काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा बिहीबार एक्कासि बाढी आएको छ । बिहीबार अचानक आएको बाढीको कारण भने खुलिसकेको छैन ।
खुम्बु पासाङल्यामु गाउँपालिका–५ का अध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले चीनबाट आउने डिक्चोमाथिको भागबाट र सगरमाथा र आमादब्लमतर्फबाट नभएर ससाना हिमताल भएको क्षेत्रतर्फबाट बाढी आएको जानकारी दिए । उनका अनुसार ठूला हिमताल नभएको क्षेत्रबाट बाढी आएकाले ससाना हिमताल फुटेर जोडिँदै जाँदा ठूलो बाढी आएको हुन सक्छ ।
“टासिलाप्चा तर्फबाट बाढी आएको छ । ससाना ‘ग्लेसिएल लेक’ थपिएर ब्रस्ट भएको हुन सक्छ,” वडाध्यक्ष शेर्पाले भने, “पहिरोले थुनिएर आएको पनि हुन सक्छ ।”
उनले कति टाढादेखि बाढी आइरहेको छ भनेर यकिन हुन सकेको छैन ।
जल तथा मौसम विज्ञान विभागले त्यस क्षेत्रमा लगातार वर्षा भइरहेको र त्यो क्रम बढ्दो क्रममा देखिएको जनाएको छ । विभागका अनुसार यही अगस्ट १३ मा त्यस क्षेत्रमा करिब २५ मिलिमिटर वर्षा मापन गरिएको छ । शुक्रबार त्यस क्षेत्रमा करिब ४५ मिलिमिटर वर्षा भएको विभागको तथ्यांक छ ।