site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इतिहास रच्ने लक्ष्यमा अर्जेन्टिना, दोस्रो उपाधिको खोजीमा कोलम्बिया

काठमाडौं । कोपा अमेरिका–२०२४ को फाइनल कोलम्बियाविरुद्ध मैदान उत्रिँदा अर्जेन्टिना कीर्तिमानी १६औँ उपाधिको लक्ष्यमा हुनेछ । सोमबार बिहान हुने खेलमा जित निकाले साविक विजेता अर्जेन्टिनाले प्रतियोगिताको सबैभन्दा धेरै उपाधि जित्ने टिमको सूचीबाट उरुग्वेलाई पछि पार्नेछ ।

सन् २०२१ को कोपा अमेरिका र २०२२ को फिफा विश्वकप च्याम्पियन बनिसकेको अर्जेन्टिनाले ऐतिहासिक ‘तेहेरो’ उपाधिको खोजीमा छ । यसअघि विश्व फुटबलमा स्पेनले लगातार तीन उपाधिसहित कीर्तिमान बनाएको छ । स्पेनले सन् २००८ को युरोपियन च्याम्पियनसिप, २०१० को फिफा विश्वकप र २०१२ को युरो जितेको थियो ।

“हामी सधैँ एकनासको प्रदर्शन गर्ने प्रयास गर्छौं । यो टिमको समन्वय एउटै छ, र यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो । हामी फाइनल जित्ने प्रयास गर्ने छौँ । हाम्रो फुटबल खेल्ने शैली परिवर्तन हुँदैन । तर, फाइनल सधैँ विशेष हुन्छ,” लियोनल स्कालोनीले भने ।

Dabur Nepal
NIC Asia

यता, अर्कोतर्फ कोलम्बिया २३ वर्षपछि पहिलो महादेशीय उपाधिको खोजीमा छ । यसअघि कोलम्बियाले सन् २००१ मा पहिलो पटक र हालसम्मको एकमात्र उपाधि जितेको थियो । कोलम्बिया त्यसबेला प्रतियोगिताको आयोजक थियो ।

सेमिफाइनलमा ड्यानियल मुनोजले रातो कार्ड पाए पनि कोलम्बियाले उरुग्वेविरुद्ध १–० को जित निकालेको थियो । कोलम्बिया पछिल्लो २८ खेलयता अपराजित छ । पछिल्लो पटक कोलम्बियाले सन् २०२२ को फेब्रुअरीमा अर्जेन्टिनासँग नै हार बेहोरेको थियो ।

“हाम्रो प्रतिद्वन्द्वी को हो भन्ने हामीलाई थाहा छ । तर, हामी उत्प्रेरित रहन आवश्यक छ । हामीले यो फरक खेल हो भन्ने बुझ्न आवश्यक छ,” कोलम्बियन प्रशिक्षक नेस्टोर लोरेन्जोले भने, “हामीले गरेको सबै कुरामा जित दिलाउन सक्ने खेल हो यो । हामीसँग यसमा रमाउने अवसर छ । र, हामीसँग यो अवसर विश्व विजेताविरुद्ध छ ।”

कोलम्बियाको सफलतामा जेम्स रोड्रिगेज प्रमुख हतियार बनेका छन् । जारी प्रतियोगितामा उनले कोपा अमेरिकाको एक संस्करणमा सर्वाधिक असिस्ट गर्ने मेसीको कीर्तिमान तोडेका छन् । कोलम्बियाले फाइनलसम्मको यात्रा तय गर्दा रोड्रिगेजले कुल ६ असिस्ट गरेका छन् ।

“लोरेन्जोले रोड्रिगेज वरपर रहेर कसरी योजना बनाउने भन्ने रणनीति भेट्टाएका छन् । रोड्रिगेज टिममा हुनु भनेको उत्कृष्ट खेलाडीको साथ हुनु हो । तर, हामी कहिल्यै पनि एउटा खेलाडीमा केन्द्रित हुँदैनौँ । हामी टिममा केन्द्रित हुन्छौँ,” अर्जेन्टिनी प्रशिक्षक स्कालोनीले थपे ।

सेमिफाइनलमा क्यानडाविरुद्ध २–० को जित निकाल्दा प्रतियोगिताकै पहिलो गोल गरेका मेसी फाइनलमा जितसहित आफ्नो प्रख्यात करियरमा अर्को उपाधि थप्ने लक्ष्यमा हुनेछन् । सन् २०२१ मा पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्नुअघि मेसीले आफ्नो करियरमा चार मुख्य प्रतियोगिताको फाइनल गुमाएका थिए । उनले २००७ , २०१५ र २०१६ को कोपा अमेरिकासँगै २०१४ को विश्वकप फाइनलमा पनि हार भोगेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  २१:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro