site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रत्येक मिनेटमा तीन पासपोर्ट बन्छन्, तीन जनाले नेपाल छाड्छन् 
SkywellSkywell

काठमाडौं । परराष्ट्र मन्त्रालयको राहदानी विभागले एक वर्षको अवधिमा झण्डै १५ लाख पासपोर्ट जारी गरेको छ । ती पासपोर्ट गत आर्थिक वर्ष २०८०/८१ मा जारी भएका हुन् । 

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालका अनुसार, गत आर्थिक वर्ष राहदानी विभागले १४ लाख ७३ हजार ३२५ थान पासपोर्ट जारी गरेको छ । यो संख्या नेपालमा हालसम्म एकैवर्ष जारी भएका पासपोर्टमा सबैभन्दा ठूलो हो ।

यसअघि आर्थिक वर्ष २०७९/८० मा विभागले एकैवर्ष सबैभन्दा ठूलो संख्यामा पासपोर्ट जारी गरेको थियो । उक्त वर्ष १४ लाख ७१ हजार २६४ थान पासपोर्ट जारी गरिएको थियो । 

Dabur Nepal
NIC Asia

गत आर्थिक वर्ष काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागबाट ३ लाख ४६ हजार २०१ थान, ७७ जिल्ला प्रशासन कार्यालयबाट ८ लाख ६ हजार ६१ थान र विभिन्न देशमा रहेका नेपाली नियोगहरूबाट ३ लाख २१ हजार ६३ थान पासपोर्ट जारी भएका थिए । 

राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । विभागको तथ्याङ्कले नेपालको कुल जनसंख्याको ५.०५ प्रतिशतले एकै वर्ष पासपोर्ट लिएको देखिन्छ ।

आर्थिक वर्ष २०८०/८१ मा राहदानी विभागले प्रत्येक महिना औसतमा १ लाख २२ हजार ७७७ थानभन्दा बढी पासपोर्ट जारी गरेको थियो । उक्त वर्ष प्रत्येक दिन औसतमा ४ हजार ३६ थानभन्दा बढी पासपोर्ट जारी भएको विभागको तथ्याङ्कले देखाउँछ ।

विभागले गत आर्थिक वर्ष एक घण्टामा औसतमा १६८ थानभन्दा बढी र एक मिनेटमा २.८० थान पासपोर्ट जारी गरेको थियो । अर्थात् प्रत्येक मिनेटमा नेपालले झण्डै तीन थान पासपोर्ट जारी गर्दै आएको छ ।

पासपोर्ट विदेश जान बनाइन्छ । अध्ययन, वैदेशिक रोजगारी, घुमघाम बहाना जेसुकै होस् पासपोर्ट र सम्बिन्धत देशको भिसा नभई विदेश जान पाइँदैन । 

अध्यागमन विभागको तथ्याङ्क अनुसार, सन् २०२३ मा १६ लाख ३ हजार ८३६ जना नेपाली विभिन्न उद्देश्यले विदेश गएका थिए । उक्त वर्ष औसतमा प्रत्येक महिना १ लाख ३३ हजार ६५३ जना, प्रत्येक दिन ४ हजार ३९४ जना, प्रत्येक घण्टा १८३ जना र प्रत्येक मिनेट ३.५ जना नेपाली देश छोडी विदेश गएका थिए ।

पासपोर्ट बनाएर विदेश जानेमा सबैभन्दा ठूलो संख्या वैदेशिक रोजारीमा जानेको छ । अध्यागमनका अनुसार, सन् २०२३ मा ८ लाख ८ हजार ४१५ जना रोजगारीका लागि विदेश गएका थिए । 

अर्थात् उक्त वर्ष वैदेशिक रोजगारीमा जाने क्रममा औसत प्रत्येक महिना ६७ हजार ३६७ जना, प्रत्येक दिन २ हजार २१४ जना, प्रत्येक घण्टा ९२.२८ जना र प्रत्येक मिनेट १.५३ जनाले देश छोडेका थिए । 

वैध पासपोर्ट ७० लाख 

नेपालले जारी गर्ने पासपोर्टको वैध अवधि १० वर्षको हुनेगर्छ । अर्थात् एक पटक लिएको पासपोर्ट १० वर्षसम्म प्रयोग गर्न सकिन्छ । यसअनुसार पछिल्लो ९ वर्षयता जारी भएका पासपोर्ट सयमका अवधिले वैध छन् ।
 
राहदनी विभागको तथ्याङ्क अनुसार, पछिल्लो ९ वर्षमा ६९ लाख ९९ हजार २२८ जारी भएका छन् । समयका हिसाबले यी सबै पासपोर्ट वैध छन् । यसैकारण विभागले वर्ष दिनमा जारी गर्ने पासपोर्टको संख्याभन्दा सोही अवधिमा विदेश जाने नेपालीको संख्या बढी देखिएको हो ।

जनसंख्याको अनुपातमा भारत र श्रीलंकामाभन्दा बढी पासपोर्ट बन्छन्

जनसंख्याको अनुपातमा भारतमाभन्दा नेपालमा तीन गुणा बढी पासपोर्ट जारी भएको देखिन्छ । 

भारतको विदेश मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार सन् २०२३ मा भारतले कुल १ करोड ६५ लाख पासपोर्ट जारी गरेको थियो ।  यीमध्ये १ करोड ३७ लाख ५४ हजार ४२२ थान पासपोर्ट भारतभित्र र बाँकी विभिन्न देशमा रहेका भारतीय नियोगले जारी गरेका थिए ।

भारतको कुल जनसंख्यामध्ये सन् २०२३ मा १.१५ प्रतिशतले पासपोर्ट बनाएका थिए ।  गत आर्थिक नेपालको कुल जनसंख्याको ५.०५ प्रतिशतले पासपोर्ट बनाएका थिए । जनसंख्याको अनुपातमा भारतमाभन्दा नेपालमा पासपोर्ट बनाउनेको संख्या ३.०६ गुणाले बढी छ ।

दक्षिण एसियाली अर्को राष्ट्र श्रीलंकाको तुलनामा पनि नेपालमा ठूलो संख्यामा पासपोर्ट जारी भएको देखिन्छ । 

श्रीलंकाको अध्यागमन विभागका अनुसार, सन् २०२३ मा श्रीलंकाले कुल ९ लाख ८ हजार ७२२ थान पासपोर्ट जारी गरेको थियो । उक्त वर्ष श्रीलंकाको कुल जनसंख्याको ४.१४ प्रतिशतले पासपोर्ट बनाएका थिए ।

१४ वर्षमा कति पासपोर्ट जारी भए ? 

राहदानी विभागका महानिर्देशक अर्यालका अनुसार, बितेको १४ वर्षमा नेपालले १ करोड ४ लाख ९८ हजार २२६ थान पासपोर्ट जारी गरेको छ ।  यो संख्या राहदानी विभागमा बनेर विभाग, जिल्ला प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगले जारी गरेको पासपोर्टको हो ।

नेपालले उक्त सख्यामा पासपोर्ट आर्थिक वर्ष २०६७/६८ देखि २०८०/८१ सम्मको अवधिमा जारी गरेको हो ।

नेपालले हस्तलिखित पासपोर्ट बन्द गरी मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) जारी गर्न सुरु गरेपछि उक्त संख्यामा पासपोर्ट जारी गरेको हो । यसमा विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) पनि समावेश गरिएको छ ।

राहदानी विभागले हस्तलिखित राहदानी बन्द गरी २०६७ मंसिर १० गतेबाट एमआरपी जारी गर्न सुरु गरेको थियो ।  यस्तै, विभागले एमआरपीबाट स्तरोन्नति गर्दै २०७८ मंसिर १ गतेदेखि ई–पासपोर्ट जारी गर्न सरेको थियो ।

महानिर्देशक अर्यालका अनुसार, बितेको १४ वर्षमा विभागबाट ३५ लाख ७६ हजार ४६८, जिल्ला प्रशासन कार्यालयहरूबाट ५५ लाख ४७ हजार ३०६ र विदेशस्थित नेपाली नियोगहरूबाट १३ लाख ७४ हजार ४५२ थान पासपोर्ट जारी गरिएको थियो ।
उक्त अवधिमा ७० लाख ८३ हजार ७३७ थान एमआरपी र ३४ लाख १४ हजार ४८९ थान ई–पासपोर्ट जारी भएका छन् ।

नेपालले आर्थिक वर्ष २०६७/६८ मा १ लाख ७३ हजार ७६२ थान, २०६८/६९ मा ४ लाख ७ हजार ५३२ थान, २०६९/७० मा ५ लाख ६८ हजार १२७ थान, २०७०/७१ मा १० लाख १२ हजार ७३९ थान, २०७१/७२ मा १३ लाख ३६ हजार ८३८ थान र २०७२/७३ मा ८ लाख ७० हजार ३४६ थान पासपोर्ट जारी गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ५ लाख ५७ हजार १८८ थान, २०७४/७५ मा ५ लाख ३१ हजार ६३३ थान, २०७५/७६ मा ५ लाख १५ हजार १४६ थान, २०७६/७७ मा ३ लाख ९८ हजार ८४२ थान, २०७७/७८ मा ३ लाख ४९ हजार १७५ थान, २०७८/७९ मा ८ लाख ३२ हजार ३०९ थान, २०७९/८० मा १४ लाख ७१ हजार २६४ थान र २०८०/८१ मा १४ लाख ७३ हजार ३२५ थान पासपोर्ट जारी गरिएको थियो ।

छिमेकी देश भारलते पछिल्लो १० वर्षमा १० करोड थानभन्दा बढी पासपोर्ट जारी गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu