वाशिङटन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याका लागि इरानको षडयन्त्र भइरहेको चाल पाएर केही हप्ताअघि नै उनको प्रतिरक्षा बलियो बनाइएको अमेरिकाका एक राष्ट्रिय सुरक्षा अधिकारीले बताएका छन् ।
ती अधिकारीले गएको शनिबार पेन्सिलभानियामा भएको हत्या प्रयास र इरानको सो षडयन्त्रको भने कुनै सम्बन्ध नभएको जनाएका छन् ।
उनको सुरक्षा व्यवस्था कडा पारिएको भए पनि २० वर्षिय युवक थोमस माथ्यु क्रुक्स कसरी कार्यक्रम भएको स्थान अगाडिको भवनमा हतियारसहित गएर गोली प्रहार गरे भन्ने प्रश्न उब्जिएको थियो । अमेरिकी सेक्रेट सर्भिस र ट्रम्पको चुनावी क्याम्पेनलाई इरानको षडयन्त्रको बारेमा पहिल्यै सूचित गरिएको जनाइएको छ । सेक्रेट सर्भिसलाई इरानी ‘थ्रेट’बारे गएको जुनमै जानकारी दिइएको थियो ।
सन् २०२०मा इराकमा इरानको क्यूद फोर्सका कमाण्डर क्वासिम सुलेमानी अमेरिकी कारवाहीमा मारिएपछि ट्रम्प र उनका तत्कालीन विदेशमन्त्री माइक पोम्पेओलाई इरानका तर्फबाट ‘थ्रेट’ रहेको जनाइएको बीबीसीले जनाएको छ ।