ट्रयाक पूरा गरी कुल १३.५ किलोमिटर नयाँ ट्रयाक खोल्ने सकिएको सेनाले रक्षा मन्त्रालयमा पठाएको विवरणमा उल्लेख छ ।

कुल ९२ किलमेमिटर लक्बाईको बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजनाको ट्रयाक निर्माण कार्य आर्थिक वर्ष २०७९/८० मा ३५.५ किलोमटिर सकिएको थियो । 

“आर्थिक वर्ष २०८०/८१ को असारसम्म २.५ किलोमिटर नयाँ ट्रयाक निर्माण र ३ किलोमिटर ट्रयाक स्तरोन्नति सम्पन्न भई कुल ३८ किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भएको छ,” सेनाले बुझाएको विवरणमा उल्लेख छ ।

उत्तर–दक्षिण कोशी सडक खाँदबारी–किमाथांका सडक आयोजना अन्तर्गत सेनाले च्याम्ताङ्ग–घोङघप्पा खण्डमा काम गरिरहेको छ । कुल १०.५ किलोमिटरको उक्त सडकखण्डको ट्रयाक निर्माण कार्य आर्थिक वर्ष २०७९/८० सम्म ६.५ किलोमटिर सम्पन्न भएको थियो । सोही वर्ष ३ किलोमिटर सडकको ट्रयाक स्तरोन्नति गरिएको थियो ।

गत आर्थिक वर्ष २०८०/८१ सम्म सेनाले उक्त सडक आयोजनाको २ किलोमिटर नयाँ ट्रयाक निर्माण र ३.५ किलोमिटर ट्रयाक स्तरोन्नति गरी कुल ८.५ किलोमिटर ट्रयाक खनेको छ । 

आर्थिक वर्ष २०७९/८० सम्म कुल दार्चुला–टिंकर सडक आयोजनाको १०.४ किलोमिटर नयाँ ट्रयाक खोल्ने काम र १.५ किलोमिटर ट्रयाक स्तरोन्नति गरेको थियो । दार्चुला–टिंकर सडकको कुल लम्बाई ७९ किलोमिटर छ । “आर्थिक वर्ष २०८०/८१ को असारसम्म ३ किलोमिटर नयाँ ट्रयाक खन्ने र २ किलोमिटर ट्रयाक स्तरोन्नति गरी कुल १३.४ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भएको छ,” सेनाले आफ्नो विवरणमा उल्लेख गरेको छ । 

नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं/तराई–मधेस द्रूतमार्ग सडक आयोजनाको २०८१ असार मसान्तसम्म भौतिक प्रगति ३५.३८ प्रतिशत र वित्तीय प्रगति ३६.६६ प्रतिशत छ ।

आयोजनाको समष्टिगत कार्ययोजनाअन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजहरु मध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८क, ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेका छन् । “प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना बुङ्गमती खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्या साथै द्रुतमार्गको शुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकोले खरिद प्रक्रिया शुरु हुन बाँकी रहेको,” सेनाले जनाएको छ । 

आयोजनाअन्तर्गतका जम्मा ६ वटा सुरुङ्गमार्गको कुल लम्बाइ १०.३०९ किलोमिटर छ । तीमध्ये धेद्रे सुरुङ र लेनडाँडा सरुङको ‘ब्रेकथ्रु’ भइसकेको छ । सेनाका अनुसार महादेवटार सुरुङ्को बायाँ टनेलको ६८ प्रतिशत र दायाँ टनेलको ६१ प्रतिशत काम सकिएको छ ।
 
द्रुतमार्गमा ८९ स्थानमा रहेका पुलहरुमध्ये ८५ स्थानका पुलहरु निर्माणका लागि खरिद सम्झौता सम्पन्न भएको सेनाले जनाएको छ । हालसम्म ५ वटा पुलहरुको निर्माण कार्य सम्पन्न भइसकेको छ । 

आयोजनाका लागि कुल अधिग्रहण गर्नुपर्ने जग्गा करिव १७ हजार ६५१ रोपनी छ । उक्त जग्गामध्ये व्यक्तिगत जग्गा ५ हजार ४८७ रोपनी छ । हालसम्म ५ हजार २०४ रोपनी व्यक्तिगत जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन भएकामा ४ हजार ८११ रोपनी अधिग्रहण सम्पन्न भइसकेको र ३९४ रोपनी अधिग्रहण बाँकी छ । 

सेनाले रक्षा मन्त्रालयमा पठाएको विवरणमा भनिएको छ, “अधिग्रहण बाँकी उक्त जग्गामध्ये खोकना–बुङ्गमती खण्डको मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी २०६ रोपनी, मूल्य निर्धारण हुन बाँकी जग्गा १६५ रोपनीसहित करिब ३७१ रोपनी तथा मकवानपुर जिल्लामा १६ रोपनी र काठमाडौं जिल्लामा ४ रोपनी जग्गा अधिग्रहण बाँकी रहेको छ ।”

द्र्रूतमार्ग आयोजनाअन्तर्गत हालसम्म ३१ हजार ७४३ वटा रुख कटान भएको छ । कटान गरिएका रुखहरुको बदलामा हालसम्म ७ लाख ५ हजार ५५२ विरुवा रोपिएको सेनाले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro