वासिंटन । अमेरिकी सुरक्षा निकायले एक जना शंकास्पद आक्रमणकारीको ‘लगभग पहिचान’ भइसकेको जनाएको छ । यद्यपि, उसको पहिचान खुलाइएको छैन । पहिचान केही घण्टामा खुलाइने जनाइएको छ ।
एक आक्रमणकारीको मृत्यु भएको यसअघि जनाइएको थियो । मारिएका व्यक्ति दर्शकदीर्घामा भएको र अन्य दुईजना दर्शकदीर्घाका व्यक्ति पनि गम्भीर घाइते भएको बताइएको छ ।
यसैबीच ट्रम्पले घटना भएको क्षेत्र पेन्सिलभानियाको बटलर छोडिसकेको पेन्सिलभानियाका गभर्नर जोश शापिरोले जनाएका छन् ।
ट्रम्प भोलिदेखि सुरु हुने रिपब्लिकन पार्टीको सम्मेलनमा सहभागी हुने उनको क्याम्पेनले जनाएको छ । सोही सम्मेलनमा उनले आफ्नो भावी उपराष्ट्रपतिको समेत चयन गर्ने सम्भावना रहेको बताइएको छ । डेलावरमा रहेका राष्ट्रपति जो बाइडेन अर्का उमेदवारमाथि भएको आक्रमण लगत्तै राति नै ह्वाइट हाउस फर्किने जनाइएको छ ।
यसैबीच ट्रम्पमाथि चुनावी र्यालीमा गरिएको गोली प्रहारको अमेरिकाका पूर्वराष्ट्रपतिहरूले निन्दा गरेका छन् । यसरी निन्दा गर्नेमा बाराक ओबामा, जर्ज डब्ल्यु बुस, बिल क्लिन्टन र जिमी कार्टर छन् ।
यसैगरी उपराष्ट्रपति कमला ह्यारिसले पनि घटनाको निन्दा गरेकी छन् ।
कतिपय ट्रम्प नजिकका रिपब्लिकनले भने एक्समा अर्का पक्षले हत्याका लागि उत्तेजित गर्ने काम गरेको आरोप समेत लगाएका छन् ।
आउँदो नोभेम्बरमा अमेरिकामा हुन लागेको राष्ट्रपतीय चुनावको क्रममा एकजना उमेदवारले अनुहारबाट रगत चुहाउँदै मुठी उठाएको दृश्यले अमेरिकी चुनावमा ठूलो सन्देश दिएको समेत विश्लेषकहरुले बताएका छन् । यो राजनीतिक हिंसाले चुनावको अभियानलाई समेत असर गर्न सक्ने बताइएको छ । बीबीसी