site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
तपाईंले सिनेमा खेल्नु पर्दैन, चलचित्रमैत्री कानुन बनाइदिए पुग्छ
SkywellSkywell

काठमाडौं । गएको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्रका लागि डबिङ गरेको समाचार प्रकाशित भयो । उनले अभिनय गरेको चलचित्रको पोस्टर सोमबार सार्वजनिक गरियो । पोस्टरमा ओली केन्द्रमा छन् । पोस्टरमा अरूलाई भन्दा उनलाई प्राथमिकता दिइएको छ ।

ओली अभिनीत चलचित्र ‘नमेटिने घाउ’ आउँदो भदौ ७ गते रिलिज हुनेछ । सिनेमामा प्रधानमन्त्री ओलीको अभिनय देखिनेछ । उनलाई दर्शकले यो चलचित्रमा प्रधानमन्त्रीको भूमिकामा देख्नेछन् ।

प्रधानमन्त्री ओलीको मात्र होइन, यो सिनेमामा पूर्वप्रधामन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको पनि अभिनय छ । उनले पनि डबिङ गरिसकेका छन् ।

Dabur Nepal
NIC Asia

रमित ढुंगानाले निर्देशन गरेको यो चलचित्रमा राप्रपाका नेता तथा पार्टी संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री देवेन्द्र पौडेलको पनि अभिनय छ । यी सबै नेताको अभिनय कला यो चलचित्रमा देखिनेछ ।

‘नमेटिने घाउ’ मात्र होइन, प्रधानमन्त्री ओलीले अर्को चलचित्रमा पनि काम गरेका छन् । त्यो हो, ‘रातो सूर्य’ । दीपेन्द्र दाहालले निर्देशन गरिरहेको उक्त सिनेमाको निर्माण सम्पन्न हुन बाँकी छ । ‘रातो सूर्य’को निर्माण थालिएको ६ वर्ष भइसकेको छ ।

‘रातो सूर्य’को हिरो ओली नै हुन् । ओलीको जीवनकथामाथि चलचित्र बनिरहेको हो । यसमा ओली आफैँले अभिनय गरिरहेका छन् । यो चलचित्रमा ओलीको बाल्यकालदेखि ६५ वर्षको अवधिलाई प्रस्तुत गरिने बताइएको छ । निर्देशक दाहालका अनुसार, ओलीको १६ देखि ४५ वर्ष उमेरसम्मको भूमिका कलाकार अनुपम शर्माले निर्वाह गरिरहेका छन् । ४५ देखि ६५ वर्षसम्मको भूमिकामा ओली स्वयंले अभिनय गरिरहेका हुन् । ओलीलाई पारिश्रमिक समेत दिइने निर्देशक दाहालले बताएका थिए ।

‘रातो सूर्य’को द्वन्द्व सिनको छायांकन सकिइसकेको छ । ड्रामाका केही काम बाँकी छ । अब करिब ३० प्रतिशत छायांकन बाँकी छ । अरू काम सकिइसकेको छ ।

नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले चलचित्रका लागि समय दिए । पक्कै राम्रो हो, यो सिनेकर्मी र चलचित्र क्षेत्रकै निम्ति सम्मान पनि हो । चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गरेको छैन भन्ने रूपमा पनि उनले सिनेमाका निम्ति निकालेको समयलाई बुझ्न सकिएला ।

तर, चलचित्रकर्मी र यो क्षेत्रको विकासका लागि प्रधानमन्त्रीले सिनेमा नै खेल्दै हिँड्नुपर्छ कि अनुकूल वातावरण बनाइदिने हो ? चलचित्र निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँ नेता तथा प्रधानमन्त्रीले चलचित्रमा अभिनय गरिदिएर सदाशयता राख्नु राम्रो भए पनि प्राथमिकता निर्धारण गर्नु उचित हुने बताउँछन् ।

“यहाँ सबैलाई हिरो हुनुपर्नेछ, मिडियाबाजी चाहिएको छ । के गर्दा सामाजिक सञ्जालमा छाइन्छ, त्यही गरिरहेको अवस्था छ,” उनी भन्छन् ।

चलचित्र क्षेत्रको विकासका निम्ति गर्नुपर्ने काम थुप्रै छन् । ती काम गरिदिए यो क्षेत्र र सिनेकर्मीको हित हुनेमा उनी जोड दिन्छन् । चलचित्र विकास बोर्डलाई नै स्वायत्त बनाउनुपर्ने माग वर्षौँदेखि राखे पनि सम्बोधन नगरिएको उनको गुनासो छ ।

“विकास बोर्डमा नै गर्नुपर्ने थुप्रै काम छन् । नयाँ चलचित्र ऐन नै आउन सकेको छैन, त्यसलाई पास गरिदिए हुने थियो,” रवीन्द्र अगाडि थप्छन्, “तत्कालको वाहवाही र चर्चाका लागि भन्दा पनि दीर्घकालीन फाइदा केमा छ, त्यसतर्फ नेता र सरकारले सोच्नुपर्ने हो ।”

ओलीलाई नै भेटेर चलचित्र क्षेत्रको विकासका निम्ति पटक–पटक आग्रह गरिएको उनी स्मरण गर्छन् । “भेट्दा नेताहरू बुझेजस्तो पनि गर्छन्, हुन्छ पनि भन्छन्,” रवीन्द्र भन्छन्, “तर, कर्मचारीले जे ब्रिफिङ गर्‍यो, फेरि त्यसकै पछि लाग्छन् । सत्यतथ्य बुझेर बोल्ड डिसिजन गर्न सक्दैनन् । यो देख्दा देश नेताले चलाइरहेका छन् कि कर्मचारीले भन्नेजस्तो लाग्छ ।”

अभिनेता तथा निर्देशक खगेन्द्र लामिछाने चलचित्रमा नेता एवं प्रधानमन्त्री खेल्नुलाई नकारात्मक रूपमा लिनु नपर्ने टिप्पणी गर्छन् । तर, आवश्यकता हो कि होइन र प्राथमिकता के भन्ने विषयले अर्थ राख्ने उनी बताउँछन् ।

“सरकारले गरिदिने काम हजारौँ छन्, ती काम गरिदिए हुन्छ । चलचित्र बनाउने र खेल्ने काम हाम्रो हो, त्यो हामी गरिरहेका छौँ,” खगेन्द्र भन्छन्, “चलचित्र छायांकनका लागि सहजीकरण गरिदिए हुन्छ । नयाँ ऐन आउन सकेको छैन, त्यो बनाइदिए हुन्छ । प्रोडुसर सकेसम्म नडुब्ने वातावरण बनाइदिए त्यो नै हाम्रा लागि सहयोग हुनेछ ।”

नेता तथा प्रधानमन्त्री आफैँ सिनेमामा खेलेर चलचित्र उद्योगको विकास कहीँ पनि नभएको खगेन्द्र सुनाउँछन् ।

पर्दामा देखिने हिरोहिरोइनको ग्ल्यामर मात्र राजनीतिज्ञले देखिरहेको निर्देशक मनोज पण्डितको बुझाइ छ । पर्दामा नायकनायिकाको ग्ल्यामर देखेर लोभिने नेताहरू फुर्सदमा सिनेमा खेल्ने गरेको उनको धारणा छ ।

“हाम्रा नेता तथा मन्त्रीहरूले पर्दाको ग्ल्यामर मात्रै देखे, पर्दापछाडिका समस्याबारे उनीहरू अनविज्ञ छन्,” मनोज भन्छन्, “पर्दासँग लगाव छ, तर पर्दापछाडिका समस्या र विवशतासँग उनीहरूलाई मतलब छैन ।”

पर्दापछाडि के कस्ता समस्या छन् भन्ने बुझ्ने नेताहरूमा चासो नरहेको उनी टिप्पणी गर्छन् । चलचित्र क्षेत्रमा थुप्रै समस्या रहेको तर समाधानका निम्ति अग्रसरता देखाउने राजनीतिज्ञ कोही नरहेको उनको भनाइ छ ।

“पर्दामा झकिझकाउ देखिने चलचित्र क्षेत्रका समस्याबारे नेता तथा मन्त्रीहरूले बुझ्न आवश्यक छ । तर, २०४६ र ०६२/०६३ को आन्दोलनबाट आएको पुस्ताले चलचित्र क्षेत्रलाई बुझेन,” उनी अगाडि थप्छन्, “अब नयाँ पुस्ता स्थापित भएपछि मात्रै चलचित्र क्षेत्रका समस्याको सम्बोधन भयो भने मात्रै हो, अहिलेका राजनीतिज्ञले यो क्षेत्रलाई बुझेनन् ।”

नयाँ पुस्ताले हिरोहिरोइन र पर्दापछाडिको भेदलाई बुझ्ने उनको विश्वास छ । पर्दामा हेर्दा चमकदमक र आकर्षक देखिए कठिन अवस्थाबाट चलचित्र क्षेत्र गुज्रिरहेको मनोज बताउँछन् ।

ओलीले अभिनय गरेको चलचित्र ‘नमेटिने घाउ’को पोस्टरमा वरिष्ठ प्रहरी अधिकारीहरू पनि छन् । प्रहरी उपरीक्षकद्वय बालनरसिंह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायत अधिकारीलाई समेत यो चलचित्रमा देख्न सकिनेछ ।

प्रहरी अधिकारीहरू आफैँ चलचित्रमा देखिनु पनि यो उद्योगका निम्ति सदाशयता नै हो । पर्दामा देखिनुभन्दा उनीहरूले काममा सहजीकरण गरिदिए सिनेकर्मीलाई ठूलो फाइदा हुनेछ ।

तर, अवस्था त्यस्तो छैन । प्रहरीले बेलाबेलामा चलचित्रकर्मीलाई दुःख दिँदै आएको छ । प्रहरीको युनिफर्म प्रयोग र उनीहरूलाई भ्रष्ट देखाउने सवालमा चलचित्रकर्मीलाई सहजीकरणभन्दा पनि अवरोध गरिँदै आएको छ । प्रहरीसँग जोडिएको कथा भए ‘हेडक्वाटर’मा स्क्रिप्ट देखाउन दबाब दिइँदै आएको छ ।

सेन्सर जाँचपासमा पनि सरकारी अधिकारीले सकेसम्म अवरोध गर्ने गरेको चलचित्रकर्मीले गुनासो गर्दै आएका छन् । हिन्दी र अंग्रेजी भाषाका सिनेमालाई सहजै सेन्सर दिने सेन्सर बोर्डले नेपाली चलचित्रमा सानासाना विषय हटाउन लगाउने गरेको छ । त्यसैले आफैँ अभिनय गरेर चलचित्रप्रति सदाशयता देखाउनुभन्दा कानुनी रूपमा सहज वातावरण बनाइदिनुपर्नेमा कलाकारहरूको जोड छ ।

प्रधानमन्त्री ओलीले केही समयअघि ‘फर्की फर्की’, ‘पुजार सार्की’, ‘गाउँ आएको बाटो’ रिलिज हुँदा यी चलचित्र राम्रा छन् भन्ने सुनेको भन्दै समय मिले आफूले पनि हेर्ने बताएका थिए । उनले शुभकामना दिएका थिए । यसरी शुभेच्छा प्रदान गर्नु सकारात्मक भए पनि पर्दापछाडि चलचित्रकर्मीले भोगिरहेका समस्या समाधानमा ध्यान दिनुपर्नेमा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का जोड दिन्छन् ।

“प्रहरीको युनिफर्म, बन्दुक र भ्यान प्रयोग गर्न सहज छैन । बिनाअनुमति प्रयोग गरेको भन्दै प्रहरीले समाउने, थुन्ने, मुद्दा चलाउने गर्छ,” कलाकार, निर्देशक तथा निर्माता समेत रहेका नवल भन्छन्, “कानुन तथा नीति–नियम बनाएर सहज गरिदिनुपर्नेमा यहाँ प्रधानमन्त्रीलाई समेत हिरो हुनुपर्नेछ ।”

प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरूले सिनेमामा अभिनय गरेर गुन लगाउनुभन्दा हेरिदिए मात्र पुग्ने उनी बताउँछन् । “हामीले बनाएको चलचित्र हेरिदिन आग्रह गर्दा पनि नेता तथा मन्त्रीहरू आउनु हुन्न,” नवल गुनासो गर्छन्, “घरघरै पुगेर सिनेमा हेरिदिन आग्रह गर्दै चिठी पुर्‍याउँदा पनि आउनु हुन्न । हामीले बनाएका चलचित्र हेरिदिए मात्रै पुग्छ, खेलिरहनु नै पर्दैन ।”

देशभक्ति सिनेमा बनाएर हेर्न बोलाउँदा पनि नेताहरू नआउने गरेको तितो अनुभव आफैँसँग रहेको उनी सुनाउँछन् । “देशभक्ति सिनेमा बनाएर हेर्न बोलाउँदा आउँछु भनेर पनि आउनु हुन्न,” नवल भन्छन्, “यस्ता राजनीतिज्ञले सिनेमा खेलेर म चलचित्रकर्मीको पक्षमा छु भनेर भ्रम सिर्जना गर्नु पर्दैन । हामीलाई को कति चलचित्र क्षेत्रप्रति सकारात्मक र उदार छ भन्ने थाहा छ ।”

अनावश्यक उडन्ते गफ गरेर समय बिताउने नेताले समेत चलचित्र हेर्न समय नरहेको बताउने गरेको उनको आरोप छ । राजनीतिज्ञबाट चलचित्र क्षेत्रमैत्री कानुनको अपेक्षा गरिएको उनी बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu