site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रोत्साहन भत्ता दिएर ठूला अस्पतालमा दुई सिफ्ट ओपीडी चलाउने सरकारको तयारी 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले संघअन्तर्गतका ठूला अस्पतालहरूमा दुई सिफ्ट बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ठूला अस्पतालहरूमा बिरामीको चापलाई मध्यनजर गर्दै यस्तो तयारी गरिएको बताएका छन् । 

अहिलेकै जनशक्तिबाट दुई सिफ्ट ओपीडी सेवा प्रवाह गर्ने मन्त्रालयको योजना छ । साथै नियमित समयभन्दा अतिरिक्त समयमा पनि शल्यक्रिया र परीक्षणहरू गर्ने व्यवस्था मिलाउनेगरी मन्त्रालयले गृहकार्य गरिरहेको छ ।  

आर्थिक वर्ष २०८१/०८२ को निति तथा कार्यक्रममा वीर, ट्रमा र कान्ति बाल अस्पतालबाट दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने उल्लेख छ । मन्त्री पौडेललाई यही नीति कार्यान्वयन गर्नका निम्ति भन्दै गएको साउन ४ गते संघस्तरका अस्पताल तथा प्रतिष्ठानहरूमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने निर्णय गरेका थिए । 

यसबारे अस्पताल तथा प्रतिष्ठानहरूसँग छलफल गरी मन्त्रालयबाट पत्राचार समेत भइसकेको छ । दिउँसो ४ बजेपछि पनि ओपीडी सेवा दिने र परीक्षण तथा शल्यक्रिया सेवा राति ८ बजेसम्म सुचारु गर्ने मन्त्री पौडेलको प्रस्ताव छ । 

“हामीसँग पर्याप्त नभए पनि दक्ष जनशक्ति छन्, यो क्षमतालाई सेवाभावमा बदलौँ, उपकरणलाई पूर्ण क्षमतामा चलाऔँ,” मन्त्री पौडेलले सोमबार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको वार्षिकोत्सव कार्यक्रममा भने । 

यसरी अतिरिक्त समय ड्युटी गर्ने चिकित्सक/स्वास्थ्यकर्मी तथा कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने मन्त्रालयको योजना छ । “इन्सेन्टीभका निम्ति आर्थिक स्रोत जुटाउन उर्जा मन्त्रालयसँग छलफल भइरहेको छ, अस्पतालहरूले खपत गर्ने विद्युत्को आधा महसुल मिनाहा गर्न सकिन्छ की भनेर उर्जालाई पत्राचार गरेका छौँ,” मन्त्री पौडेलले भने । 

विद्युत् प्राधिकरणले सो प्रस्ताव स्वीकृत गरे त्यति नै रकम मन्त्रालयले थप गरेर प्रोत्साहन भत्ता प्रदान गर्ने योजना रहेको उनले बताए । 

दुई सिफ्टमा ओपीडी सञ्चालन गर्दा अस्पतालहरूमा हाल चलिरहेको एक्स्टेन्डेड हेल्थ सर्भिस् (इएचएस) भने बन्द गर्ने मन्त्रालयको योजना छ । हाल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल लगायतले दिउँसो ३ बजेपछि ईएचएस सेवा प्रवाह गरिरहेका छन् । 

इन्सेन्टीभबारे मापदण्ड निर्धारण गर्न मन्त्रालयले नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत रहेका डा. लोचन कार्कीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । 

समितिले अतिरिक्त समय काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीहरूरुको पारिश्रमिक, अतिरिक्त सेवा भत्ता, सार्वजनिक बिदामा काम गर्दाको दिनको भत्ता लगायतलाई समेटेर रिपोर्ट तयार पारेको छ । 

चिकित्सक स्वास्थ्यकर्मीको पारिश्रमिक बढाउने तथा कार्यसम्पादनका आधारमा इन्सेन्टीभ बढाउनेगरी समितिले सिफारिस गरेको संयोजक डा. कार्कीले बताए । यही रिपोर्टमा अतिरिक्त ड्युटी गरेबापतको अंकभार पनि निर्धारण गरिएको छ । 

रिपोर्टले एक स्वास्थ्य संस्था एक चिकित्सक/स्वास्थ्यकर्मीको अवधारणालाई पनि कार्यान्वयन गर्न सहज हुने डा. कार्कीको बुझाइ छ । समितिले बुधबार मन्त्रीसमक्ष रिपोर्ट पेस गर्दै छ । 

हाल सार्वजनिक बिदाका दिनमा समेत केही अस्पतालले हाफ ओपीडी सेवा प्रवाह गरिरहेका छन् । तर, त्यसबापत चिकित्सक/स्वास्थ्यकर्मीले कुनै भत्ता र सेवा सुविधा नपाएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताए । 

मन्त्रालयले इन्सेन्टीभको व्यवस्था गरेमा अहिलेकै जनशक्तिले पनि दुई सिफ्ट ओपीडी सेवा सञ्चालन गर्न सम्भव रहेको उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro