site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनसुनजन्य विपद्‌मा मानवीय क्षति साढे दुई गुणाले बढ्यो 
गोरखाको धार्चे पहिरोको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । मनसुनजन्य विपद्‌मा मानवीय क्षति गत वर्षको तुलनामा यसपालि साढे दुई गुणाभन्दा बढीले वृद्धि भएको छ ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकानुसार, यो वर्ष मनसुन सुरु भएपछिका ७६ दिनमा उक्त विपद्का घटनामा परी १९७ जनाको मृत्यु भएको छ । यो वर्ष जेठ २८ गते नेपालमा मनसुन प्रवेश गरेको थियो । ०८१ जेठ २८ देखि भदौ ८ गतेसम्मका ७६ दिनमा मनसुनजन्य विपद्का घटनामा उक्त संख्यामा नेपालीको मृत्यु भएको हो ।

गत वर्ष (०८०) जेठ ३१ गते नेपालमा मनसुन प्रवेश गरेको थियो । ०८० जेठ ३१ देखि भदौ ८ गतेसम्मका ७३ दिनको अवधिमा मनसुनजन्य विपद्का घटनामा परी नेपालमा ७५ जनाको मृत्यु भएको केन्द्रको तथ्यांकले देखाउँछ ।

Dabur Nepal
NIC Asia

यो वर्ष मनसुन सुरु भएयताको अवधिमा मनसुनजन्य विपद्का एक हजार ४४५ घटना रेकर्ड गरिएको छ । ती घटनामा ४४ जना बेपत्ता छन् । २४० जना घाइते भएका छन् ।

बाढीपहिरो, भारी वर्षा, चट्याङजस्ता मनसुनजन्य विपद्का घटनाबाट यो वर्ष चार हजार ४१९ परिवार प्रभावित भएका छन् । यस्ता विपद्का घटनाले १९७ घरमा आंशिक र २५५ मा पूर्ण क्षति गरेको छ । सोही अवधिमा मनसुनजन्य विपद्का घटनामा परी ९११ चौपायाको मृत्यु भएको छ ।

०८० मा मनसुन सुरु भएपछिका ७३ दिनको अवधिमा उक्त विपद्का ७७६ घटना रेकर्ड गरिएको थियो । ती घटनामा परी २९ जना बेपत्ता भएका थिए । १०२ जना घाइते भएका केन्द्रको तथ्यांकले देखाउँछ ।

गत वर्षको उक्त अवधिमा मनसुनजन्य विपद्का घटनाबाट पाँच हजार ९२९ परिवार प्रभावित भएका थिए । ती घटनाले ७०६ घरमा आंशिक र २२३ मा पूर्ण क्षति गरेको थियो । उक्त अवधिमा मनसुनजन्य विपद्का घटनामा परी ४७२ चौपायाको मृत्यु भएको थियो ।

गत वर्षभन्दा दुई गुणा बढी मानवीय क्षति 
राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकानुसार, गत वर्षको मनसुन अवधिमा उक्त विपद्ले गरेको भन्दा दुई गुणा बढी मानवीय क्षति यसपालिका साढे दुई महिनामा भइसकेको छ ।

०८० मा जेठ ३१ देखि असोज २८ गतेसम्म कुल १२४ दिन नेपालमा मनसुन अवधि थियो । गत वर्ष औसतभन्दा १२ दिन ढिलो गरी पानी पार्ने मनसुन प्रणाली नेपालबाट बाहिरिएको थियो ।

गत वर्ष नेपालमा मनसुनको कुल अवधिमा रेकर्ड गरिएका ८९१ उक्त विपद्का घटनामा परी ९२ जनाको मृत्यु र ३० जना बेपत्ता भएका थिए । उक्त अवधिमा ती घटनामा परी १६८ जना घाइते भएका थिए । यो वर्ष मनसुन सुरु भएपछिका साढे दुई महिनामा उक्त विपद्का घटनामा परी १९७ जनाको मृत्यु र ४४ जना बेपत्ता भएका छन् ।

१० वर्षमा तीन हजारभन्दा बढीको मृत्यु 
मनसुनजन्य विपद्का घटनामा परी पछिल्लो १० वर्षमा नेपालमा तीन हजार ५२ जनाको मृत्यु भएको छ । ०७१ देखि ०८० सम्म विपद्का घटनामा परी उनीहरूले ज्यान गुमाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बितेको १० वर्षमा बाढीका एक हजार ६०२, पहिरोका दुई हजार ८४०, भारी वर्षाका एक हजार ५९७ र चट्याङका दुई हजार ४०० गरी कुल आठ हजार ४४१ मनसुनजन्य विपद्का घटना रेकर्ड गरिएको थियो । उक्त अवधिमा बाढीमा परी ७४९, पहिरो खस्दा एक हजार ३१४, भारी वर्षाका कारण १०६ र चट्याङ लागेर ८८५ जनाको मृत्यु भएको थियो ।

पछिल्लो १० वर्षमा मनसुनजन्य विपद्का घटनामा परी ७९१ जना बेपत्ता भएका छन् । चार हजार १७६ जना घाइते भएका थिए । १० वर्षमा ८५ हजार ६४६ परिवार यस्ता घटनाबाट प्रभावित भएका प्राधिकरणको तथ्यांकले देखाउँछ ।

पछिल्लो १० वर्षमा मनसुनजन्य विपद्का घटनाबाट ४६ हजार ६९ घरमा आंशिक र १६ हजार ५४ मा पूर्ण क्षति भएको छ । उक्त अवधिमा मनसुनजन्य विपद्का घटनाबाट १८ अर्ब ७१ करोड रुपैयाँको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro