site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको अवैध विवाहको मुद्दा उल्टियो
फाइल तस्बिर ।

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गैरकानुनी विवाहको अभियोगमा दोषी ठहर गरिएको मुद्दालाई पाकिस्तानको एक अदालतले शनिबार उल्ट्याएको छ । फेब्रुअरीको चुनावअघि नै दोषी ठहर गर्दै सत्तामा फर्कन नदिन मुद्दा चलाइएको उनको भनाइ छ ।

खानविरुद्धका सबै मुद्दा अब कम्तीमा आंशिक रूपमा भए पनि फिर्ता भएको छ । राजद्रोहको अभियोगमा अप्रिलमा एक दशकको जेल सजायलाई उल्ट्याइएको थियो । जुनमा १४ वर्षको भ्रष्टाचारको सजाय निलम्बन गरिएको थियो । उनीमाथि लगाइएका कतिपय आरोप अझै पनि कायम छ ।

पूर्वप्रधानमन्त्री खान र उनकी पत्नी बुशरा बीबीलाई इस्लामिक कानुनको उल्लंघन गर्दै सम्बन्धविच्छेद भएको केही समयपछि विवाह गरेको आरोपमा सात वर्षको जेल सजाय सुनाइएको थियो । तर, इस्लामावाद अतिरिक्त जिल्ला अदालतका न्यायाधीश अफजल माजोकाले शनिबार खान र बीबी दुवैको अपिल स्वीकार गरिएको घोषणा गरेका छन् ।

यसैबीच, पूर्वप्रधानमन्त्री खानले सन् २०२३ मेमा दंगा भड्काएको आरोपमा पूर्वी लाहोरको एक अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको उनको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) का प्रवक्ता अहमद जान्जुआले बताए । प्रवक्ता जान्जुआले एक विज्ञप्ति जारी गर्दै थुनामा राख्ने गैरकानुनी आदेशलाई लम्ब्याउने अर्को ‘नौटंकी’ भएको उल्लेख गरेका छन् ।

यसै महिनाको सुरुमा संयुक्त राष्ट्रसंघका विज्ञको एक समितिले खानलाई हिरासतमा लिनुमा कुनै कानुनी आधार नभएको र उनलाई राजनीतिक पदका निम्ति अयोग्य ठहर्‍याउने उद्देश्यले गरिएको देखिएको जनाएको थियो ।

“सुरुदेखि नै त्यो अभियोजन कानुनमा आधारित थिएन र राजनीतिक उद्देश्यका लागि प्रयोग गरिएको थियो,” जान्जुआद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “करिब एक वर्ष जेलमा बिताएपछि उनलाई तत्काल रिहा गर्न माग गरिएको छ ।”

खानप्रति वफादार उमेदवारहरूले राष्ट्रिय चुनावमा सबैभन्दा बढी सिट जितेका थिए । तर, सेनानिकट मानिएका प्रतिद्वन्द्वी दलहरूको गठबन्धनले उनीहरूलाई सरकारबाट बाहिर राखेको थियो ।

खानले सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्रीका रूपमा काम गरेका थिए । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  २०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro