काठमाडौं । यसवर्ष मनसुन सुरु भएपछिको ३० दिनमा मनसुनजन्य विपद्का घटनामा ८० जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढी, पहिरो र चट्याङका कारण उनीहरूको मृत्यु भएको हो ।
यस वर्ष मनसुन जेठ २८ गते नेपालमा प्रवेश गरेको थियो । जेठ २८ गतेदेखि असार २५ गते दिउँसोसम्मको अवधिमा मनसुनजन्य विपद्का घटनामा परी ८० जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मनसुनजन्य विपद्का घटनाबाट काठमाडौं उपत्यकामा एक जना, कोसी प्रदेशमा १९ जना, मधेस प्रदेशमा तीन जना, वाग्मती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा २० जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको छ ।
यस अवधिमा मनसुनजन्य विपद्का घटनाबाट काठमाडौं उपत्यकामा तीन जना, कोसीमा २३ जना, मधेसमा सात जना, वाग्मतीमा चार जना, गण्डकीमा २६ जना, लुम्बिनीमा आठ जना, कर्णालीमा १५ जना र सुदूरपश्चिममा ११ जना गरी जम्मा ९७ जना घाइते भएका छन् ।
यस अवधिमा कोसीमा ४१ जना र गण्डकीमा १२ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोसीमा दुई जना, वाग्मतीमा दुई जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी पाँच जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बाढीको कारण हालसम्म १६१ घर डुबानमा परेका छन् । यसैगरी १३८ घर, ५४ गोठ, ४१ पुल, एउटा विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ ।
यस्तै, ३८४ वटा पशु चौपायाको मृत्यु भएको छ । यस अवधिमा विपद्का घटनाबाट दुई हजार ७६४ घर परिवार विस्थापित भएका छन् ।
प्रहरीले विभिन्न निकाय र स्थानीयसँगको समन्वयमा बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम भइरहेको जनाएको छ ।