site stats
बाह्रखरी :: Baahrakhari
खेल
साविक विजेता अर्जेन्टिनाविरुद्ध ‘जायन्ट किलर’ बन्न तयार क्यानडा

काठमाडौं । साविक विजेतासमेत रहेको अर्जेन्टिनाविरुद्ध कोपा अमेरिका–२०२४ को पहिलो सेमिफाइनलमा मैदान उत्रिँदा क्यानडा ‘जायन्ट किलर’ को छवि बनाउने लक्ष्यमा हुनेछ ।

सन् २०२२ को फिफा विश्वकप च्याम्पियन अर्जेन्टिना प्रतियोगिताको साविक विजेतासमेत हो । क्यानडा भने पहिलोपटक कोपा अमेरिका–२०२४ खेलिरहेको हो । फिफा वरीयतामा पनि अर्जेन्टिना शीर्ष स्थानमा छ । क्यानडा भने वरीयताको ४८औँ स्थानमा छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“उनीहरूले पछिल्लो पाँच वर्षको अवधिमा दुई पटकमात्र हार बेहोरेका छन्,” क्यानडाका मुख्य प्रशिक्षक जेसी मार्सले भने, “लियोनल मेसी यो खेल खेल्ने सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । तर, हामीसँग पनि मौका छ भन्नेमा विश्वस्त छौँ । हामीले त्यसैअनुरुपको तयारी गरिरहेका छौँ ।”

प्रतियोगिताको उद्घाटन खेलमा क्यानडा अर्जेन्टिनासँगै २–० ले पराजित भएको थियो । तर, समूहबाट उपविजेता बन्दै क्वार्टरफाइनल यात्रा तय गरेको क्यानडाले अन्तिम–१६ को खेलमा भेनेजुयलालाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । “उनीहरूविरुद्ध खेलिसकेकाले पनि अर्जेन्टिना कति राम्रो टिम हो भन्ने हामीलाई थाहा छ । तर, खेलका निश्चित समयमा हामी पनि योजनामा सफल बनेका थियौँ,” मार्सले भने ।

मांसपेसीमा असहजता महसुस गरेता पनि मेसीले क्वार्टरफाइनलमा इक्वेडरविरुद्ध ९० मिनेट नै मैदानमा बिताएका थिए । सेमिफाइनलअघि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले पनि मेसी तयार रहेका प्रतिक्रिया दिए । “उसले राम्रो गरिरहेको छ र सेमिफाइनल खेलको हिस्सा बन्नेछ । यो कुराको निर्णय अधिकार मसँग छ । मैले राम्रो स्थितिमा देखे भने, शतप्रतिशत ठिक नभए पनि उसले सेमिफाइनल खेल्नेछ । मेसी आफ्नो उत्कृष्ट लयमा नभए पनि उसले टिमलाई धेरै कुराहरू दिन सक्छन्,” स्कालोनीले भने ।

अमेरिकाको मेटलाईफ रंगशालामा हुने यो खेल नेपाली समयअनुसार बुधबार बिहान ५ः४५ बजेदेखि सुरु हुनेछ । यी दुई टिमबीचको विजेताले आइतबार कोपा अमेरिकाको फाइनलमा उरुग्वे र कोलम्बियामध्ये एक टिमविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्