
काठमाडौं । संयुक्त राष्ट्रसंघमा चिनका स्थायी प्रतिनिधि फु कङले मध्यपूर्व विषयको आपतकालीन बैठकमा इजरायलले इरानको सम्प्रभुता, सुरक्षा र अखण्डतामा गरेको हस्तक्षेपलाई कडा निन्दा गर्ने बताएका छन् । उनले इजरायललाई तुरुन्त सबै प्रकारको सैन्य कारबाही रोक्न आग्रह गरेका छन् ।
यो टिप्पणी इजरायलले इरानी सैन्य र परमाणुस्थलहरूमा गरको ठूलो आक्रमणपछि आएको चीनको ग्लोबल टाइम्स अखबारले जनाएको छ ।
चिनियाँ एक विज्ञले इजरायलले इरानी परमाणु कार्यक्रम उत्कर्षमा पुगिसकेको र प्राविधिक क्षमता हासिल गरिसकेको भन्दै मध्यपूर्वमा इजरायलको परमाणु प्रभुत्व कायम राख्न अमेरिका–इरान वार्तामा भर नपरी यसलाई नष्ट वा ढिला गर्न खोजेको टिप्पणी गरेका छन् ।
फु कङले शुक्रबार इजरायलले इरानभित्र धेरै लक्ष्यहरूमा ठूलो आक्रमण गरेको, इरानी परमाणु सुविधाहरू क्षतिग्रस्त भएको र जनधनको क्षति भएको बताउँदे उनले चीनले तनाव बढाउने र संघर्ष फैलाउने कुनै पनि कामको विरोध गर्ने बताए । उनले इजरायलको कारबाहीको गम्भीर परिणामहरूबारे चिन्ता व्यक्त गरेका थिए ।
उनले क्षेत्रीय तनाव अचानक बढ्नु कसैको हितमा नभएको बताउँदै इजरायललाई तुरुन्त सबै सैन्य कारबाही रोक्न र अझ बढ्न नदिन आग्रह गरे ।
उनले सबै पक्षहरूलाई संयुक्त राष्ट्रसंघको घोषणापत्र र अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै वार्ताद्वारा विवाद समाधान गर्न र क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न आह्वान गरे ।
परमाणु अप्रसार सन्धिको हस्ताक्षरकर्ता भएको इरानले शान्तिपूर्ण उद्देश्यका लागि परमाणु ऊर्जा प्रयोग गर्ने वैधानिक अधिकार राख्ने र यसलाई पूर्णरूपमा सम्मान गर्नुपर्नेमा जोड दिएको समाचारमा उल्लेख छ ।