सिउल । दक्षिण कोरियाका एक राजनीतिज्ञले त्यहाँको समाजमा महिलाका कारण पुरुषले आत्महत्या गर्ने क्रम बढेको अभिव्यक्ति दिएपछि विवादमा तानिएका छन् । समाजमा महिलाको प्रभुत्व बढ्दै गएकाले पुरुषले आत्महत्या गर्ने क्रम बढेको भन्ने उनको तर्क थियो ।
स्थानीय सिउल सिटी काउन्सिलर किम कि डकले महिला केही वर्षदेखि त्यहाँको ‘वर्कफोर्स’मा सामेल भएपछि पुरुषलाई काम पाउन कठिन भएको र विवाह गर्न महिला पनि नपाइएको जनाएको एक रिपोर्टमा उल्लेख गरिएको छ ।
उनले देश ‘फिमेल डोमिनेन्ट सोसाइटी’मा परिवर्तन भएको र यो पुरुषको आत्महत्याको प्रयासमा आंशिक रुपमा जिम्मेवार भएको बताएका थिए ।
विश्वका धनी देश मध्येमा दक्षिण कोरिया एक सबैभन्दा बढी आत्महत्या हुनेमा पर्छ । यो देश लैंगिक समानताको दृष्टिले पनि सबैभन्दा खराब अवस्थामा मानिन्छ ।
सिउलको ह्यान नदीको पुलमा आत्महत्याका घटना बढेपछि काउन्सिलर किमले पछिल्लो धारणा राखेका हुन् । उनी डेमोक्रेटिक पार्टीका नेता हुन् ।
सिटी काउन्सिलको वेबसाइटमा प्रकाशित एक रिपोर्टअनुसार सन् २०१८ मा नदीमा गएर आत्महत्या गर्न प्रयास गर्नेको संख्या ४३० थियो । २०२३ मा १ हजार ३५ पुगेको थियो । आत्महत्या गर्न चाहने पुरुषको संख्या ६७ प्रतिशतबाट ७७ प्रतिशत पुगेको थियो ।
सिउल योनसेई विश्वविद्यालयका मानसिक स्वास्थ्य सम्बन्धी प्राध्यापक सोङ इन हानले पर्याप्त प्रमाणबिना नै यस्तो दाबी गरिनु खतरनाक र मुर्खतापूर्ण हुने जनाएका छन् ।
उनले विश्वमा नै महिलाभन्दा बढी पुरुषले आत्महत्या गर्ने गरेको जनाउँदै बेलायतमा समेत ५० वर्षभन्दा कम उमेरका पुरुषले अधिक संख्यामा आत्महत्या गर्ने गरेको उल्लेख गरेका छन् ।
उनले सिउलमा पुरुषले आत्महत्याको प्रयास गर्नुको कारण वैज्ञानिक रूपमा खोजी गर्नुपर्ने जनाउँदै लैंगिक द्वन्द्व उत्पन्न हुने गरी काउन्सिलरले दिएको अभिव्यक्तिमा दुःख व्यक्त गरेका छन् ।
बीबीसी