बालबालिका मानसिकरूपमा स्वस्थ नहुँदासम्म उनीहरूको सिकाइ स्तरीय हुने अपेक्षा गर्न मिल्दैन । नेपालको विद्यालय शिक्षाको अभ्यास हेर्ने हो भने बालबालिकाको बौद्धिक पक्षको विकासमा मात्रै जनशक्ति र समय खर्चेको देखिन्छ । बालबालिकाको भावनात्मक तथा सामाजिक पक्षको विकासमा खासै ध्यान दिएको पाइँदैन । विद्यालय होस या घर अनि समाज सबै पक्षले पढाइ र सिकाइ उपलब्धिका लागि मात्र बालबालिकालाई दबाब दिने गर्छन् ।
आज बालबालिकामा देखिएका समस्या र अहिलेको परीक्षाको परिणाम विद्यालय, घर अनि समाजले दिएको दबाबको प्रतिफल हो ।
उनीहरू पहिलेजस्तो सामान्य छैनन् । विद्यालयलाई विद्यार्थीहरूको मनको कुरा सुन्ने र सुनाउने स्थान नबनाएसम्म शैक्षिक स्तर सुधार्न सकिँदैन । भौतिक संरचना भएर मात्रै शैक्षिक सुधार हुने होइन । बालबालिकाको मनोसामाजिक समस्या सम्बोधन नगरेसम्म जति नै सुधार गर्छु भने पनि सम्भव हुँदैन । विद्यालयमा शिक्षकशिक्षिकाले पनि बालबालिकाको शैक्षिक सुधार गर्न धेरै दुःख गरेका छन् भने घरमा पनि अभिभावकले मिहेनत गरेका छन् । तर, बालबालिकाको शैक्षिक अवस्थामा भने खासै सुधार आएको देखिँदैन । विद्यालय होस वा घर बालबालिकाको मनको कुरा सुन्ने र सुनाउने थलो नै बन्न सकेन । घरमा पनि डर, त्रास, धम्की, हिंसा र विद्यालयमा पनि यस्तै वातावरणमा बस्नुपरेको हुन्छ । त्यसैको परिणाम अहिले बालबालिकामा देखिएको हो ।
बालबालिकामाथि अहिले चौतर्फी दबाब छ । पढाइ र उत्कृष्ट सिकाइ उपलब्धिका लागि बालबालिकालाई तनावमा सिक्न बाध्य बनाइएको छ । त्यसैले उनीहरू विद्यालयमा पढ्न र बस्न रुचाउँदैनन् । बालबालिकालाई विद्यालय पढ्न होइन सिक्न पठाउने हो । घरमा पनि अभिभावकहरूले पढाउने होइन सिकाउने हो भन्ने बुझ्नुपर्छ । यसको लागि अभिभावकहरू पनि तनावरहित अवस्थामा हुनुपर्छ ।
विद्यालयमा हुने विभिन्न समस्याको कारणले बालबालिकामा तनावजन्य समस्या भएको देखिन्छ । विद्यालयमा साथीहरूले हेप्ने, होच्याउने, गिज्याउने गर्न सक्छन् । बालबालिकालाई शैक्षिक तनाव, साथीहरू र परिवारका सदस्यहरूसँग द्वन्द्व, शारीरिक, यौन, मौखिक र भावनात्मक दुर्व्यवहार, इन्टरनेटको अत्यधिक प्रयोगले बालबालिकामा मनोसामाजिक समस्या देखिएका हुन्छन् । तर, नेपालमा यसको बारेमा खासै अध्ययन र काम भएको पाइँदैन ।
स्तरीय शिक्षा प्रदान गर्ने हो भने भौतिक संरचना र प्रविधि भित्र्याएरमात्रै पुग्दैन । बालबालिकाको मानसिक स्वास्थ्यमा धेरै काम गर्नुपर्छ । एक अध्ययनअनुसार १९ वर्षमुनिका केटाकेटीमा चारमध्ये एकजनामा 'डिप्रेसन' भएको पाइएको छ । एक्लोपना मन पराउने र जिद्दी स्वभावका कतिपय केटाकेटी डिप्रेसनको सिकार हुने गर्छन् । समस्या एकातिरको छ तर हामी काम अर्कैतिर गरिरहेका छौँ । समस्या केन्द्रित काम नहुँदा हाम्रा बालबालिकामा समस्या झन् बढ्दै गइरहेको छ ।
बालबालिकामा समस्या देखिने कारणहरू
१. विद्यालय वा घरमा दिइने सजाय
२. पारिवारिक झगडा
३. साथीभाइको दुर्व्यवहार वा खिसीट्युरी
४. गरिबी
५. कक्षाकोठामा दिइने अनावश्यक तनाव
६. मोबाइल फोनको अत्यधिक प्रयोग
७. लागु पदार्थ सेवन
बालबालिकामा हुने समस्याहरू
क. चिन्ता, डर
ख. अनुशासनजन्य समस्या
ग. अत्यधिक चन्चलेपनाको समस्या
घ. सिकाइ कठिनाइ
ङ. दिक्दारीपना
च. तनाव
छ. बौद्धिक अपाङ्गता
बालबालिकालाई विभिन्न कारणले समस्या परेको देखिन्छ । आजका बालबालिका यी र यस्तै समस्याबाट प्रताडित छन् । कक्षा कोठामै माथिका समस्या पहिचाहन गर्न सकियो भने उनीहरूलाई सहज अवस्थामा ल्याउन सजिलो हुन्छ । बालबालिकाका समस्याको कारण उनीहरूको मन, शरीर, व्यवहार र सम्बन्धमा फरक परिरहेको हुन्छ तर अरूलाई थाहा नै हुँदैन । समस्यामाथि झन् समस्या थप्ने काम भएपछि बालबालिका झनै कमजोर बन्दै जान्छन् । त्यसले उनीहरूमा मर्ने कुरा गर्ने, एक्लै बस्ने, झर्किने, नपढ्ने, रिसाउने, आक्रामक हुने, नखाने, रुने, झगडा गर्ने, खुट्टा बजार्ने, मुखमुखै लाग्ने, गृहकार्य नगर्ने, मोबाइलको बढी प्रयोग गर्ने, कुलतमा फस्ने, नरमाइलो मान्ने र एक आपसमा धुलमिल नहुनेजस्ता समस्या देखिन्छन् ।
विद्यालयमा शिक्षक वा शिक्षिकाको भूमिका
मानसिक स्वास्थ्य समस्या जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुनसक्छ । विशेषगरी बालबालिकाले आफ्नो समस्या भन्न नसक्ने हुँदा उनीहरूको व्यवहारमा बढी ध्यान दिनुपर्छ । वयस्क व्यक्तिले जसरी उनीहरू भावना व्यक्त गर्न सक्दैनन् । त्यसैले बालबालिकाको व्यवहारमा उतारचढाव आयो, बोल्दै नबोल्ने बच्चा एकदम धेरै बोल्न थाल्यो वा बोलिरहने बच्चा एकदम चुप र उदास रहन थाल्यो भने केही समस्या रहेको बुझ्नुपर्छ ।
समाधानका लागि बालबालिकाको समस्यालाई स्वीकार्ने र बुझ्ने प्रयास नै पहिलो उपयुक्त कदम मानिन्छ । सँगसँगै उनीहरूसँग गुणस्तरीय समय बिताउनु अर्को महत्त्वपूर्ण काम हो ।
साथीहरूसँग घुलमिल नगर्ने, झगडा गर्ने, रातभरि नसुत्ने र डर, तनावको कुरा गर्ने भए भने पनि मानसिक समस्या भएको हुनसक्छ । कुनै पनि कुरामा उत्साह मरिसकेको छ, सधैं निराश हुन्छ भने मानसिक समस्या छ कि भनेर शंका गर्नुपर्छ । विद्यालयका शिक्षक वा शिक्षिकालाई आफ्नो विद्यार्थीको स्वभाव र व्यवहार थाहा हुन्छ । स्वभाव र व्यवहारमा परिवर्तन आउन थाल्यो भने समस्या छ भन्ने बुझ्नुपर्छ । यसबारे विद्यालयका शिक्षक र शिक्षिकाहरू पनि बढी सतर्क हुनुपर्छ । दिनानुदिन बालबालिकाको व्यवहारमा फरक आयो भने समस्या हो कि भनेर बढी चनाखो बन्नुपर्छ । विद्यालयमा एकजना गुनासो सुन्ने र सम्बोधन गर्ने व्यक्ति तोक्नुपर्छ । जससँग बालबालिकाले निर्धक्क भएर आफ्ना समस्या भन्न सकुन् ।
(नीलकण्ठ नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता )