
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन भएको सोमबार १५ दिन पुगेको छ । प्रधानमन्त्री ओली र मन्त्रीले असार ३१ गते पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेका थिए ।
प्रधानमन्त्री र मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिई कार्यभार सम्हाल्न सुरु गरेयताको १५ दिनमा नेपालमा रहेका केही देशका राजदूतको अस्वाभाविक दौडधूप देखिएको छ । खासगरी नेपालका लागि भारतीय र चिनियाँ राजदूतको । यो दौड दौडधूपमा भारतीय र चिनियाँ राजदूतको पछिपछि अमेरिकी राजदूत देखिएका छन् ।
“प्रधानमन्त्री र मन्त्रीहरूलाई भेट्न राजदूतहरूको यस्तो दौडधूप र तछाडमछाड त विश्वका अन्य देशमा हुँदैन,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले बाह्रखरीसँग भन्यो, “राजदूतका कति भेटघाट त मन्त्रालयले पनि भइसकेपछि मात्र थाहा पाउने गरेको छ ।”
कूटनीतिक आचार–संहिता, २०७७ मा विदेशी कूटनीतिज्ञसँग कसरी भेटवार्ता गर्ने भन्ने स्पष्ट उल्लेख छ । तर आचार–संहिताको बिरलै पालना हुने गरेको छ ।
कूटनीतिक आचार–संहिता २०७७ मा स्पष्ट शब्दमा भनिएको छ, “विदेशी पदाधिकारीसँग शिष्टाचार भेट, औपचारिक वार्ता वा बैठक गर्ने सम्बन्धमा मन्त्रालय (परराष्ट्र) मार्फत पत्राचार गर्नुपर्नेछ । त्यस्तो भेट, वार्ता वा बैठकमा भएका छलफल तथा कुराकानीको महत्वपूर्ण अंशको संक्षिप्त टिपोट मन्त्रालय (परराष्ट्र)मा पठाउनु पर्नेछ ।”
त्यतिमात्र होइन, कूटनीति आचार–संहितामा विदेशी पदाधिकारीसँग शिष्टाचार, बिदाइ भेट, औपचारिक वार्ता वा बैठक गर्दा परराष्ट्र मन्त्रालय र विषयसँग सम्बन्धित मन्त्रालयलाई पूर्व जानकारी गराई ती मन्त्रालयका प्रतिनिधिलाई समेत आमन्त्रण गर्नुपर्ने उल्लेख छ ।
“नयाँ सरकार गठन भएपछि राजदूतहरूले प्रधानमन्त्री र सरोकारवाला मन्त्री (परराष्ट्रमन्त्री) सम्मलाई भेट्नु सामान्य हो । तर अन्य मन्त्री भेट्नु त्यो पनि एउटालाई होइन, आधा दर्जनभन्दा बढीलाई, यसलाई सामान्य रुपमा लिनु हुँदैन,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो ।
नयाँ सरकारले कार्यभार सम्हालेयताको १५ दिनमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले कम्तीमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित आठ मन्त्रीसँग शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।
यो अवधिमा भारतीय राजदूतले प्रधानमन्त्री ओली, उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्का, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही शिष्टाचार भेटवार्ता गरेका छन् ।
भारतीय राजदूतका पछिल्ला भेटवार्ता सम्बन्धमा नेपालस्थित भारतीय दूतावासले न त कुनै विज्ञप्ति निकाली जानकारी दिएको छ न त सामाजिक सञ्जालमा नै केही उल्लेख गरेको छ ।
नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पनि पछिल्लो १५ दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कम्तीमा ८ जना मन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
चिनियाँ राजदूतले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा, उप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेक लेखक, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र उर्जा, जलास्रोत तथा सिँचाई मन्त्री दीपक खड्कासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
नेपालका लागि चिनियाँ राजदूत छनले आफूले गरेका भेटवार्ता सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका छन् ।
“विदेशी राजदूतले सबै मन्त्रीसँग भेटी विकास र सहयोगको प्रतिवद्धता जनाउँदै हिँड्ने हो यो देशमा परराष्ट्र मन्त्रालय किन चाहियो ? राजदूतहरूलाई यस्तो छूट अन्य देशमा हुँदैन,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
प्रधानमन्त्री र मन्त्रीको दैलोमा दौडधूप गर्ने प्रतिस्पर्धामा भारतीय र चिनियाँ राजदूतको पछि पछि नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसन् देखिएका छन् । थम्पसनले पनि पछिल्लो १५ दिनमा करिब आधा दर्जन मन्त्रीसँग भेटवार्ता गरेका छन् ।
नेपालमा लागि अमेरिकी राजदूत थम्पसनले उक्त अवधिमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक लगायतसँग शीष्टाचार भेटवार्ता गरेका छन् ।
कार्यभार सम्हालेयताका १५ दिनमा परराष्ट्रमन्त्री आरजु राणा देउवासँग १३ देशका राजदूतले शिष्टाचार भेटवार्ता गरेका छन् । उक्त अवधिमा भारतीय राजदूत श्रीवास्तव, चिनियाँ राजदूत छन्, अमेरिकी राजदूत थम्पसन, पाकिस्तानका राजदूत अबरार एच हास्मी, युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जो, बेलायती दूतावासको चार्ड डी अफेयर्स पिप्पा बर्ड, श्रीलंकन राजदूत सुदर्शन पाथिराना, यूएईका राजदूत अब्दुल्ला अल शम्सी, इजरायली राजदूत हानान गोडर गोल्बर्गर, स्वीट्जरल्याण्डकी राजदूत डेनियल मेउली मोन्टेलोनी, क्यानडाका गैरआवासीय राजदूत क्यामरन म्याके, जापानी राजदूत किकुता युताका र दक्षिण कोरियाका राजदूत पार्क टेयोङले परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
पछिल्लो १५ दिनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पनि आधा दर्जनभन्दा बढी देशका राजदूत तथा प्रतिनिधिले शिष्टाचार भेटवार्ता गरेका छन् । अर्थमन्त्रीसँग भारतीय, चिनियाँ, अमेरिकी, दक्षिण कोरियन, स्वीस राजदूतहरूले भेटवार्ता गरेका छन् ।
त्यही अवधिमा नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड एन सिस्लेनल र एसियाली विकास बैंकका देशीय निर्देशक अर्नाउड काउचोइसले पनि अर्थमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
कूटनीतिक आचारसंहिता अनुसार, परराष्ट्र मन्त्रालयका प्रतिनिधिले भेटघाटका अवसरमा भएको वार्ताको विवरण तयार गर्नुपर्ने, विशेष कारणवश परराष्ट्र मन्त्रालय वा सम्बन्धित मन्त्रालयका पदाधिकारीलाई आमन्त्रण गर्न नसकिएमा कुराकानीको सङ्क्षिप्त टिपोट, महत्वपूर्ण अंश नछुटाई परराष्ट्र मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ । तर यस्ता टिपोट परराष्ट्रले पाउने गरेको छैन ।