मस्को । युरोपेली मुलुक हंगेरीका प्रधानमन्त्री विक्टर ओरबानले गएको शुक्रबार रुसको राजधानी मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गरेको भेटघाटलाई लिएर युरोपेली नेताले कडा प्रतिक्रिया जनाएका छन् । युरोपेली देशले गम्भीरताका साथ युक्रेनलाई सैन्य र अन्य सहायता दिने तयारी गरिरहेको अवस्थामा युरोपेली नेताको रुसको भ्रमणलाई विश्वासघातको रूपमा युरोपेली नेताले नै व्यक्त गरिरहेका छन् ।
यसैबीच, पश्चिमा जगतसँग राम्रै सम्बन्ध भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि दुई दिने भ्रमणका लागि रुस जाँदैछन् । पश्चिमी देशहरूले मोदीलाई कसरी हेर्लान् ?
यद्यपि, अहिलेसम्म पश्चिमी नेताले मोदीको भ्रमणबारे कुनै टिप्पणी गरेका छैनन् । तर, विहीबार भारतका लागि अमेरिकाका राजदूत एरिक गार्सेटीले अमेरिका रुसलाई जवाफदेही बनाउन मिलेर काम गर्न भारतसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् ।
अमेरिका र युरोप मोदी र पुटिनलाई सँगै देखेर खुसी हुने अवस्था छैन । उनीहरू दुवैले पुटिनलाई युक्रेन आक्रमणका कारण युरोपमा उथलपुथल ल्याउन जिम्मेवार मान्छन् । भारतका प्रधानमन्त्री मोदी पुटिनको निम्तोमा २२ औँ भारत–रुस शिखर सम्मेलनका लागि गएका हुन् । पछिल्ला तीन वर्षदेखि दुवै देशबीच कुनै पनि दुई पक्षीय बैठक भएका थिएनन् ।
गएको बुधबार रुसले मोदीको भ्रमणका क्रममा मैत्रीपूर्ण सम्बन्धलाई अझ अघि लग्ने तथा अन्तर्राष्ट्रिय र क्षेत्रीय एजेण्डामा छलफल हुने जनाएको थियो ।
लन्डनको किंग्स कलेजमा दक्षिण एसियाली अध्ययनका चर्चित प्राध्यापक क्रिस्टोफ जैफरलटले मोदीको रुस यात्राको भूराजनीतिक आयाम भएको बताएका छन् । उनले भनेका छन्, “भारत रुससँग आफ्नो सम्बन्ध विकसित गर्न उत्सुक छ । केवल सैन्य उपकरणको मामिलामा रुसमाथि निर्भर रहनुको कारणले मात्र होइन भारतले बहुध्रुवीय विश्वलाई पनि बढावा दिन खोजेको छ ।” उनले भारत सबै भागिदारका साथ आफ्नो हितलाई बढावा दिने अवस्थामा रहेको उनले बताएका छन् ।
प्राध्यापक जैफरलटको भनाइमा मोदीको यो यात्रा रुसको चीनसँगको साथ बढी निकट रहेको अवस्थासँग पनि जोडिएको छ । भारत र रुसबीच विशेष सम्बन्ध बनाउनाले रुस र चीनबीच मेलमिलापलाई कम गर्न सक्छ ।
मोदी २०१९मा एक आर्थिक सम्मेलनमा भाग लिन रुसको सहर ब्लादिभोस्तोकमा गएका थिए । पुटिन र मोदीको पछिल्लो भेट २०२२ मा उज्वेकिस्तानमा एससीओको शिखर सम्मेलनमा भएको थियो । पुटिनले अन्तिम पटक २०२१ मा दिल्लीको भ्रमण गरेका थिए ।
मोदीले रुसको भ्रमण यस्तो समयमा भएको छ, यो बेला अमेरिका र उसका युरोपेली सहयोगी रुसको वैश्विक स्तरमा अलग–अलग गर्न प्रयास गरिरहेका छन् । उनीहरूले रुसमा कडा प्रतिबन्ध लगाएका छन् । उनीहरूले उच्चस्तरीय बैठकमा पनि भारी कटौती गरेका छन् ।
भारतले आफ्नो विदेश नीति रणनीतिक स्वायत्तता र राष्ट्रिय हितमा आधारित रहेको बताउँदै आएको छ । तर, पश्चिमी देशमा फैलिएको रुस विरोधी भावना हेर्दा के यो यात्रा भारतको रणनीतिक साझेदार अमेरिकालाई बेखुसी पार्ने खालको छ ?
अमेरिकाको बाल्टिमोरस्थित जोन्स हप्किन्स विश्वविद्यालयमा अप्लाइड इकोनोमिक्सका प्राध्यापक स्टिब एच हेंकेका भनाइमा रुसको भारतका साथ ऐतिहासिक सम्बन्ध छ । हेन्के राष्ट्रपति रोनाल्ड रेगनको आर्थिक सल्लाहकार परिषद्मा पनि काम गरिसकेका छन् ।
“प्रधानमन्त्री मोदी र भारतका विदेशमन्त्री एस जयशंकर दुवैको भनाइका आधारमा भारत सबै देशका साथ राम्रो सम्बन्ध बनाउन चाहन्छ भन्ने प्रष्ट छ,” उनी भन्छन्, “खासगरी रुसको साथ यसको कारण हो । यो एक यस्तो देश हो, जसको साथ भारतको सोभियत कालदेखि नै राम्रो सम्बन्ध छ ।”
सन् १९६० को दशकदेखि १९८० को दशकसम्म भारतमा पढे/बढेका कुनै पनि व्यक्ति सोभियत संघको प्रभावबाट मुक्त छैनन् । भारतका कैयौं स्टिल प्लान्ट रुसले स्थापित गरेका हुन् । भारतीय अन्तरिक्ष कार्यक्रममा रुसको सहयोग थियो । कठिन अवस्थामा पनि सोभियत संघ भारतको साथ उभिएको थियो । सोभियत संघले १९६५ मा भारत र पाकिस्तानबीच ऐतिहासिक तासकन्द सम्झौता गराएको थियो ।
खासगरी युक्रेनको युद्धमा भारतले रुसको निन्दा नगरेको विषयलाई लिएर पहिलादेखि नै पश्चिमाहरूले राम्रो मानेका छैनन् । त्यसैले अहिले मोदीको पुटिनसँगको सम्बन्धलाई पनि राम्रो मान्ने अवस्था छैन । बीबीसी